Please Update Your Browser.

हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातको मृत्यु

काठमाडौं । बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको छ । ६ जनाको जलेको अवस्थामा शव फेला परेको छ भने एक जनाको टाउको नभएको अवस्थामा फेला परेको छ ।

हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले सबै शव जलेको अवस्थामा देखेको पुष्टी गरेका छन् ।

Image result for rabindra adhikari‘हेलिकप्टरमा आगो लागिरहेको छ । कसैको पनि शरीर चिन्ने अवस्थामा छैन,’ हवल्दार अर्याललाई उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयले बताएको छ ।

फुङलिङ नगरपालिकाको वडा नम्बर १० मा पर्ने सिस्ने खोला सिरान दारे भीरमा दुर्घटना भएको हो । यो पाथिभरा मन्दिरकै काखमा पर्छ ।

घटनास्थलमा अरू सरकारी अधिकारी पुग्ने क्रम जारी छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बुधबार दिउँसो साढे १ बजे हेलिकप्टर दुर्घटनामा परेको हो ।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए ।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।

मन्त्री अधिकारी र शेर्पासहितको टोली तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए ।

त्यसपछि ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेका थिए ।