Please Update Your Browser.

सांसद निरुदेवी पालले लिइन् चार वर्षीया दलित बालिकाको शिक्षा दीक्षाको जिम्मा

कोसेली समाचारदाता

महेन्द्रनगर । सांसद निरुदेवी पालले कञ्चनपुरकी चार वर्षीया प्रिया सुनारलाई शिशु कक्षादेखि माध्यमिक कक्षासम्म अध्ययन गर्न लाग्ने सवै शुल्क व्यहोर्ने घोषणा गरेकी छन् ।

प्रतिनिधिसभा महिला तथा सामाजिक समितिकी सभापति पालले आफ्नो छोरी समेत नभएका कारण गरिव तथा दलित परिवारकी सुनारलाई कक्षा १० सम्म लाग्ने कापी, किताव, फि लगायतका सम्पूर्ण खर्चहरु आजकै दिनदेखि आफैले व्यहोर्ने घोषणा गरेकी हुन् ।

श्री महाकाली बाल विद्यालय (सामुदायीक बोर्डिंङ) माझगाउँ कञ्चनपुरको २७ औं वार्षिकोत्सवको अवसरमा उनले बालिकालाई निशुल्क पढाउने घोषणा गरेको बताइन् ।

शिक्षा मानिसको नैसर्गिक अधिकार भएको भन्दै सभापति पालले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु नहुने बताइन् । वर्तमान सरकारले शिक्षामा हुने खाने र हुँदा खानेबीचको खाडललाई अन्त्य गराउने तर्फ पहल गरिरहेको समेत सांसद पालले बताइन् ।

कार्यक्रममा बोल्दै सांसद सभापति पालले शिक्षा नै देश विकास र समृद्धिको मुख्य मेरुदण्ड भएको बताउँदै देशमै दक्ष जनशक्तिको विकास र बिस्तार गरी योग्य तथा दक्ष जनशक्ति उत्पादन गर्नु देशको अनिवार्य आवश्यकता रहेको बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य समेत रहेकी सभापति पालले उक्त विद्यालयको लागि पुस्तकालय निर्माण गर्ने जिम्मा समेत लिएकी छन् ।

त्यस्तै पुस्तकालय निर्माणमा सहयोग होस भन्नका लागि आफूले पाउने एक महिनाको सरकारी तलब समेत विद्यालयलाई दिने घोषणा सभापति पालले गरेकी छन् ।