Please Update Your Browser.

‘लिभिङ टुगेदर’ स् सुरा, स्न्याक्स र सेक्सको त्रिवेणी

पुस्तक–चर्चा

आखिर उपन्यास भनेको के हो रु पुस्तकको आकारमा लेखिएको काल्पनिक गद्य रचना जसमा पात्र र घटना समावेश हुन्छन् र सत्यताको केही अंश वा आधार पनि मिसिएको हुन्छ । उपन्यासमा लेखकले सविस्तार आफ्नो मनका भाव पोख्न सक्छ, कल्पनाका पखेटा क्षितिजपारिसम्म फटफटाउन सक्छ, अनुभवका इन्द्रेणी फिँजाउन सक्छ र जीवनलाई अनेक तह र गहिराइसम्म पस्किन सक्छ । जसमा जीवनको छायाँ हुन्छ त्यस्तो उपन्यासले पाठकलाई सोझै तान्छ । पछिल्लो चालीस वर्षदेखि साहित्य लेखनमा सक्रिय गोविन्द गिरी प्रेरणा आफ्ना पाठकहरूलाई नयाँ उपन्यास उपहार लिएर आएका छन्, लिभिङ टुगेदर ९असार २०७५० । धेरै कल्पना र केही यथार्थको घुलन रहेको यो उपन्यास २१६ पृष्ठ लामो छ ।

नाम अङ्ग्रेजीमा भए पनि उपन्यासको कथानक र जम्मैजसो पात्र अनि कथाको भावभूमि नेपाली नै छन् । नेपालमा खासगरी सहरी परिवेशमा पछिल्ला केही वर्षदेखि लिभिङ टुगेदर प्रवृत्ति बढ्दै गएको देखिन्छ, समाजले स्वीकार गरे पनि नगरे पनि बिहे नगरी श्रीमान–श्रीमतीका रूपमा सँगै बस्ने चलन क्रमसः वढ्दो रूपमा देखा पर्न थालेको छ । प्रेरणाको उपन्यासले समाजको यही पाटोलाई उजागर गर्न खोजेको छ । लिभिङ टुगेदर भन्ने भाव र शव्दहरू नै नेपाली समाजमा घुलमिल भैसकेको र त्यसको नामको नेपालीकरण भइनसकेकोले पनि उपन्यासकारले विषय वस्तु अनुरूपकै शीर्षक चयन गर्ने क्रममा यसैलाई रोजेको वुझ्न कठिन हुँदैन । आखिर साहित्यलाई समाजको ऐना जो भन्दछन् ।

उपन्यासको सुरुआत यसका दुई मुख्य पात्र कुमार भट्टराई र कृष्णा नेपालीवीच सानो आकस्मिक जम्काभेटवाट हुन्छ । यही भेट पछि गएर वाक्लिंदै जान्छ र उनीहरू लिभिङ टुगेदरमा वस्ने अवस्थामा विकास हुन्छ । उनीहरू वीच सँगै वसाईको सुरुआततिर दुई अलग ओछ्यानमा सुत्ने क्रम चल्छ जुन क्रमसः एउटै कोठाभित्रको नाटक जस्तो मात्र वन्न पुग्दछ । निकटता वढ्दै गएपछि कुमारले एकदिन पोखरा घुम्न जाने प्रस्ताव राख्छ र कृष्णाले त्यसलाई सहजै स्वीकार गर्दछे ।

कुमारको ध्यान जे जसरी हुन्छ कृष्णासित यौन सम्वन्ध कायम गर्ने हुन्छ । कृष्णाले यो कुरा वुझे पनि धेरै दिनसम्म उसलाई रोकेर राखेकी हुन्छे तर पोखरा भ्रमणमा निस्केपछि भने सारा पर्खाल तोडिन्छन् र उनीहरू एक हुन्छन् । पहिले उनीहरू मनकामना दर्शन गर्छन्, फर्केर त्यहीं राजमार्ग मुनिको एक रिसोर्टमा उनीहरूको शरीर एकाकार हुन्छ । पोखरामा उनीहरू फेवाताल घुम्छन्, विन्ध्यवासिनी मन्दिरमा पूजा गर्छन् , सेती नदी नियाल्छन्, महेन्द्र पुल र महेन्द्र गुफा आदि सवै हेर्छन्, घुम्छन् । अनि सबै कुराबाट तृप्त भएर काठमाडौं फर्कन्छन् ।

कृष्णा विपन्न परिवारकी छोरी हो । कुमार भने एकजना अति चतुर सिडियो जन्मेजय भट्टराईको एक्लो छोरा । कामकाजको सिलसिलामा पिता सधैं जसो काठमाडौं वाहिर हुन्छन् र धन कमाउने अनि घर खडा गर्ने सम्वन्धमा अत्यन्त तेज हुन्छन् । त्यसकारण काठमाडौं वसेर विविए पढ्दै गरेको छोरालाई लाखौं लाख रूपैयाँ उपलब्ध गराउन उनलाई केही जस्तो लाग्दैन । कुमारले पनि पानी वगाए झैं पैसा खर्च गर्छ । उसको एउटा स्वभाव भने विचित्रको प्रतीत हुन्छ– लिभिङ टुगेदरमा वस्दावस्दै कृष्णासित उसलाई प्रेम हुन्छ, उसले कृष्णालाई विविए पढ्ने खर्च सवै व्यहोर्छ , स्कूटर चलाउन सिकाउने देखि लाइसेन्स निकाल्ने र नयाँ स्कूटर किनिदिनेसम्म गर्छ । एमविए पढ्न समेत प्रेरित गर्छ , जुन कृष्णा सुत्केरी हुने भएपछि पूरा हुन पाउँदैन ।

कुमारका अति मिल्ने साथी हुन्छन्, सुनिल चापागाईं र हरि खड्का । उनीहरू एक आपसमा कुमारलाई भट्टे, सुनिललाई चापे र हरिलाई खोंडे भनी वोलाउने गर्छन् । यस्तो सम्वोधन अनौठो सुनिन्छ । तीनजना भेट भएपछि मातुन्जेल रक्सी खान्छन् र उनीहरू वीच रक्सी र केटी वाहेक अरु कुराकानी हुँदैन । समयक्रममा सुनिलले पनि एकजना युवती फेला पार्छ र लिभिङ टुगेदरमा वस्न सुरु गर्छ । तर केही समयपछि युवती उसलाई छाडेर कहिल्यै भेट नहुने गरी भाग्छे । यस सम्बन्धमा हरि असफल पात्र देखाइएको छ जसले सबैतिरवाट हार खाएपछि रत्नपार्ककी टाटीसित आफ्नो यौन प्यास मेटाउँछ । यसक्रममा उसलाई यौनरोग पनि लाग्छ, जुन पछि निको हुन्छ । कथानक अन्तिमतिर पुग्दा हरिले नाटकीय रूपमा आत्महत्या गर्छ । किन रु उपन्यासले यसवारेमा केही पनि भन्दैन ।

जयदेव गौतम

उता कृष्णाका साथी सोनु, पार्वती आदि पनि यौन मामिलामा उदार हुन्छन् । सोनु लिभिङ टुगेदरमा रमाउँछे भने पार्वती डान्स वारमा काम गर्दा गर्दै एउटा इण्डियनसित प्रेममा पर्छे जसले अरव पुर्याईदिने भन्दै उसलाई वम्वई लगेर वेचिदिन्छ । कृष्णाका गाउँवाट दीपाजस्ता अनेक युवतीहरू काठमाडौं आउँछन् अथवा पार्वती आफैं गाउँ पुगेर लिएर आउँछे र सवैलाई वारमा अथवा यस्तै अन्य काममा लगाईदिएर उद्धार गर्छे ।

पिताले वोलाएपछि कुमार एकाएक वीरगञ्ज पुग्छ तर काम विशेषले पिता काठमाडौं जानु परेकोले डिएसपी ठाकुरले कुमारको सेवा सत्कारको जिम्मा पाउँछन् । उनले कुमारलाई हेटौंडा, वीरगञ्ज, रक्सौल आदि ठाउँ पुर्याउँदछन् । सवै ठाउँमा रक्सी, सितन र युवती मात्र संगत हुन्छ । सिमानापारिको सन्दर्भमा निर्दोष गाउँले नेपाली वालाहरूलाई कसरी सिमाना कटाएर वेचिन्छ भन्ने, नेटवर्क सक्रिय छ भन्ने तथ्यको सांकेतिक वर्णन उपन्यासकारले गरेका छन् ।

उपन्यासको क्लाइमेक्समा कुमार अमेरिका जान तयार हुन्छ । उसको भिसा पनि लागिसक्छ । कुमार अमेरिका जान लागेकोमा कृष्णा अत्यन्त खुशी हुन्छे । कुमारले पनि आफु अमेरिका पुगेपछि कृष्णालाई फियान्से वनाएर अमेरिका लान पाउने वताउँछ । छ सात महिनाको अग्रिम भाडा तिर्न खोज्छ जुन वुढावुढी घरवेटीले गर्भवती कृष्णालाई नै राख्न दिन्छन् । कुमारले एक लाख रूपैयाँ कृष्णाको बैंक खातामा जम्मा गरिदिन्छ ।

अनि एकदिन कुमार अमेरिका प्रस्थान गर्छ । उसको साथी सुनिल पनि बीस लाख रूपैयाँ खर्च गरेर धेरै देश घुम्दै लुक्दै अन्ततः मेक्सिकोको बाटो हुँदै अमेरिका छिर्ने सपनासहित थाइ एयरवेजको विमानबाट बैंकक प्रस्थान गर्छ ।

दिन, साता, महिना र वर्ष बित्दछन् । सुरुमा कुमारको फोन र म्यासेज केही समय आइरहन्छ । अनि क्रमशः सम्झना बाहेक केही पनि आउँदैन । छोरीको आमा बनेकी कृष्णामा परिवर्तन आउन थाल्छ । उपन्यासकारले उसमा उग्र नारीवादी चेत भरिएको देखाउँछन् । यही क्रममा उसले एकपटक आफूलाई प्रयोग गर्न खोज्ने एकजना हाकिमलाई ठमेलको रेस्टुराँमा नाकमा मुक्का हानी दिन्छे । कृष्णालाई सोनुले भनेका कुरा घतलाग्दा लाग्छन् । सोनु ‘सिंगल मदर हुँ’ भनेर गर्वले भन्छे । लोग्ने मान्छेसँग झुक्नु हुँदैन, हेप्छन्, मौकाको फाइदा लिन्छन् । त्यसैले सके लोग्नेमान्छेलाई नै हेप्ने नसके आफू कदापि नहेपिने’ भन्छे ।

अनि भन्छे, ‘हामी स्वास्नीमान्छे हौं, हामीसँग यस्तो चिज छ जो यिनीहरू (लोग्ने मान्छेहरू) लाई नभै हुन्न । मर्नै खोज्छन् ।’

उपन्यासको अन्त्य झनै नाटकीय छ । कृष्णाले आफूले काम गर्ने गुडविल इण्टरनेशनल म्यानपावरका सञ्चालक राधेश्यामलाई एक साँझ नगरकोट नाइट स्टे गर्न जाने प्रस्ताव राख्छे जुन उसले सहर्ष स्वीकार गर्छ । रिसोर्टमा उनीहरू वसेर खानपिन गरिरहेको वेला कृष्णाले भन्छे, ‘कति वियर मात्र खाने, किस पनि खाने कि सर रु’ अनि सारा बन्धन चुँडिन्छन् । उनीहरू अभिसाररत हुन्छन्, सम्भोगमा डुव्छन् । भोलिपल्ट कृष्णाले भन्छे, ‘सर, मैले मेरो शरीरको प्यास मेटाउन मात्र खोजेकी हुँ । मलाई प्रेममा विश्वास छैन । मलाई मात्र सेक्स चाहिएको हो, प्रेम होइन ।’ अनि उपन्यास सकिन्छ ।

उपन्यास विषयवस्तुको उठानप्रति गम्भीर देखिंदैन । उपन्यासमा थोरै पात्र छन्, त्यसमध्ये तीनजना युवकहरू छन् जो लिभिङ टुगेदरका रूपमा केवल सेक्स पार्टनर मात्र खोज्न इच्छुक छन् भने लिभिङ टुगेदरका लागि तयार जे जति युवती छन् ती सवैजना विपन्न र कथित तल्लो जातिका मात्र छन् । के नेपाली समाजमा हाल देखा परिरहेको लिभिङ टुगेदर अवस्थाको यथार्थ यही र यति मात्र हो त रु के यसका सकारात्मक पक्षहरू हुँदै नभएका हुन् त रु अथवा, केही पनि छैनन् त रु के लिभिङ टुगेदरमा बसेका कुनै पनि जोडीले सफल जीवन विताउन सकेका छैनन् त रु के लिभिङ टुगेदरको अवधारणा नेपाली परिवेशका लागि अभिशाप नै बनेको हो त रु

प्रश्नहरू अनेक छन् किनभने उपन्यासकारले स्थितिको एउटा पाटो, त्यसमा पनि अत्यन्त संकीर्ण पाटो मात्र, लाई आफ्नो विषयवस्तु वनाएका छन् । उपन्यासमा सुरा, स्न्याक्स र सेक्सको अत्यधिक प्रसङ्गहरू उल्लेख गरिएको छ जसले उपन्यासलाई समग्रमै एउटा ननभेज उपन्यासको दर्जामा उभ्याइदिएको छ । यसले गर्दा गम्भीर अध्येताहरूका लागि उपन्यास सिफारिसयोग्य मान्न सकिंदैन भने यसको साहित्यिक गुणवत्ता सोचनीय पक्षका रूपमा रहेको छ ।

चालीस वर्ष साहित्य लेखनमा बिताएर अझै निरन्तर सक्रिय रहेका लेखक गोविन्द गिरी प्रेरणाबाट पाठकहरूले गम्भीर र स्तरीय लेखनको अपेक्षा गरेका हुन्छन् । लिभिङ टुगेदर जस्तो उपन्यासले उनको स्तर खस्काउने काम मात्र गर्दछ । नेपाली अस्मीताबाट