Please Update Your Browser.

नेपालकी पहिलो क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन

काठमाडौं । नेपालको पहिलो क्याम्पस प्रमुख महिला, शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । २०१९ मा बेलायतबाट फर्केपछि उनी पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् ।

१७ वर्षदेखि क्यान्सर रोगबाट पीडित जोशीको ८९ वर्षको उमेरमा आज दिउसो काठमाडौंकये बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई शुरुमा घाँटीमा क्यान्सर देखिएको थियो भने त्यसको केहीवर्षपछि स्तन क्यान्सर भएको थियो ।

वि।सं २०१९ मा बेलायतबाट फर्केपछि पद्मकन्या क्याम्पसमा अध्यापन गर्न शुरू गरेकी जोशीले त्यहाँ १८ वर्षको सेवा कालमा १२ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

सन् १९३२ अगस्ट १५ मा काठमाडौँको डिल्लीबजारमा बुबा पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट जन्मिएकी जोशी शिक्षा क्षेत्र र समाजसेवामा अग्रणी हुन् ।

एघार वर्षको कलिलो उमेरमै बलराम जोशीसँग विवाह बन्धनमा बाधिएकि जोशीले विद्यालय गएर औपचारीक शिक्षा हासिल गर्न पाइनन् । छोरी बुहारी पढ्न नदिइने त्यो बेलाको समाजमा सासूको सहयोगले घरमै स्वअध्ययन गरी सन् १९४८ मा दोस्रो श्रेणीमा एसएलसी पास गरेकी थिइन् ।

प्राइभेट रूपमा अध्ययन गरेर आईए पास गरेपछि जोशीले श्रीमान्सँग बनारस पुगेर राजनीति शास्त्र र संस्कृत विषयमा बीए पास गरिन् । बनारसबाट पढाई सिध्याएर फर्केपछि उनले पद्मकन्या कलेजमा अध्यापन गर्न थालिन् र यसबिच बेलायती सरकारद्धारा प्रदान गरीने कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्ति पाइन् र वेलायतको अक्सफोर्ड युनिभर्सिटी अन्तर्गतको समरभिल कलेजमा अध्ययन गर्न गइन् । चार वर्षमा उनले आफ्नो अध्ययन पूरा गरेकी थिइन् ।

जोशीका ‘कल्पना कथासंग्रह’ (बि. सं. २०३१), ‘क्यान्सरः बरदान’, ‘वृद्धा अवस्था ः जीवनको श्रीपेच’ र ‘दीक्षा’ कृति प्रकाशन भएका छन् ।

उनले गोरखा दक्षिण बाहु दोश्रो, त्रिशक्ति पट्ट तेश्रो, महेन्द्र विद्या भुषण पहिलो, २०७२ सालको जगदम्बा श्री पुरस्कार प्राप्त गरेकी थिइन् ।