Please Update Your Browser.

अगुवा महिलालाई पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धि तालिम

ललितपुर । पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धमा अगुवा महिलाहरुलाई तालिम दिइएको छ । बालकुमारी स्वास्थ्य समाजको आयोजना र मध्यपुर थिमि वडा नं ४ को साझेदारीमा पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धि तीन दिने तालिम दिइएको हो ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठका अनुसार मध्यपुर थिमिका महिला समूह र स्वास्थ्य समाजका २५ जना अगुवा महिलाहरुलाई तालिम दिइएको हो ।

स्वास्थ्य समाजका सचिव रवि श्रेष्ठले जेठ ३० देखि ३२ सम्म संचालन भएको तालिम पश्चात सहभागिहरुले आ–आफ्ना समूहका सदस्यहरुलाई एक दिने अभिमुखिकरण गरेको जानकारी दिए । पाठेघरको स्वरुप र यसका अंगहरुको कार्य, यौन संक्रमण, स्तन क्यान्सर तथा पाठेघरको मुखमा हुने क्यान्सर विषयक अभिमुखि कार्यक्रममा ३ सय भन्दा बढीको सहभागिता थियो ।

बालकुमारी स्वास्थ्य समाजका अध्यक्ष पूर्णकेशरी श्रेष्ठले शिविरमा २ सय ७९ जना महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर परीक्षण गरिएको जानकारी दिइन् ।

बालप्रेमी माध्यमिक विद्यालयमा समापन भएको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले महिला स्वास्थ्यलाई सुधार गर्न अझ प्रभावकारी कार्यक्रमहरु पेश गर्न अनुरोध गरे ।

साथै, उक्त कार्यक्रमले धेरै महिलाहरु लाभान्वित भएको बताउँदै वडामा मात्र सिमित नराखी यस्ता कार्यक्रम नगरस्तरीय रुपमा सञ्चालन गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वडा अध्यक्ष कुमार श्रेष्ठ, सदस्य सुन्दरलाल श्रेष्ठ, महिला सदस्य समकेशरी श्रेष्ठ र सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठले मन्तव्य राखेका थिए ।