Please Update Your Browser.

निर्मला हत्याकाण्ड र म विरुद्ध अदालती–मुद्दाका चाङको अर्थ

निर्मला हत्याकाण्डको राप र चाप झन् बढिरहेको छ । प्रहरीले वास्तविक अपराधी पत्ता लगाउन नसके पनि वास्तविक अपराधी पत्ता लगाउन नसकिने अवस्था उत्पन्न गराउनेहरुका विरुद्धको कारबाही अदालतमा पुगेको छ । जहाँ–जहाँ प्रमाण चाहिन्छ त्यहीं छेडछाड गरेर त्यसलाई ‘मानवीय त्रुटी’ भन्दै उम्कन खोज्ने र ‘माथिको दवाव’को प्रतिक्रियामा निर्दोषहरुलाई अभियुक्त बनाउन खोज्ने कञ्चनपुर प्रहरीका तत्कालिन मुखिया डिल्लीराज विष्टसहितका आठ प्रहरीविरुद्ध प्रमाण मेटेको र यातना दिएको अभियोगमा अदालती सुनुवाई प्रक्रिया सुरु भइसकेको छ । उपलब्धिपूर्ण त के भने निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खडक विष्टको जाहेरीमा सरकारले नै चलाएको मुद्दामा अदालत गम्भीर देखिएको छ । मूल मुद्दा अर्थात् हत्याराविरुद्धको मुद्दा अदालत जान नसके पनि मूल मुद्दा नै चल्न नसक्ने जवातावरण बनाउन जिम्मेवार प्रहरी अधिकारीविरुद्ध अदालतमा मुद्दा चल्नु र अदालत गम्भीर देखिनुले जनमानसमा बढेको निराशा कम मात्रै भएको छैन, राज्यको एक अंग न्यायपालिले नै समाजको अपराधीकरण र भ्रष्टिकरण रोक्ने आस बढ्दै गइरहेको छ ।

निर्मलालाई न्याय दिलाउने सिंगो मुलुकको आन्दोलनले आधा सफलता प्राप्त गरेको अवस्था छ । यो प्रकरणको राप र चाप बढ्दै गएको हुनाले वास्तविक हत्यारा पनि एक दिन कठघरामा पुग्ने आशावाद अंकुरित पनि हुँदै गएको छ । एउटा मजबुत राजनीतिक शक्तिको एक अवसरवादी–स्वार्थी गिरोहले निर्मला हत्याकाण्डमा अपराधी संरक्षणको प्रयास गरिरहेको सर्वत्र अनुभव भइरहेको बेला आधा सफलता प्राप्त हुनु पनि उल्लेखनीय हो । आठ प्रहरीविरुद्ध मुद्दा नै नचलाउन र अदालतमा दायर भए पनि कुतर्कका माध्यमबाट रिट खारेज गराउने प्रयत्नहरु असफल भएपछि आधा सफलता प्राप्त भएको हो ।

तर, पर्दा पछाडिबाट अझै पनि निर्मला हत्याकाण्डलाई सामसुम पार्ने बेतोड प्रयास जारी छ । बलात्कारपछिको हत्यामा आवश्यक हुने लगभग सबै प्रमाण कि मेटाइए कि छेडछाड गरेर अपभ्रंस गरिए । त्यसपछिको चरणमा आशंकामा घेरिएकाहरुले मिडियामा बुद्धका जस्तो भाषणबाजी गर्दै आफूलाई चोख्याउन प्रयत्न गरे । र, अब आएर उनीहरु मूल मुद्दा उठ्नै नसक्नेमा ढुक्क भएका छन् । र, उठाउन सक्ने व्यक्ति र समूहलाई ‘किनारा’ लगाउन पैसा र अन्य प्रभावको माध्यमबाट विभन्न पेशा र फाँटमा रहेका ‘लाइकमाइण्डेट’हरुका माध्यमबाट प्रत्याक्रमणमा उत्रेका छन् ।

हिजोका दिनमा निर्मला हत्याकाण्डमा नामै किटेर अमूक व्यक्तिको हात छ भन्नेहरुले १८० डिग्रीको फन्को लगाएर कित्ता परिवर्तन गरेका छन् भने समाजमा आफूलाई प्रतिष्ठित भन्दै धक्कु लगाउनेहरुले हिजोका आफ्ना अभिलिखत अडान फेरेर अपराधीको संरक्षणमा बल पुग्ने अखाडामा आश्रय लिएका छन् । बलियो तर आपराधिक मानसिकताको राजनीतिक  गिरोहको भारी चलखेलका वावजुद समाजले अपराधी वा  अपराधीका मतियार भनेर इंगित गरेकाहरु क्रमशः पतनको बाटोमा अगाडि बढिरहेका छन् ।

निर्मलाका लागि न्यायको लडाई लड्नेहरुलाई तह लगाएर यो हत्याकाण्ड सधैंका लागि दवाइदिने अदृश्य खेल पनि सँगसँगै चलिरहेको छ । न्यायको आन्दोलनमा होमिएका अधिकारकर्मी , कानुन व्यवसायी र निर्भिकताका साथ तथ्य उजागर गर्ने पत्रकारहरुमाथि आक्रमण थालिएको छ । यो आक्रमण अब फेरि आन्दोलन उठ्न नसकोस् र मूल मुद्दा अदालतसम्म कहिल्यै नपुगोस भन्ने नियतले सुरु गरिएको हो ।

यो आक्रमणको एक निशाना म पनि बनेको छु । निर्मला हत्याकाण्डका क्रममा आमपत्रकारहरुले गर्ने बाहेकका एक–दुईवटा काम मैले गरेकै हुनाले र अबका दिनमा पनि मैले महत्वपूर्ण तथ्य उजागर गरिदिने सम्भावनाले त्रस्त भएर हुनुपर्छ ममाथि लगातार आक्रमण भइरहेको छ । सुरुका दिनमा ममाथि वर्खास्त एसपी डिल्लीराज विष्टसँग पैसा मागेको तर नपाएको झोंकमा लेखिरहेको आरोप लगाइयो । तर, प्रमाणको अभावमा त्यो आरोप आफै पानीको फोका सावित भयो । त्यसपछि म विद्यार्थी जीवन (पिथौरागढ)मा सन १९९० मा घटेको एक हत्याकाण्डको फरार अभियुक्त भएको र एसपी विष्टले त्यसको अनुसन्धान गरिरहेको हुँदा मैले लेखिरहेको दावी गरियो । सन १९९१ मा मैले त्यही विश्वविद्यालयबाट बि. एस्सी. उत्तीर्ण गरेको तथ्य थाहा नपाएकाहरुको त्यो तर्क धेरै दिन चल्ने सम्भावना नै थिएन । र, त्यसपछि दिलिपसिंह विष्ट मेरो साला पर्ने भएकाले उसलाई बचाउन लेखिरहेको भन्दै ममाथि आक्रमण गरियो । दिलिप विष्ट त मेरो कलमका कारण जोगिने चौथो व्यक्ति थियो । जीवन घर्तीमगर, दिपक नेगी र चक्र वडूपछि दिलिपलाई प्रहरीले अपराधी सावित गर्न खोजेको थियो । दिलिपपछि प्रदीप रावल र विशाल चौधरी पनि निर्दोष हुन् भन्ने तथ्य उजागर गर्ने पहिलो कलम मेरो नै थियो । मेरो कलमका कारण यी ६ जना अपराधीको पगरी गुथाइनबाट बचेको देख्दादेख्दै समाजले सालो नाता परेकै 
कारण मैले निर्मलाको न्यायको अभियानमा कलमको दुरुपयोग गरिरहेको विश्वास गर्ने प्रश्न नै थिएन । र, त्यो आरोप पनि तुहियो।

मेरो सामाजिक र पेशागत प्रतिष्ठालाई होहल्लाका माध्यमबाट ध्वस्त गरेर किनारा लगाउने प्रयास सफल नभएपछि ममाथि अदालतमा मुद्दा हाल्ने र हाल्न लगाउने क्रम सुरु भएको छ । अहिलेसम्म मैले दुईवटा मुद्दाको म्याद बुझेको छु भने एकदुई दिनअघि मात्रै फेरि अर्को मुद्दा परेको सञ्चारमाध्यमहरुबाट थाहा पाएँ । मविरुद्ध अदालतमा दायर तीनमध्ये दुई मुद्दाको म सम्मान गर्छु । बम दिदीबहिनीमध्येकी अनिता बम र वर्खास्त एसपी डिल्ली राज विष्टका छोरा किरण विष्टले दर्ता गरेको मुद्दाप्रति मैले केही भन्नु पर्छ तर उनीहरुको मुद्दालाई मैले स्वागत गर्छु । तर कञ्चनपुर जिल्ला अदालत बार एसोसिएसनले अदालतको अवहेलनामा दायर गरेको मुद्दालाई भने मैले गम्भीर रुपमा लिएको छु ।

तीनवटै मुद्दा अदालतमा विचाराधिन रहेको बेला मैले धेरै लेख्नु उचित हुँदैन तर अदालती प्रक्रियालाई असर नपुग्ने ठम्याईका साथ यहाँ म यी तीनवटै मुद्दाका बारेमा केही खुलासा गर्दैछु ।

अवलेहनाको मुद्दा :  यस मुद्दामा ममाथि लगाइएका आरोप निराधार हुन् भनी अदालतको फैसला आउने निश्चित छ किनभने मैले दैनिक मानसखण्ड र मेरो फेसबुकमा कहिकंतै अदालतको सम्मानमा आँच पुर्‍याउने वा अदालतलाई प्रभावित गर्ने एक शब्द लेखेको छैन । आश्चर्य त के भने जिल्ला बारले मेरा विरुद्ध संकलन गरेका प्रमाणहरुमध्ये केही मैले मेरो फेसबुकमा कुनै व्यक्तिलाई लक्षित गरी लेखेका स्टाटस संलग्न छन् । मिसिलमा सुरक्षित ती स्टाटसको प्रिन्टमा अदालत भन्ने शब्द त छोडौं कुनै व्यक्तिको नाम समेत छैन । नामै नकिटिएको त्यो व्यक्तिले आफूलाई अदालत ठान्दो रहेछ र बार उसका वरिपरी नाच्दो रहेछ भन्ने प्रष्ट भएको छ । मलाई अल्झ्याउन काममा बार एसोसिएसन नै किन उचालियो भन्ने प्रश्नका कारण पो म हैरान छु ।

अनिता बमको मुद्दा : अनिता बमको मुद्दालाई भने सम्मान गर्छु । मेरा कारणले उनको सामाजिक र व्यक्तिगत जीवन प्रभावित भएको छ भने मैले सजाय पाउनुपर्छ । म सुरुदेखि नै बम दिदीबहिनीको व्यक्तिगत र चारित्रिक पाटोमा संवेदनशील थिएँ र छु । तर, निर्मला हत्याकाण्डमा उनको नाम मुछियो र बम दिदीबहिनी अहिले पनि त्यस प्रकरणमा चर्चामैं आउने नाम हो । कुनै व्यक्ति सार्वजनिक विषयमा जोडिए उ समाचारको विषय बन्छ । मैले मेरा समाचार, टिप्पणी र अभिव्यक्तिमा कहिंकतै दिदीबहिनीलाई दोषी करार दिने दुस्साहस गरेको छैन । टिप्पणीहरुमा उनीहरुको घरबाट अनुसन्धान सुरु हुनुपर्छ भन्ने माग अवश्य गरिएको छ । घटनाक्रममा उनीहरु समाचार र टिप्पणीका पात्र बने । पत्रकारका हैसियतले मेरा समाचार, लेख र टिप्पणीमा मैले सचेततापूर्वक पत्रकारिताको सिद्धान्त र धर्मको दायरामा रही उनीहरुका विषयमा लेखेको छु । उनीहरुको वैयक्तिक चरित्रमा असर पर्ने गरी हजारौंले लेखे । तर, मैले घटनाक्रमअनुसार उपयुक्त ठाउँमा आधिकारिक स्रोतको प्रयोग गरेर लेखेको छु । आफ्नो चरित्रमाथि सोझै धावा बोल्ने र निर्मला हत्याकाण्डमा बम दिदीबहिनीको हात छ भनेर लेख्नेहरुलाई उनले माफी दिएर ममाथि मात्र आक्रमण किन गरिन् भन्ने रहस्य खुल्दै जाने छ ।

किरण विष्टको मुद्दा : किरण विष्टले अदालतमा मुद्दा दिएका छन् भने उनको यो कदमलाई पनि म सम्मान गर्छु । मेरो कलमका कारण उनको जीवन प्रभावित भएको छ भने म सजायको भागिदार हुनैपर्छ किनभने पत्रकारलाई जथाभावी लेख्न पाउनुपर्ने तर्कको म पक्षपाती होइन । निर्मला हत्याकाण्डमा किरण विष्ट र आयुश विष्टको नाम मैले जोडेको होइन । भदौ ८ मा अनलाइन खबर डटकमको सनसनीपूर्ण समाचारपछि उनीहरु चर्चामा आएका हुन् ।

प्रकरणमा नाम जोडिएपछि उनीहरु समेत मिडियाको रुचि र निगरानीमा हुने नै भए । म र मेरो अखबारले पनि त्यो स्वाभाविक रुचि र निगरानी बढाएकै हौं । तर, मैले कहिंकतै किरणको निर्मला हत्याकाण्डमा हात छ भनेर लेखेको छैन । उनको नाम चर्चाको शिखरमा रहँदा उनले प्रधानमन्त्रीलाई एउटा हस्ताक्षरविनाको पत्र लेखे र त्यो पत्र भाइरल बन्यो । त्यसमा उनले साउन १० मा आफ्नो जन्मदिन भएको र आफू त्यस दिन जन्मदिन मनाउन व्यस्त रहेको उल्लेख गरेका छन् । तर, उच्च स्तरीय छानविन समितिको प्रतिवेदनमा उनको जन्मदिन १० बैशाखमा भएको तथ्य सार्वजनिक भयो । निर्मला हत्याकाण्ड जस्तो गम्भीर प्रकरणमा नाम जोडिएर चर्चामा रहेका उनले यस्तो झुठ किन बोले भन्ने प्रश्नको उत्तर पाउन गहन अनुसन्धान हुनुपर्छ भन्ने मैले टिप्पणी लेखे र अहिलेसम्म बाराम्बार त्यही भन्दै आइरहेको छु । के यो माग अस्वाभाविक हो ? अर्कोतिर, दैनिक मानसखण्डको एउटा समाचारमा ‘किरण र आयुश निर्दोष हुने सम्भावना देखिएको छ’ भनेर छापिएको छ । नेपालमा अरु कुनै पत्रकारले यसरी लेखेको छ ? सार्वजनिक विषयमा नाम जोडिएपछि समाचारका पात्र बने पनि किरणको वैयक्तिक जीवनप्रति म सधैं संवेदनशील थिएँ र छु । तर, उनले प्रधानमन्त्रीलाई लेखेको त्यो भाइरल पत्र र उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले उनको जन्मदिन बारे उठाएको प्रश्नले उनी विवादास्पद बनेका हुन् । सार्वजनिक विषयमा नाम जोडिसके पछि समाचार नै लेख्न नहुने कुतर्कको कुनै जवाफ हुन्छ र ?

अन्तमा, ममाथि भइरहेका आक्रमणलाई मैले सामान्य रुपमा लिएको छु । होहल्लाबाट मेराविरुद्ध गरिएका आक्रमणलाई जसरी मैले एकपछि अर्को गर्दै निस्तेज गरिरहेको छु, त्यसरी नै अदालतमा विचाराधिन सबै मुद्दामा अदालतबाटै मैले विजय हासिल गर्नेछु । समाजको वृहत्तर हितका लागि, अपराध र अपराधीकरणविरुछ ३० वर्षे पत्रकारिता जीवनमा म लडिरहेको इतिहास जीवन्त छ । म पारदर्शी, सुशासित र सभ्य समाजका लागि लडिरहँदा आउने वाधा व्यवधानलाई सहजै चिर्न सक्छु किनभने मेरा एजेण्डमा मेरो नियत ठीक हुन्छ । म भय र लोभबाट मुक्त भएर एजेण्डाको उठान गर्छु र मेरा ९९ प्रतिशत एजेण्डा सफलतामा टुंगिएको गौरवपूर्ण इतिहास छ ।

साभारः मानसखण्डबाट