Please Update Your Browser.

लक्ष्मण थारु भन्छन्, ‘म कानूनी अधिकार प्रयोग गर्न चाहान्छु’

कोसेली समाचारदाता

काठमाडौं । थारु नेता लक्ष्मण थारुले मुद्दाको साक्षी बकपत्रमा आफू उपस्थित हुन पाउनु पर्ने माग गरेका छन् । टीकापुर घटनामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएका थारुले यही माघ २७ गते कैलाली जिल्ला अदालतमा हुने साक्षी बकपत्रमा आफ्नो उपस्थिती हुनै पर्ने माग गरेका हुन् ।

तीन वर्षसम्म कैलाली कारागारमा राखिएका थारुलाई स्वास्थ्य उपचारको नाममा माघको दोस्रो साता काठमाडौं ल्याइएको थियो । कारागार व्यवस्थापन विभागका अनुसार उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।

नेता थारुले आफू पूर्णरुपले स्वस्थ भईसकेको र चिकित्सकका अनुसार आफूमा कुनै खालको शारीरिक समस्या नभएकोले कैलाली कारागारमा सरुवा गराई साक्षी बकपत्र गराउँदा सहभागी हुने अवसर जुटाइदिन माग गरेका हुन् ।

यही माघ १७ गते भएको मुद्दाको पेसीमा समेत आफूलाई उपस्थित हुन नदिइएको र माघ २७ गते हुने साक्षी बकपत्रमा पनि उपस्थित हुन नदिने वातावरण बनाउन उपचारको बहानामा काठमाडौैंमै राखिएको थारुको आरोप छ । साक्षी बकपत्र गराउदा प्रतिवादीको प्रत्यक्ष रोहबरमा गरिनुपर्ने कानूनी प्रावधान रहेकोले त्यही अधिकार स्वरुप आफूले कैलाली सरुवाका लागि कारागार व्यवस्थापन विभागलाई निबेदन समेत पेश गरेको उनले बताए ।

उपचारको नाममा आफूमाथि राजनीतिकरण भएको गुनासो थारुको छ । उनले भने ‘मलाई उपचारका लागि काठमाडौं ल्याउनु पर्ने अवस्थै थिएन । काठमाडौंमा जुन उपचार गरियो, त्यो सुविधा सेती अञ्चल अस्पतालमै छ । किन काठमाडौं पुर्याइयो बुझ्नै सकेको छैन ।’ उपचारको नाममा आफूमाथि राजनीति भएको आरोप उनको छ । मुद्दाको पेसीमा आफूलाई उपस्थित हुन नदिएर मुद्दा फितलो बनाउने रणनीति सरकार पक्षको रहेको आरोप उनको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले कैलाली कारागारले चिठ्ठी पठाएपछि मात्रै लक्ष्मणको सरुवा गर्न सकिने बताए । थारुलाई कैलाली जिल्ला अदालतले साक्षी बकपत्रमा अनिवार्य उपस्थितिको पत्र पठाएपछि र कैलाली कारागारले सरुवाको पत्र पठाउनेबित्तिकै सरुवा गरिने बताए ।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो । सो मुद्दामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेका छन् । तर उनीहरुको मुद्दा अझै किनारा लाग्न सकेको छैन ।