Please Update Your Browser.

यी छोरीहरू, जसले पढ्न नपाएको भए !

-लोग्शरी कुँवर-

नुवाकोटको ककनीकी सुबी लामाले बल्लतल्ल ७ कक्षा पास गरिन् । ८ कक्षामा भर्ना हुने अवस्था थिएन । गरिवीले च्यापिएको परिवारमा हातमुख जोर्नै समस्या हुँदा कापी कलम किन्ने पैंसा त कहाँबाट पाउनु र ? त्यसैले पढाई छोडेर घरकै काममा लाग्ने पक्कापक्की थियो उनको ।

सँगैका साथीहरू ८ कक्षामा भर्ना हुन थाले । सुबीको भने भर्ना हुने कुनै छाटकाट थिएन । अब पढ्न पाइन्न भन्ने भयले मन खिन्न थियो । संयोग नै भन्नुपर्छ, ठिक त्यही बेला उनको भेट भो–अभियन्ता इन्दिरा घलेसँग ।

नुवाकोटको ककनी चेलिबेटी बेचबिखन हुने गाउँ मध्येको एक गाउँ । छोरीहरूले पढ्न पाए बेचबिखन रोकिन्छ भन्ने उद्देश्य बमोजिम एक दशकदेखि किशोरी पढाउने शैक्षिक अभियानमा तल्लिन घलेले सुबीको पठनपाठनको जिम्मा लिइन् । पढाई लेखाई बाफतको सम्पूर्ण खर्च ब्यहोरिदिने प्रतिवद्धता गरिन् ।

सुबी लामा

इन्दिराको छोरी पढाउने अभियान अन्तरगत सुबीले पढाईलाई निरन्तरता दिन पाउने मात्रै भइनन्, राजधानी आउने अवसर पनि पाउने भइन् । ८ कक्षादेखि काठमाडौंमै पढ्न थालिन् । एसएलसी पास गरिन् । अहिले त नर्सिङ् पढेर पनि सकिन् । नर्सिङ् पढेसँगै उनले नर्सिङ् पढ्ने गाउँकै पहिलो छोरीको रेकर्ड राखिन् ।

सुबीका अनुसार इन्दिराकै पहलमा ८ कक्षादेखि निशुल्क पढ्न पाएकी उनकै गाउँकी विपन्न परिवारकी प्रमिला पनि गाउँमा एसएलसी पास गर्ने पहिलो छोरी बनिन् ।

सुबीका बुबाआमा छैनन् । उनी सानैदेखि मामाघरमै हुर्किन् र ७ कक्षासम्म पढिन् । मामाघरको पनि आर्थिक अवस्था कमजोर हुँदा उनले ८ कक्षादेखि पढ्ने अवस्था नभएको हो ।

‘आमाबाबुविहीन मलाई इन्दिरा दिदीले नयाँ जीवन दिनुभो । मेरो अविभावकको रुपमा आउनुभो’ यसो भनिरहँदा निकै भावुक बनेकी सुबीले थपिन्, ‘जसको कोही हुन्न, उसको भगवान हुन्छ भन्थे, सही रहेछ । दिदी पनि मेरो लागि त्यस्तै हुनुहुन्छ ।’

तामाङ, लामा जातिको बसोबास रहेको ककनीमा किशोरीहरूको १३, १४ वर्ष उमेर नपुग्दै बाल विवाह हुन्छ र किशोरावस्थामै आमा बन्छन् । त्यतिमात्रै नभई किशोरावस्थाका छोरीहरूको अविभावककै मिलेमतोमा उमेर बढाएर पासपोर्ट बनाइन्छ र पैंसाको लालचमा विदेश पठाइन्छ ।

‘दिदीको सम्पर्कमा नआएको भए सायद मेरो पनि बिहे भइसक्थ्यो । कि त विदेश गएर फर्किसक्थें’ सुबीले भनिन्, ‘तर मैले आज सपना देख्ने अवसर पाएँ । आफ्नो पहिचान बनाउन सफल भएँ र नर्स पढ्ने गाउँकै पहिलो छोरी बन्ने मौका पाएँ ।’

गरिवी, विपन्नता र अशिक्षाका कारण कलिलो उमेरमा बिबाह बन्धनमा बाधिने र २० वर्ष नपुग्दै २, ३ सन्तानकी आमा बन्न बाध्य आफ्ना बालसखाहरूको नियति आफूले भोग्न नपरेकोमा सुबी खुसी छिन् । भन्छिन्, ‘पढ्न नपाएका कारण हाँस्ने, खेल्ने र पढ्ने उमेरमा आमा भएका मेरा साथीहरू मात्रै होइनन्, उनीहरूबाट जन्मिएका सन्तानको भविष्य पनि उज्वल छैन ।’

आफूले पढ्न पाएको कुरामा निकै गर्व गर्छिन् उनी । भविष्यमा बाल विवाह र मानब बेचबिखन विरुद्ध काम गर्ने मन छ । भन्छिन्, ‘जसले सपना देखेको छ, त्यसलाई पुरा गर्न समस्या नहोला । तर जसले सपना देख्नै जानेको छैन, उसमा सपना जगाइदिनु नै ठूलो कुरा हो । मलाई इन्दिरा दिदीले सपना देख्न सिकाइदिनुभो । साकार त म आफै गर्छु ।’

रामसरी जिम्बा

 ‘पढ्न नपाएको भए म पनि दिदीजस्तै विदेश जान्थे होला’

काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीकी हरिमाया जिम्बाका ४ छोराछोरी छन् । उनी सुकुम्वासी बस्तीका महिलाहरूको समूह कालिका महिला समूहकी अध्यक्ष पनि हुन् ।

चार छोराछोरीको लालनपालनको जिम्मा हरिमाया एक्लैको थाप्लोमा थियो । सँगसँगै थियो, आकासमा बादल लाग्यो कि चुहिने टहराको ओत लाग्नुपर्ने बाध्यता । दिनभरी मजदुरी नगरे बेलुकी चूलो बल्दैनथ्यो । यही अभाव टार्न उनले जेठी छोरीलाई विदेश पठाउने सोच बनाइन् । १४ वर्षकी छोरीलाई २२ वर्षको बनाएर पासपोर्ट बनाइन् र लेबनान पठाइन् । छोरी अहिले नेपाल फर्केर पनि बिहे गरेर गइसकिन् ।

मजदुरी गरेर जसोतसो गुजारा चलाइरहेका बेला हरिमायासँग सुकुम्वासी बस्तीका बालबालिकाको शिक्षाका लागि काम गरिरहेकी इन्दिरा घलेको भेट भो । घलेले उनको समस्या बुझिन् र उनका अरु दुई छोरीलाई आफूले पढाइदिने आश्वासन दिइन् । उनकै सहयोगमा माईली छोरी रामसरी जिम्बा ६ कक्षादेखि नियमित स्कुल जान थालिन् ।

रामसरी अहिले काठमाडौंको शंखमुलस्थित लालीगुराँस कलेजमा ११ कक्षा पढ्दैछिन् । कान्छी अञ्जली पनि गुहेश्वरी मावि थापाथलीमा ९ कक्षामा पढिरहेकी छन् । दुवै दिदीबहिनीलाई चेन्ज एक्सन नेपालले स्नातकसम्म पढाइदिने अध्यक्ष घलेले बताइन् ।

गएको हप्ता हरिमायाको टहरोमा सुकुम्वासी बस्तीका बालिका र महिलाहरूको बारेमा कुरा गर्दैगर्दा माइली छोरी रामसरी सर्ट, पाइन्ट र टाई सुटमा कलेजबाट टुप्लुक्क आइपुगिन् ।

आमासँगको कुराकानीपछि रामसरीले अलि लजाउँदै भनिन्, ‘पढ्न नपाएको भए म पनि दिदीजस्तै विदेश जान्थे होला ।’ आफूले भाग्यवस् पढ्न पाए पनि सुकुम्वासी बस्तीका केही बालबालिकाहरूले आमाबुबाको कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नपाएको दुखेसो गरिन् ।

पढाइ सकेर किशोरीहरूको शिक्षाका लागि काम गर्ने रामसरीको इच्छा छ । भन्छिन्, ‘पढ्न जरुरी छ । छोरी मान्छे पढ्यो भने उमाथि हिंसा पनि कम हुन्छ । आफूलाई आइपर्ने दुःख आफै सामाधान गर्न सक्छ ।’

रामसरी जस्तै सुकुम्वासी बस्तीकै अम्बिका चौधरीले पनि एसएलसीपछि इन्दिरा घलेमार्फत चेन्ज एक्सन नेपालबाट शैक्षिक सहयोग पाइन् । संस्थाकै सहयोगमा अनमी पास गरिन् र अहिले काम खोजिरहेकी छन् ।

छोरीचेली बेचिने बस्तीहरूको मुहार फेर्न छोरीहरू स्कुल पढाउनुपर्छ- घले 

अध्यक्ष, इन्दिरा घले

चेन्ज एक्सन नेपालकी अध्यक्ष इन्दिरा घले शिक्षा र जनचेतनाको अभावले नै गरिव बस्तीका सयौं छोरीहरू बेचिने गरेको बताउँछिन् ।

‘पढ्न नपाएका छोरीहरू नै बेचिने गरेका छन्’ घले भन्छिन्, ‘छोरीचेली बेचिने बस्तीहरूको मुहार फेर्न छोरीहरू स्कुल पढाउनुपर्छ भनेर यो अभियान थालिएको हो ।’ यसबाट सकारात्मक परिवर्तन हुँदै गएको पनि उनले बताइन् ।

एक दशकको अवधिमा ६ बालकसहित २ सय ४० जना बालिकालाई स्कुल पढाइरहेकी घलेले यो अभियानलाई देशव्यापी बनाउने उद्देश्य राखेकी छन् ।

घले मानव बेचबिखन रोक्न संस्थाले शैक्षिक अभियान थालेको बताउँछिन् ।

मान्छे बेचिने बस्तीहरूमा अरुले सचेतनाका कार्यक्रम गरिदिएर मात्रै रोकथाम नहुने उनको बुझाइ छ। त्यसैले त्यहाँका मान्छेहरूमा जागरण ल्याउन पढ्नै नसक्ने अवस्थाका छोरीहरूलाई पढाइदिएर अभियन्ताको रुपमा परिचालन गर्न जरुरी देखेपछि आफूहरूले यो अभियान चलाएको उनले बताइन् ।

यो पनि पढ्नुहोस्

र, म बेचिनबाट यसरी जोगिएँ