Please Update Your Browser.

नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता भएकोले लगानीको राम्रो अवसरः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनिभएकोले लगानीको राम्रो अवसर रहेको बताएका छन् ।
नेपाल लगानी सम्मेलन २०७५ को आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा अहिले स्थिर सरकार, नीतिगत स्थिरता र स्पष्ट लक्ष्यका साथ अघि बढेको सरकार छ’ ओलीले भने, ‘म त पाईंहरुलाई मेरो विकासको सपनालाई मूर्तता प्रदान गर्न ७५ वटा भन्दा बढी आकर्षक परियोजनाहरु प्रष्तुत गर्दैछु ।’

प्रधानमन्त्री ओलीले नेपाल नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पुरा हुँदैछ भन्ने आफूलाई विस्वास लागेको बताए । ‘विभिन्न देशबाट आउनुभएका लगानीकर्ताहरुलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवन स्तर उकास्न सहयोग गर्नुस् भन्ने आह्वान समेत गर्दछु’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले सरकारले आधार वर्षको रुपमा गएको एक वर्षलाई नीतिगत र कानूनी सुधार वर्षको रुपमा लिएको बताए । ‘यस बीचमा हामीले संविधानलाई कार्यान्वयन गर्न कैयन कानूनको निर्माण गरेका छौं’ प्रधानमन्त्री ओलीले भने, नयाँ कानूनी तथा नीतिगत संरचनाले विदेशी लगानीलाई उत्प्रेरित गर्ने वातावरण बनाएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहेको बताए । ‘नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने मेरो सन्देस हो’ प्रधानमन्त्री ओलीले भने, ‘सुरक्षित महसुस गर्नुहोस् र अवसरको फाइदा लिनुहोस् । तपाईंको लगानी संरक्षित र मुनाफा संरक्षित छ । संसदमा भएका सबै राजनीतिक दलहरु वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्र्याउन एकमत छन् ।’