Please Update Your Browser.

बगर र वातावरण

सन्दर्भः आज विश्व वातावरण दिवस

मान्छेले बगर खायो
बगरले मान्छे बगायो
ढुङ्गा र बालुवा छउन्जेल
मान्छे बगरको छाती खोस्री रहन्छ
घुँडा धसेर
प्राकृतिक श्रोतको अनियन्त्रित दोहोन गरिरहन्छ ।
मान्छे बगरलाई बालुवाविहीन बनाउन चाहन्छ
बगरको छाती चिरेर सुन्दर महल बनाउँछ
मान्छे बगरलाई बेनाम ठान्छ,
बगरलाई अस्तित्वहीन बनाउँछ ।
बगर खोस्रेर मान्छे कंक्रिटको व्यपार गर्छ
सपनाको ओसार-पसार गर्छ
माटो फालेर गमलामा कंक्रिट जम्मा गर्छ
गमलामा प्लाष्टिकका फूल रोप्छ ।
यसैमा आफूलाई महान ठान्छ
यो देशका बगर जब रितिंदै गए
कंक्रिटका महल आकाशिदै गए
मान्छे पनि कंक्रिटको गमलामा रोपिएको प्लाष्टिकको फूलजस्तै सुगन्धहीन बन्दै गए
अनि मान्छेको हृदय कंक्रिटमा रोपिएको नक्कली फूलझैं संवेदनाहीन बन्दै गयो ।

बगर रित्याउने यो शताब्दीको मान्छे
यदि बगर बुझ्दैन भने
वातावरण बुझ्दैन बने
मान्छे र बगरमा के फरक रह्यो र ?
त्यसैले बगर बचाऔं, वातावरण जोगाऔं
बगर केबल बगर मात्र होइन
बगर जीवन हो
जस्ले नदीलाई धार दिएको छ
मान्छेलाई उपहार दिएको छ ।

शाहीलेक, बैतडी ।

२०७६ जेठ २२ गते