Please Update Your Browser.

रोहिंगा बस्तीमा चेञ्ज एक्सन नेपालले दियो राहत

कोसेली समाचारदाता

काठमाडौं । बन्दाबन्दीका कारण समस्यामा रहेका बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ राममन्दिर नजिकै रहेका रोहिंगा शरणार्थीहरुलाई राहत वितरण गरिएको छ । चेञ्ज एक्सन नेपाल र स्वालो नेष्ट नेपालले शुक्रबार वडा नंं ११ को समन्वयमा राहत प्याकेज वितरण गरेको हो ।

बन्दाबन्दीले दैनिक छाक टार्नसमेत मुस्किल अवस्था भएपछि बर्माबाट लखेटिएर नेपालमा शरण लिइरहेका १ सय ५० घरधुरी परिवारलाई प्रत्येक परिवारलाई २५ किलो चामल, ५ किलो दाल, एक लिटर तेल, एक किलो नुन वितरण गरिएको वडाअध्यक्ष राजु अधिकारीले बताए ।

वडा सदस्य विनोदकुमार तामाङ्ग, समाजसेवी माधवलाल श्रेष्ठको समन्वयमा रोहिंगा शरणार्थीलाई राहत वितरण कार्यक्रममा गरिएको हो ।

चेञ्ज एक्सन नेपालले शुक्रबार नै रोहिंगा बस्ती नजिकका सोही वडाका ज्याला मजदुरी गर्ने, गरिब, असहाय, असंगठित मजदुर गरि ७५ घर परिवारलाई पनि चामल, दाल, तेल र नुन वितरण गरेको अध्यक्ष इन्दिरा घलेले जानकारी दिइन् ।

यस्तै सरस्वतीनगर बौद्धका १० घर परिवारलाई पनि गोल्डेनपिक हाई स्कुलको समन्वयमा राहत वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक सायरा कार्कीले बताइन् ।

चेञ्ज एक्सन नेपालले बन्दाबन्दी शुरु भएदेखि नै ज्याला मजदुरी गर्ने, गरिब, असहाय, असंगठित मजदुर, सुकुम्वासी लगायतलाई राहत वितरण गर्दै आएको कार्कीले बताइन् ।