Please Update Your Browser.

नेपाल आईस मिडिया कप फुटसल सुरु

कोसेली समाचारदाता

धनगढी । धनगढीमा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सुदुरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तले उद्घाटन गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतियोगितामा सहभागी नौ वटै टीमहरुले पनि भाग लिएका थिए ।

लिगका आधारमा खेलाईने प्रतियोगिताको पहिलो दिन भएका खेलमा एसटीएस टेलिभिजन, रेडियो धनगढी र बी टिभी विजयी भएका छन् । रेडियो डेलिमेल र डेलीपाटी डट कमले बराबरी खेलेका छन् । उद्घाटन खेलमा एसटीएस टेलिभिजनले पश्चिम टुडेलाई १५—२ ले हरायो । एसटीएसको जितमा सागर शाहले ७ गोल गरे । शंकर बोहोराले चार जितेन्द्र रावल र योगेन्द्र नायकले दुई दुई गोल गरे । पश्चिम टुडेका लागि दिपक उपाध्याय र खेम उपाध्यायले एक एक गोल फर्काए ।

पहिलो दिनको दोस्रो खेलमा रेडियो धनगढीले दिनेश एफएमलाई ६—१ ले किनारा लगायो । रेडियो धनगढीका लागि लोक कार्कीले तीन तथा प्रकाश छेडाल सौरभ थापा र पुष्प जोशीले एक एक गोल गरे । दिनेश एफएमका लागि कमल सावदले एक गोल फर्काए ।

तेस्रो खेलमा भने रेडियो डेलिमेल र डेलीपाटी डटकमले चार चारको बराबरी खेले । डेलिमेलका लागि सन्तोष रावतले तीन तथा राजेश चौधरीले एक गोल गरे । डेलीपाटीका लागि पुष्कर विकले एक्लै चार गोल गरे ।

पहिलो दिनको चौथो तथा अन्तिम खेलमा बी टिभी विजयी भएको छ । बी टीभीले सुदुर सन्देशलाई ५—४ ले हराएको हो । बी टिभीका लागि नवराज धानुकले तीन तथा सीताराम ओझाले दुई गोल गरे । सुदुर सन्देशका लागि बालकृष्ण शर्माले तीन तथा पुष्कर पौडेलले एक गोल गरे । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक लिग चरणका चार खेल हुनेछन । अन्तिम दिन भने दुई सेमीफाईनल र फाईनल हुनेछ ।

प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । उनीहरुलाई २ समूहमा विभाजन गरि लिग चरणका आधारमा अंक अनुसार सेमिफाईनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद ७ हजारसहित नगद ट्रफी र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार पाउने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले जनाएको छ ।

यस प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको छ भने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका छन् । प्रतियोगिताको प्राविधिक पक्ष फ्ल्याटल्याण्ड फुटसलले गरिरहेको छ ।