Please Update Your Browser.

‘प्रेरणादायी महिलाहरु’ पुस्तक सार्वजनिक

कोसेली समाचारदाता

काठमाडौं । महिला सशक्तिकरणका लागि विशेष योगदान दिएका महिलाहरुको जीवनीमा आधारित पुस्तक ‘प्रेरणादायी महिलाहरु’ सार्वजनिक भएको छ ।

मोतीदेवी स्मृति केन्द्रले १ सय नवौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार काठमाडौंमा एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरेको हो ।

यसपटकको ‘प्रेरणादायी महिलाहरु’ पुस्तक पाँचौं अंक हो । मोतीदेवी स्मृति केन्द्रका उपाध्यक्ष गरिमा शाहका अनुसार केन्द्रले हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘प्रेरणादायी महिलाहरु’ नामक पुस्तक सार्वजनिक गर्दै आएको छ ।

यस्तै सोही अवसरमा विभिन्न क्षेत्रका ९ जना अगुवा महिलाहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा नेपालको पहिलो प्रहरी महिला चैतमाया डंगोल, कम्युनिष्ट नेता कमला अमात्य, पत्रकार प्रेमकुमारी पन्त, प्रा.डा. प्रभा हमाल, दलित अधिकारकर्मी टेकु नेपाली, महिला उद्यमी अञ्जना ताम्राकार, सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवी वादी, अधिकारकर्मी टीका दाहाल र निरन्तर १ सय २६ घण्टा नृत्य गरेर गिनिज बुकमा नाम लेख्न सफल बन्दना नेपाल छन् ।

उनीहरुलाई मोतीदेवी केन्द्रका अध्यक्ष एवं नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।