Please Update Your Browser.

हावाहुरीमा परी दुईको मृत्यु, ९९ घाइते

कैलाली । कैलाली र कचनपुरमा हावाहुरी र चट्यांगमा परी बिहीबार दुई जनाको मृत्यु भएको छ भने ९९ घाइते भएका छन् ।

कैलालीको टिकापुर नगरपालिका–२, राजीपुरमा कुखुराको खोर भत्किँदा च्यापिएर ४७ वर्षीया लाहानु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

यस्तै कैलालीको गोेदावरी नगरपालिका–८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ ।

शुक्रवार बिहानै सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बिहान प्रदेश सुरक्षा समितिको बैठक बसेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले घाइतेको उपचार तथा राहत वितरणको कार्य गरिने जनाए । साथै घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत भएको मन्त्री शाहले जानकारी दिए ।

मन्त्री प्रकाश शाहका अनुसार हालसम्म २ जनाको मृत्यु भएको छ भने कैलालीमा ७६ जना र कञ्चनपुरमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये ६६ जना उपचारपछि घर फर्केका छन् भने १० जना उपचाररत छन् ।

२ जनालाई उपचारको लागि भारत रेफर गरिएको छ भने बाँकी घाइतेको उपचार कैलाली र कञ्चनपुर जिल्लास्थित विभिन्न अस्पतालमा भइरहेको मन्त्री शाहले जानकारी दिए ।

यस्तै विनाशकारी आँधीहुरीले प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला प्रभावित बनेकोप्रति दुुःख व्यक्त गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रभावितको उद्धार, उपचार र राहत वितरण तथा अवरुद्ध सेवा सुचारु गर्न सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन् ।

बिहीवार रातिदेखि नै सबै निकाय अलर्ट भई उद्धारको कार्यमा लागेको बताउँदै उनले अवरुद्ध सडक खोल्ने, विद्युत् सेवा सुचारु गर्न पनि सम्बन्धित निकाय लागिसकेको मुख्यमन्त्री भट्टले बताए । उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने समेत बताएका छन् ।