Please Update Your Browser.

समृद्ध कर्णालीका लागि काठमाडौंमा महोत्सव

कोसेली समाचारदाता

काठमाडौं । आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘कर्णाली एक्स्पो’ हुने भएको छ । कर्णाली क्षेत्रको विकास र सम्भावनाहरूको खोजी गर्ने उद्देश्यले आयोजना हुन लागेको एक्स्पोको मुख्य नारा ‘हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ रहेको पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

कर्णालीको गर्विलो इतिहास, कला—संस्कृति, पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र अन्य सम्भावनाका स्रोतहरुको खोजी गरिने उद्देश्यले महोत्सव गर्न लागिएको समृद्ध कर्णाली अभियान तथा महोत्सव आयोजक समितिका उपसंयोजक प्रेमा लामाले जानकारी दिइन् ।

आगामी भिजिट नेपाल २०२० र पहिला देश अनि विदेश भन्ने नारालाई कर्णालीबाट बुलन्द पार्न पनि महोत्सव महत्वपूर्ण हुने लामाले बताइन् ।

कर्णालीका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा परम्परागत जीवनशैली, कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिने गरी महोत्सवमा स्टल राखिने समृद्ध कर्णाली अभियान तथा महोत्सव आयोजक समितिका संयोजक उपेन्द्र शाहीले जानकारी दिए ।

तीन दिनसम्म चल्ने महोत्सवको एक लाख बढी दर्शकले अवलोकन गर्ने युवा अभियन्ता किशोर न्यौपानेले बताए ।