Please Update Your Browser.

प्रेम प्रस्ताव अस्वीकार गरे पछि छुरा प्रहार

उदयपुर ५ फागुन । लामो समयदेखि प्रेम प्रस्ताव राख्दै आए पनि युवतीले नमानेको भन्दै उदयपुरमा एक युवकले युवतीमाथि नै छुरा प्रहार गरेका छन्। उदयपुर पञ्चावती गाविस–४ बोहोरी बोट बस्ने १७ वर्षीया फूलकुमारी मगर र अर्का १४ वर्षीया गीता राना मगरमाथी छुरा प्रहार गरिएको हो ।

छुरा प्रहार गर्ने युवक भुटार गाविस–८ बस्ने १६ वर्षीय पूर्णबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । गए राति ११ बजे मगरद्वय घरको कोठामा सुतिरहेको बेला सार्कीले घरको झ्याल खोलेर प्रवेश गरी फूलकुमीलाई टाउकामा र छातीमा छुरा प्रहार गरी फरार रहेको बताइएको छ ।

मगरसँगै सुतिरहेकी उनकी भतिजी गीताले कराएर गुहार गर्दा उनलाई पनि सार्कीले छातीमा छुरा प्रहार गरेर घाइते बनाएका छन् । सार्की पञ्चावतीस्थित खरिबोटमा एक स्थानीयवासीको घरमा डेरा लिएर स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै आएका विद्यार्थी हुन् ।

फूलकुमारीलाई एक वर्षदेखि सार्कीले प्रेम प्रस्ताव राखेर बारम्बार प्रेमपत्र लेख्दै आएको र धेरै पत्र भेटिएको प्रहरीले बताएको छ । सख्त घाइते फूलकुमारीको अवस्था गम्भीर रहेकाले उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ । रासस