Please Update Your Browser.

केका लागि काजकिरिया ?

धर्म–संस्कार सिक्नका लागि मानिस स्कुल–कलेज गएका हुँदैनन्, युनिभर्सिटीमा यसको पढाइ हुँदैन, तर आवश्यक समयमा मान्यताले स्वतः काम गरिरहेको हुन्छ ।

मृत्युपछि हामी कहाँ जान्छौँ र के हुन्छौँ भन्ने कुरा अहिलेसम्म कसैले भन्न सकेको छैन । मानिस मरेपछि फेरि फर्किएर आएको रेकर्ड नभएकाले मृत्युपछि के हुन्छ होला ? कसैले पनि निर्धक्क भएर यसै भन्न सक्ने अवस्था छैन । हिन्दूधर्मले शरीर र आत्मालाई अलग हुने भनेको छ भने कतिले आत्मा र शरीर एकै हो पनि भनेका छन् । हिन्दूधर्ममा मानिस मरेपछि शरीर जलाए पनि आत्मा मर्दैन भन्ने मान्यता छ । महाभारतमा कृष्णले यो विषयमा अर्जुनलाई लामो समय लिएर सम्झाएका छन् ।

युद्धको आरम्भमा आफ्नो अगाडि विपक्षीको रूपमा भीष्म पितामह, गुरु द्रोणाचार्य, कृपाचार्यलगायतका आफूले अति नै आदर गरेका व्यक्तित्वहरूलाई देखेर अर्जुनले आफूले युद्ध गर्न नसक्ने बताएपछि कृष्णले शरीर र आत्माको बारेमा बताएका हुन् । शरीर मरे पनि आत्मा सधैँ जीवित रहने र अगाडि देखिएका ती महान् आत्माहरूले धर्मयुद्ध जितेकोमा पाण्डवलाई सधैँ आशीर्वाद दिइरहने भनी कृष्णले अर्जुनलाई युद्धबाट पछि नहट्न सम्झाएपछि अर्जुन युद्ध गर्न राजी भएका थिए । अहिले ओमशान्तिलगायतका सबै सनातनीहरूले शरीर मरे पनि आत्मा नमर्ने भनी विभिन्न तर्क अघि सारेको पाइन्छ ।

बबिता बस्नेत

अघिपछिको कुरा मात्रै हो, मानिस जन्मिएपछि मृत्यु निश्चित छ । जन्मँदै मानिसले मृत्युको ‘ओपन टिकट’ लिएर आएको हुन्छ भने पनि हुन्छ । कहिले, कहाँ, कसरी भन्ने निश्चित नभए पनि एक दिन जाने सय प्रतिशत निश्चित छ । मृत्युपछि आ–आफ्नो धर्म–संस्कारअनुसार काजकिरिया गरिन्छ । हिन्दूधर्ममा १३ दिन काजकिरिया गर्ने चलन छ । यो १३ दिनको आफ्नै महत्व छ । मानिस मरेपछि शुरुका केही समयसम्म उसको आत्माले शरीरभित्र पस्ने कोसिस गर्छ भनिन्छ । सकेसम्म मानिस मरेको ४ घन्टाभित्र जलाइसक्नुपर्छ भन्ने छ । हिजोआज सन्तान देशबाहिर हुने बाबुआमाहरूको लास मृत्युपछि केही दिन अस्पतालको शवगृहमा राख्नुपर्ने अवस्था छ ।

मृत्युको १३ दिनसम्म मृतकको हंश कुनै न कुनै रूपमा रहन्छ भनेर नै काजकिरियाका गर्ने गरिएको हो । मृत शरीरलाई गाड्ने संस्कार पनि छ, माटोबाट आएको शरीरलाई माटोमै बिलाउन दिनुपर्छ भन्ने मान्यताले यसप्रकारको संस्कारलाई टेवा दिएको देखिन्छ । जसले जुन विधिबाट गरे पनि धर्म, संस्कार भन्ने कुरा यस्तो मान्यता हो जसले मानिसलाई कुनै न कुनै रूपमा पछ्याइरहन्छ । धर्म–संस्कार सिक्नका लागि मानिस स्कुल–कलेज गएका हुँदैनन्, युनिभर्सिटीमा यसको पढाइ हुँदैन, तर आवश्यक समयमा मान्यताले स्वतः काम गरिरहेको हुन्छ ।

काजकिरियाका क्रममा पहिलो दिनदेखि तेह्र दिनसम्म जे–जे गरिन्छ तिनको आ–आफ्नै महत्व छ । मृत व्यक्तिका नाममा चढाइएको खानेकुरा उसले खान पाउँदैन होला, तर यदि आत्मा जीवित छ भने आफन्तले आफूप्रति राखेको भावनालाई उसले महसुस गर्न सक्छ । परिवारका सदस्यका लागि ती १३ दिनलाई ‘हिलिङ प्रोसेस’का रूपमा लिन सकिन्छ । आफन्तहरू आउँछन्, के भएको थियो, कस्तो अवस्थामा संसार छोड्योलगायत उसका विगतका राम्रा कुराहरू गर्छन् । आज, भोलि, पर्सि गर्दै आफन्तहरू बिस्तारै–बिस्तारै आफ्नो मान्छे गुमाउनुको पीडाबाट बाहिर निस्कँदै जान्छन् । जीवन बाँच्ने प्रक्रियालाई सहज बनाउन पनि १३ दिनको समय महत्वपूर्ण छ ।

छोराको देहावसानको तीन दिनमा चितवनमा गरिएको प्रकाशको श्रद्धाञ्जलीसहितको आमसभा चुनावमा प्रतिस्पर्धी नेता प्रचण्ड या उहाँको पार्टीका लागि राजनीति भए पनि आमाका लागि त त्यो केवल छोराको मृत्युको समय थियो ।

यदि संस्कारअनुरूप प्रचण्ड—सीता पुत्र प्रकाश दाहालको काजकिरिया गरिएको भए आमा सीतामाथिको बज्रपातले अहिलेको रूप लिने थिएन कि भनी सोच्नेहरूको सङ्ख्या ठूलो छ । छोराको दाहसंस्कार गरेको तेस्रो दिन चुनावी आमसभामा आमाको उपस्थिति गर्नै नहुने काम थियो जस्तो लाग्छ । छोराको मृत्युको तेस्रो दिन चितवनमा नेता प्रचण्ड सम्मिलित आमसभा सम्पन्न भएको थियो जहाँ आमा सीतालाई पनि उपस्थित गराइएको थियो । छोराको देहावसानको तीन दिनमा चितवनमा गरिएको प्रकाशको श्रद्धाञ्जलीसहितको आमसभा चुनावमा प्रतिस्पर्धी नेता प्रचण्ड या उहाँको पार्टीका लागि राजनीति भए पनि आमाका लागि त त्यो केवल छोराको मृत्युको समय थियो । ती आमाले छोराको मृत्युको पीडाबाट बाहिर आउने समय र माहौल नै पाइनन् ।

माहौलले मानिसलाई पीडा मुक्त हुन मद्दत गर्छ । मृत्यु संस्कारका क्रममा विभिन्न दिनमा दिइने पानी, खाना, दानलगायतका कुरा मरेका व्यक्तिले पाए पनि नपाए पनि बाँच्नेहरूका लागि पीडामुक्तिका कारक हुन् । फोटोअगाडि बालिएको बत्तीले मरेपछि सम्बन्धित व्यक्ति जहाँ गए पनि अँध्यारो नहोस् भन्ने कामना हो । शान्ति र मुक्ति मरेपछि प्राप्त हुन् भनी सबैभन्दा बढी कामना गरिने कुरा हुन् ।

मृत्युपछिको १३ दिने संस्कारका विषयमा कतिपयले अहिले सातदिन, कसैले पाँच दिन र कतिले तीन दिनको कुरा गर्ने गरेका छन् । कुरा मात्र होइन, अभ्यासमै पनि यो लागू गर्न थालिएको छ । नेता रवीन्द्र अधिकारीको मृत्यु संस्कार सात दिन गरियो । संस्कारको सन्दर्भमा उमेर पुगेर या लामो समय बिरामी भएर मृत्यु भएकाभन्दा दुर्घटनामा या अकस्मातै मृत्यु वरण गर्न पुगेकाहरूको सन्दर्भमा विशेष रूपमा काजकिरिया गर्नुपर्छ भन्ने मान्यता छ । दुर्घटनामा पर्नेहरू या भनौँ अकाल मृत्यु हुनेहरूको आत्मा बढी भड्किन्छ भन्ने छ ।

जतिसुकै ठूलो राजनीतिकर्मी भए पनि हाम्रो समाजमा हुर्किएको राजनीतिकर्मीले आपतविपदमा ‘हे कार्लमार्क्स… लेनिन… बीपी… कृष्णप्रसाद…!’ भन्दैन, ‘हे भगवान् !’ नै भन्छ ।

अनुभव बाँड्ने अवस्थामा कोही नभएकाले यसको कुनै प्रमाण छैन, तर आत्मा अरू कसैको शरीरमा आएर विभिन्न कुरा भनेको सुन्नेहरू भने हाम्रो नेपाली समाजमा प्रसस्त छन् । कतिपय संस्कारमा काजकिरियाको अन्तिम दिन आत्मा बोलाउने चलन पनि छ । नेता रवीन्द्र अधिकारीको काजकिरियाबारे थाहा पाउने धेरैजसो बुढापाकाले काजकिरियाचाहिँ १३ दिन नै गरिदिएको भए हुन्थ्यो भनेको सुनियो । यद्यपि उहाँहरूको पारिवारिक निर्णयका अगाडि अरूले धेरै चासो नराख्दा पनि हुने कुरा हो यो । चाहे जेसुकै होस्, कुनै पनि अवस्थामा राजनीति र संस्कार फरक कुरा नै हुन् । जतिसुकै ठूलो राजनीतिकर्मी भए पनि हाम्रो समाजमा हुर्किएको राजनीतिकर्मीले आपतविपदमा ‘हे कार्लमार्क्स… लेनिन… बीपी… कृष्णप्रसाद…!’ भन्दैन, ‘हे भगवान् !’ नै भन्छ ।

मूलतः आफूलाई जन्म दिने बाबुआमाप्रतिको श्रद्धा पनि हो मृत्युसंस्कार । आफूलाई जन्म दिने बाबुआमाको नाममा १३ दिन बिताउन नसक्नु या त्यस्ता सन्तानको परिकल्पना आफैँमा दुःखद हो । मृत्युपछि संस्कार गर्दै जाँदा १० दिनपछि प्रेतबाट आत्मा बन्ने मान्यताबाट निर्देशित भएका कारण राम्ररी काजकिरिया नभएका या प्रेतबाट पितृमा परिणत हुन नपाएका आफन्तहरूले पुस्तौँसम्म सन्तानहरूलाई दुःख दिएका, सपनामा या कसैको आत्मामा आएर मैले खान पाइनँ, भड्किरहेको छु भनेका उदाहरण पनि छन् । जसका कारण वर्षौंपछि आफन्तले काजकिरिया गरेका घटनाहरू पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । यो पङ्क्तिकारकै परिवारमा पनि यसप्रकारको घटना भएको छ । मृत्युको सन्दर्भमा कुरा गर्नुपर्ने अर्को विषय मृत्युको तयारी हो ।

पहिलापहिला मानिस वृद्धावस्था शुरु भएपछि बनारस, काशी जाने गर्थे । उनीहरूको धार्मिक स्थल प्रस्थान मन्दिर–दर्शन मात्र नभएर मृत्युको तयारी हुने गर्थ्यो । मर्नैका लागि तयार भएर गएपछि मरिएला कि भनेर मृत्युसँग डर हुने कुरै भएन । बिनातयारीको कुनै पनि यात्रा सुखद हुँदैन । मानसिक रूपमा तयार हुन सकियो भने मृत्यु पनि सुखद हुन सक्छ । मृत्युको तयारीको अर्थ पहिल्यै खुट्टा तान्नु भन्ने होइन, म कुनै पनि बेला मर्न सक्छु भन्ने कुरा मनमा राख्नु पनि तयारी हो । साथै १३ दिने संस्कारलाई सकेसम्म जोगाएर राखौँ, काजकिरिया मृतक प्रेतबाट आत्मा बन्ने प्रक्रिया मात्र होइन, बाँच्ने आफन्तका लागि पीडाबाट बाहिरिनका लागि सहज बनाउने समय पनि हो । 

साभारः घटना र विचारबाट