Please Update Your Browser.

विद्यालयमा शारीरिक दण्ड दिने शिक्षकलाई कानुनी कारबाहीको माग

फागुन २, बाँके । 

बैजापुर गाविस – ४ घर भई ब्राईट स्काई इङ्लिस मेडियम स्कूलमा कक्षा एकमा अध्ययनरत सात वर्षीय बालक रेशम खत्रीलाई विद्यालयमा शारीरिक दण्ड दिने शिक्षकलाई अधिकारकर्मीहरूले फागुन १ गते कारबाहीको माग गरेका छन् ।

सिविन बाल हेल्पलाइनका सिद्धराज पनेरु, इन्सेकका भोला महत, एफडब्लुएलडीका सुनिल श्रेष्ठ, एडभोकेसी फोरमका बसन्त गौतम, गैसस महासङ्घका प्रभातकुमार ठकुरी, फातिमा फाउण्डेसनका मैमुना सिद्धिकी हिमराईट्सका प्रकाश उपाध्याय, आइएचआरसीका विश्वजीत तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा घटनामा संलग्न शिक्षकलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका हुन । अधिकारकर्मीहरूले आगामी दिनमा विद्यालयमा भयरहीत वातावरणमा पठनपाठन सुनिश्चित गर्न जिल्ला शिक्षा कार्यालय लगायत अन्य सरोकारवाला निकायलाई जोडदार माग गरेका छन् ।

विद्यालयमा लामो समय शौचालयमा बसेको आरोपमा विद्यालयका प्रद्यानाध्यापक रामकृष्ण थारुले माघ २५ गते कुटपिट गरेको बालकका बुवा प्रताप खत्रीले बताए । शिक्षकको कुटपिटबाट बालकको शरीरमा नीलडाम भएको छ ।

घटनाका बारेमा बालकले कसैलाई भनेका थिएनन । बालक रातीमा नसुत्ने र ज्वरो आउने गरेपछि माघ २९ गते स्थानीय मेडिकलमा उपचारका लागी गएको अवस्थामा शरीरमा निलडाम देखेपछि घटनाको खुलासा भएको हो ।

घटनाका बारेमा पीडित पक्षले निवेदन नदिएको इलाका प्रहरी कार्यालय बैजापुरका असई आत्माराम शर्माले बताए । आरोपित शिक्षक रामकृष्ण थारुले हातले समान्यरुपमा पिटेको भएपनि लाठी प्रयोग नगरेको दावी गरेका छन् ।