Please Update Your Browser.

विद्यार्थी कुटिएको विषयमा विद्यालयमा ताला

लेखनाथ खतिवडा

पाँचथर । विद्यार्थी कुटिएको विषयलाई लिएर तीन विद्यार्थी संगठनले विद्यालयमा ताला लगाइएको छ ।

पाँचथरको सदरमुकाम फिदिमस्थित फिदिम माविमा कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पतालनै भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकको राजीनामा माग गर्दै विद्यार्थी संगठनले विद्यालय प्रशासनमा ताला लगाएका हुन् ।

विद्यार्थी संगठनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्ष, प्रधानाध्यापकको कार्यकक्ष र विद्यालयको प्रशासनमा आज आइतबार ताला लगाएका हुन् ।

अनेरास्ववियु जिल्ला कमिटी पाँचथर, अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटी पाँचथर र समाजवादी विद्यार्थी फोरमका प्रतिनिधिहरुले प्रधानाध्यापक दुर्गाराज खत्रीको राजीनामा माग गर्दै ताला लगाएका हुन् ।

विद्यालयमा बालमैत्री वातावरणमा विद्यार्थीले पठन पाठन गर्न पाउनु पर्ने ठाउँमा प्रअले नै विद्यार्थीलाई निर्घात कुटपिट गरी विद्यालयमा त्रास फैलाएको भन्दै ताला लगाएको अनेरास्ववियु (क्रान्तिकारी), जिल्ला कमिटि पाँचथर सुर्य बेघाले बताए ।

राईलाई बिहीबार प्रअ खत्रीले टाउकोमा चोट पर्नेगरी कुटपिट गरेपछि पाँचथर अस्पतालमा उपचारपछि थप उपचारको लागि विर्ता सिटी अस्पताल विर्तामोड झापा लगिएको थियो ।

विद्यार्थी कुटपिटलाई लिएर शनिवार जिल्लास्थित बाल अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थासहित विद्यार्थी संगठनले विज्ञप्ती सार्वजनिक गरी आवश्यक छानविनको लागि सम्बन्धित निकायसंग माग गर्नुका साथै बालकको उपचारको व्यवस्थाका लागि विद्यालय प्रशासनसंग माग गरेका छन् ।