Please Update Your Browser.

सिसा मिश्रीत नुन खाएर ८ बिरामी

पाँचथर । पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा खाजा खाने क्रममा सिसा मिश्रीत नुन खाएर ८ जना गम्भीर बिरामी भएका छन् । उनीहरुको पाँचथर अस्पताल र समर्पित हस्पिटलमा उपचार भइरहेको छ ।

बिरामी मध्ये गम्भीर रहेका मिक्लाजुङ ३ आरुबोटेका २२ वर्षीया लक्ष्मी लिम्वु र १८ वर्षीया मनिसा नेपालीको जिल्लास्थित समर्पित हस्पिटलमा उपचार भइरहेको छ भने सोही ठाउँका मेनुका दास वर्ष (१७), विस्नु विक (१९), मुना लिम्वु (९), मनकुमारी फियाक (३३), सोना लिम्वु (१९) र युहाना शेर्मा (१३) को पाँचथर अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।

एक गैर सरकारी संस्थाद्वारा संचालित ३ महिने ढाका बुनाई तालिममा सहभागी भएका उनीहरुलाई आइतवार बिहान खुवाईएको खाजा (थुक्पा) को नुनमा सिसा मिश्रण गरिएको थाहा भएपछि उनीहरुलाई संस्थाकै पहलमा बुधवार अस्पताल भर्ना गरीएको हो ।

विहानको खाजामा नुन कम लागेको भन्दै नुन थप गर्ने क्रममा सिसाका कणहरु फेला परेपछि शंका लागेर हेर्दा भान्सामा राखिएको नुनको भाँडोमा नै सिसा मिसाईएको पाईएको बिरामी मध्येकी सोना लिम्वुले बताईन् ।

तालिमकी प्रशिक्षक समेत रहेकी स्थानीय होटल व्यवसाय गर्ने जसमिन फियाक लिम्वुको पसलमा त्यस्तो फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरी अनुसन्धान प्रकृया सुरु गरेको आयोजक संस्था मिलन केन्द्रका अध्यक्ष वहादुरसिं नेम्वाङले बताए । उनका अनुसार खाजामा मिसावट भएको थाहा पाएपछि एम्वुलेन्स मार्फत उनीहरुलाई उपचारको लागि सदरमुकाम ल्याइएको हो ।

गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मिलन केन्द्र नेपालको आयोजनामा जिल्ला घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको आर्थिक सहयोगमा संचालित उद्यम विकास तालिमका ६ जना सहभागीसहित स्थानीय होटलकी छोरी र अन्य एक गरी ८ जना बिरामी हुने गरी भएको घटना आफैमा संकास्पद र अनुसन्धान गर्नुपर्ने रहेको बताइन्छ ।