Please Update Your Browser.

शुरु भयो सुदूरपश्चिम महोत्सव

कोसेली समाचारदाता

कैलाली । सुदूरपश्चिम महोत्सव आजदेखि शुरू भएको छ ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा आयोजित महोत्सव फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।

१२ वर्षदेखि धनगढीमा नियमित रुपमा मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव आयोजना हुँदै आएको थियो । संघको हालै सम्पन्न अधिवेशनबाट आएको नयाँ कार्यसमितिले २ महिना ढिलो भए पनि विगतको परम्परा रहेको भन्दै महोत्सव आयोजना गरेको हो ।

महोत्सवलाई यो क्षेत्रवासी प्रमुख पर्वका रुपमा मान्दै आएका छन् भने अगुवाहरुले विकासको लागि राज्यलाई दबाब दिने प्रमुख अस्त्रको रुपमा समेत लिँदै आएका छन् ।

संघका अध्यक्ष पुष्पराज कुँवरले विगतदेखि नै महोत्सवलाई यस क्षेत्रको सम्भावनालाई उजागर गर्ने थलो र विकासको लागि राज्यलाई घच्घच्याउने माध्यम बनेको बताए ।

चालू वर्ष संघले आफ्नो मागहरू घटाएर ७ बुँदे बनाएको छ । शालिन आन्दोलन स्वरुप सरकारलाई ७ बुँदे माग राख्दै दवाव स्वरुप ७ किलोको माला उद्घाटन सत्रका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई लगाइएको संघका उपाध्यक्ष पुष्कर ओझाले बताए ।

उनले समय अनुसार केही माग परिवर्तन भएको र केही माग पूरा भएकोले मागको संख्या घटाइएको बताए ।

यी हुन् ७ बुँदे माग

उपाध्यक्ष ओझाका अनुसार सुदूरपश्चिममा औद्यौगिक क्षेत्र स्थापना गर्नुपर्ने, उद्योग प्रोत्साहनका लागि सुदूरपश्चिमलाई उद्योगका लागि १० वर्षसम्म कर छुट गर्नुपर्ने, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गरी वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने, प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने, सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न प्रदेश अस्पताल बनाउनुपर्ने, गौरीफन्टा नाकाको स्तरोन्नति गरी सुदूरपश्चिमलाई चीनसँग जोड्ने नाका खुलाउनुपर्ने, सुदूरपश्चिममा पर्यटन विकासका लागि खप्तड, घोडाघोडी, शुक्लाफाँटा, चिसापानी लगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्नु माग राखिएको छ ।

झण्डै १ करोडको लागतमा आयोजित महोत्सवमा १५ करोडको कारोबार हुने अनुमान गरिएको छ भने ३ लाखले अवलोकन गर्ने आशा गरिएको छ । महोत्सवमा २ सय २५ वटा व्यापारिक तथा कृषि उपजका स्टल रहेका छन् ।