Please Update Your Browser.

विशेष स्कूल तथा पुनस्र्थापना केन्द्रको भवन निर्माणार्थ सहयोगको अपिल

काठमाडौं । अभियन्ता सबिता उप्रेतीले अष्ट्रेलियामा रहेका नेपाली नागरिकसँग विशेष स्कूल तथा पुनस्र्थापना केन्द्रको भवन निर्माणार्थ सहयोगका लागि अपिल गरेकी छन् ।

सामाजिक अभियन्ता विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी)की अध्यक्ष उप्रेतीले अटिजम भएका बालबालिकाहरुलाई अपांगता मैत्री भवन निमार्ण गर्ने अभियानमा सहयोग गरिदिन अपिल गरेकी हुन् ।

भवन निर्माणका लागि रकम संकलन गर्न एनआरएनए अष्ट्रेलियाको संयोजन र सहकार्यमा एक महिनाको अष्ट्रेलिया भ्रमणमा रहेकी उप्रेतीले डार्विन र ब्रीसबेनमा ‘च्यारिटी डिनर विथ सबिता उप्रेती’ कार्यक्रम भब्यताका साथ सकिएको जानकारी दिइन् ।

उक्त कार्यक्रममा सबिताले आफूले गरिरहेको सामाजिक कार्य, संस्था र भवन निर्माण गर्दा लाग्ने खर्चका बारेमा बालेकी थिइन् ।

सबिताको अटिजम बालबालिकाको सेवाप्रतिको लगाव र समर्पणसहित संस्थाको काम र भावी उद्देश्यको नेपालीहरुले खुलेर प्रशंशा गर्दै सहयोग गरेको पनि उनले बताइन् ।

सबिताका अनुसार उक्त कार्यक्रमबाट १६ हजार अष्ट्रेलियन डलर संकलन भएको छ । ब्रीसबेनमा रकम संकलन हुँदैछ भने एडिलेटमा जुन ९ र सिड्नीमा जुन १० मा कार्यक्रम हुन लागेको पनि उनले बताइन् ।

संस्थाले अटिजम भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र पुनस्र्थापनाका साथै जनचेतना र पैरवीमा ९ वर्षदेखि काम गर्दै आइरहेको छ ।

विशेष स्कूल तथा पुनस्र्थापना केन्द्रमा नियमित स्रोत, साधन र भौतिक पूर्वाधारको अभावकका कारण धेरै बालबालिकाहरु भर्नाको लागि प्रतिक्षा सूचिमा (वोइटिन लिस्ट) मा रहेको पनि अध्यक्ष उप्रेतीले बताइन् ।

नियमित दाताको सहयोग बिना संचालित संस्थामा हाल ४५ जना बालबालिकाहरुले सेवा प्राप्त गरिरहेका छन् भने २६ जना कर्मचारी कार्यरत रहेको जानकारी दिइन् ।