Please Update Your Browser.

मनोरञ्जन क्षेत्र हिंसा मुक्त हुन जरुरीः लामा, वरिष्ठ प्रहरी उपरीक्षक

कोसेली समाचारदाता

काठमाडौं । वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुमार लामाले मनोरञ्जन क्षेत्रलाई लैंगिकमैत्री बनाउन जरुरी रहेको बताएका छन् ।

जिल्ला लैंगिक हिंसा नियन्त्रण संजाल समिति काठमाडौंको पहिलो बैठकमा बोल्दै समितिका संयोजक तथा महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंका प्रमुख लामाले यस्तो बताएका हुन् ।

उपत्यकामा रहेका डान्स बार, कलव, दोहोरी रेष्टुरेन्ट, मसाज सेन्टर, क्याबिन रेष्टुरा, हुक्का बार लगायतका क्षेत्रलाई हिंसा मुक्त बनाउन जरुरी रहेको भन्दै लामाले त्यसका लागि स्थानीय निकाय, प्रहरी, अधिकारकर्मी, पत्रकार, सर्वसाधारण सबैको सहयोग आवश्यक रहेको बताए ।

मनोरञ्जन क्षेत्रमा उमेर नपुगेका बालबालिकाले श्रम गरिरहेको, उनीहरुले नियुक्ति पत्र बिना नै काम गर्नुपरेको, मालिकको श्रम शोषण र सेवाग्राहीको दुव्र्यवहार भोग्नुपरेको लगायतका विषयहरु सार्वजनिक भइरहेको गुनासा सार्वजनिक भइरहेको हुँदा मनोरञ्जन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन जरुरी रहेको लामाको भनाइ छ ।

वरिष्ठ उपरीक्षक लामाले यी सबै विषयहरुको पहिचानका लागि लैंगिक हिंसा नियन्त्रण संजालले अनुगमन गर्ने निर्णय गरेको बताएका छन् ।

यस्तै समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनको क्रममा गठन गरिएको लैंगिक हिंसा नियन्त्रण संजालको बिहीबार बसेको बैठकले पार्टी प्यालेस, ईटा भट्टा र गलैचा कारखानाहरुलाई शोषण मुक्त बनाउन अनुमगन गर्ने र जनचेतनामूलक काम गर्ने निर्णय गरेको सदस्य सचिव प्रहरी निरीक्षक चेतना पोखरेलले जानकारी दिइन् ।