Please Update Your Browser.

अन्तरजातिय विवाह गरेको जोडी गाउँ निकाला

सुर्खेत ५ फागुन । अन्तरजातिय विवाह गरेकै कारण एक जोडी गाउँ निकला भएको छ । दैलेख जिल्लाको पश्चिम क्षेत्रमा पर्ने भैरीकालिकाथुम गाविसका लक्ष्मण विक र निर्जला खडायत दुई महिनादेखि सुरक्षाको खोजीमा सुर्खेतमा बस्दै आएका छन् ।

गत मंसिर ४ गते लक्ष्मण र निर्जलाले सहमतिमा अन्तरजातिय विवाह गरेका थिए । तर निर्जलाका घरपरिवारले भने तल्लो जातिसंग विवाह गरेको भन्दै धम्की दिएपछि उनीहरुले गाउँ छोडेर भागेका हुन् ।

निर्जलालाई परिवारले विवाह गरेको केही दिनमा नै आफन्तले घर लगेका थिए । गत पुसमा भने निर्जला घर छोडेर फेरी लक्ष्मणसंग आएकी थिईन् । निर्जला फेरी मसंग आएपछि माईती पक्षले निकै मानसिक तनाव दिएको लक्ष्मणले जानकारी दिए । उनले पुसमा निर्जलालाई भगाएर विगत दुई महिनादेखि वीरेन्द्रनगर बस्दै आएको बताए ।

‘अन्तरजातिय विवाह गरेकै कारण माइती पक्षले पटक–पटक ज्यान मार्ने धम्की दिए ।’ लक्ष्मणले भने,–‘गाउँमा सुरक्षा नभएपछि न्यायको खोजीमा भौतारिरहेको छु ।’ गाउँकै स्कुलमा निर्जला ७ र लक्ष्मण ८ कक्षामा पढ्दादेखि नै प्रेम सम्वन्ध शुरु भएको थियो । चार वर्षसम्म प्रेम गरेर दुवैको सहमतिमा अन्तरजातिय विवाह गरेको निर्जलाको भनाई छ ।

उनले घरपरिवारले विवाहलाई अस्विकार गररे ज्यान मार्ने धम्की दिएपछि घर छोडेर भाग्न बाँध्य भएको बताईन । खडायत परिवारले दुवैको उमेर नपुगेको भन्दै बालविवाहमा गरेको भन्दै लक्ष्मणलाई मुद्दा चलाउने तयारी गरेका थिए ।

दुवैको उमेर २० वर्ष भएकाले निर्जलाका परिवार मुद्दा दर्ता गर्न असफल भएको लक्ष्मणको भनाई छ । ‘मेरा आफन्तले हामी दुवैलाई वीरेन्द्रनगरमा आएर कुटेका थिए ।’ निर्जलाले भनिन्,–‘मलाई नी परिवारले लिएर जानु भयो । मनले मानेन पछि फेरी नेपालगञ्जबाट भागेर लक्ष्मणसंगै आएर बसेको छु ।’

घरपरिवारले जति दुःख दिएपनि लक्ष्मणको साथ नछोड्ने निर्जलाको अठोट छ । ‘वनावटी माया होईन, जातकै आधारमा मलाई कसैले अलग्याउन सक्दैनन् ।’ निर्जलाले थपिन्,–‘२१ औं शताव्दिमा जातको कुरा गर्नु गलत भएकाले न्यायको खोजीमा छु ।’

वीरेन्द्रनगरमा बस्दै आएका लक्ष्मण र निर्जलालाई आफन्तले मार्ने धम्की दिएपछि असुरक्षित भएको बताएका छन् । उनीहरुका अनुसार नगर प्रहरी सुर्खेत, ईलाका प्रहरी कार्यालय दुल्लु, र प्रहरी चौकी कुसापानी दैलेखमा उजूरी दिन खोज्दा समेत प्रहरीले लिन मानेको छैन् ।

धेरै पटक प्रहरीलाई गुहार्दा पनि उचित न्याय नपाएको गुनासो लक्ष्मणको छ । उनले निर्जलाका आफन्तले हामी पुग्नु भन्दा पहिले नै प्रहरीलाई फोन गरेर उजूरी दर्ता नगर्नु भनेकोले असुरक्षित रुपमा आफूहरु बस्नु परेको बताए ।

वीरेन्द्रनगरमा आएर खडायत परिवारले अक्रमण गरेपछि लक्ष्मण र निर्जलाले अर्को ठाउँमा कोठा लिएर बस्नु परेको गुनासो गरेको छ । त्रासमय वातावरणमा कति बेला आक्रमण हुने हो भनेर वीरेन्द्रनगरमा बस्नु परेको लक्ष्मणको भनाई छ । कक्षा १० मा पढ्ने निर्जलाले यो पटकको एसएलसी परिक्षामा समेत सहभागी हुन नपाउने भएपछि चिन्ता लागेको बताईन् ।

‘परिवारले दैलेख जान दिदैँनन्, यही आएर कुट्छन । कसरी परिक्षा दिने रु’ प्रश्न गर्दै भनिन्,–‘अध्ययन गर्न र खुलेर बस्न दिने वातावरण मिलाई दिन मानव अधिकार सम्वन्ध संघ संस्थासंग आग्रह गर्दछु ।’ लक्ष्मणले पनि यो पटक कक्षा एघारको परिक्षा दिन नपाउने बताए ।

निर्जलाका परिवारले ज्यान मार्ने धम्की दिएकाले कसरी गएर परिक्षा दिने, बरु पढाई छोड्ने मानसिकता बनाएको उनको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी वीरबहादुर ओलीले यो घटनाबारे आफूलाई थाहा नभएको बताए । उनले आफू भर्खरै सरुवा भएर दैलेख आएकाले उनीहरुले दिएको उजूरी बारे मातहतका प्रहरी कार्यालयसंग बुझ्ने जानकारी दिए ।

तर डिएसपी ओलीले अन्तरजातिय विवाहका कारण नै विस्थापित हुनु भने दुःखद् पक्ष भएको बताए । २१ औं शताब्दिमा जातकै आधारमा गाउँबाट लखेटिनु राम्रो पक्ष नभएको बताउँदै डिएसपी ओलीले पीडितले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजूरी दिए घटनाको छानविन गर्ने आश्वासन दिए ।