Please Update Your Browser.

सानैमा शिक्षा, वालवालिकामाथि मनोवैज्ञानिक अपराध

कोसेली समाचारदाता
 काठमाडौं, ८ फागुन ।
मंगलबार परेकाले सिन्धुलिकी सुनितालाई दुईवटा काम संगै गर्नु थियो । छोराछोरी स्कुल पु¥याउनु अनि मन्दिरको दर्शन गर्नु । हरेक मंगलवार सुनिता ब्रत बस्छिन् । उनले नुहाइधुवाई सकेर साढे दुई वर्षीया छोरी विनीता र पाँच वर्षे छोरो आकासलाई ख्वाइचुठाई गरिन । स्कुल ‘ड्रेस’ लगाइदिन । नौ बज्दा नबज्दै उनी छोराछोरी डो¥याएर मैतिदेवी मन्दिरको दर्शन गर्दै स्कुल जाँदै थिइन ।

IMG_1546

राम्ररी हिँड्नै नसक्ने छोरी र सुद्धसंग बोल्न नजान्ने छोरालाई सुनिता रातोपुल नजिकैको एप्पल स्कुलमा हरेक दिन यसैगरि पु¥याउँछिन् । आफूले सानै उमेरमा छोराछोरीलाई स्कुल भर्ना गरेकोमा उन्लाई न कुनै गर्व छ नत कुनै पछुतो नै । ‘सबैले सानैमा भर्ना गर्छन, मैले पनि गरिदिएकी’ सुनिताले भनिन्,‘नानी–बाबुलाई स्कुल पु¥याएपछि दिनभरी ढुक्कले काम गर्न मिल्छ ।’ त्यही ढुक्कताका लागि उमेरै नपुगेका वालवालिकालाई विद्यालय भर्ना गर्दा कस्तो असर पर्छ भन्ने कुरा धेरै सुनिता जस्तै धेरै अभिभावकलाई थाहा नहुनसक्छ ।

devit

डेवित

पचिल्लो समयमा गाउँघरभन्दा सहर–बजारमा वालवालिकाले खुट्टा थिर्याउने भयो कि स्कुल भर्ना गर्ने प्रचलन ह्वात्तै बढेको छ । यसका पछाडी सहरिया जीवनको केही रहर, केही बाध्यता, थोरै आडम्बर र खासगरि अज्ञानता कारकतत्व भएको ठम्याई शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाको छ । उमेर नै नपुगी गह्रुङ्गो झोला बोकाएर विद्यालय पठाइने वालवालिकाको वालमनोविज्ञानमा नकारात्मक असर पर्ने कुराको भेउ अधिकांस आधुनिक अभिभावकले पटक्कै नपाएको कोइरालाको टिप्पणी छ । ‘नेपाली समाजमा व्यवहार र संस्कार बिग्रियो’ शिक्षाविद डा. कोइरालाले भने,‘हिजो बाजेबज्यैले नातीनतिना खेलाउने गर्थे, अहिले एकल बन्ने नाममा वालवालिकाको भविश्य विगारिँदैछ ।’ उनले स्वाभाविक उमेर नपुगिकन दिइने शिक्षा कामिलो नहुने बताउँदै भने,‘सहरबजारमा वालविकासका लागि वस्तुविकास पनि हुन जरुरी छ । सहरबजारको साँघुरो बसाईले पनि वालमनोविज्ञानमा राम्रो असर गर्दैन ।’

विगत १८ वर्षदेखि आफै शिक्षा पेसामा संलग्न पायस पब्लिक सेकेन्डरी स्कुल घट्टकेकुलोका प्रिन्सिपल भीम गौतमलाई पनि केही समयअघिसम्म यसको पटक्कै हेक्का थिएन । एकल पुरुषको जीवन विताइरहेका गौतमले दुई वर्षको छोरो डेबिडलाई साहीमिनी ल्याण्ड एकेडेमीमा भर्ना गरिदिए । ‘छ वर्षमा डेविडले धेरै कुरा सिक्यो, अंग्रेजी बोल्न जान्यो, अनुशासित भयो’ उनले भने,‘तर, घर आएपछि भने स्कुल फर्कनै मान्दैन थियो ।’ त्यसको उचित कारण प्रिन्सिपल भीमभन्दा बुबाको छेउमै बसेका डेबिडसंगै छ, उनले अ्रग्रेजीमै भने,‘मैले धेरै होमवर्क गर्नुपथ्र्यो । रमाईलो पनि थियो । तर तपाईँसंगै हुनुहुँदैन थियो ।’ छोराको मनोविज्ञानबाट अहिले गौतम पनि सचेत छन् । त्यसैले उनले छोरालाई आफूसंगै आफ्नै स्कुलमा भर्ना गरेका छन् । ‘सहरिया जीवनमा काम नगरि साध्य हुँदैन । एकल बन्दै गएको समाजमा नानीबाबु खेलाएर बस्ने फुर्सद हुँदैन ।’ उनले भने, ‘समस्याबाट छुटकारा पाउन हामी शिशु अवस्थामै वालवालिकालाई स्कुल, मन्टेश्वरीमा भर्ना गर्छौँ । हेरचाह त राम्रो हुन्छ तर मनोवैज्ञानिक रूपमा राम्रो नहुँदो रहेछ ।’

Dr Ganga pathak

डा. गंगा पाठक

चरिकोटकी घर भएकी तारा खत्रीलाई पनि हरेक दिन सबैलेजस्तै छोराछोरी विद्यालय पु¥याउने चटारो हुन्छ । साढे तीन वर्षे छोरा गोकुल र पाँच वर्षकी छोरी पार्वतीलाई डो¥याएर उनी पनि सुनिताजस्तै हरेक विहान छोराछोरीको झोला बोकेर विद्यालय पुग्छिन् । उनलाई सानैमा छोराछोरी पढाइएन भने पछि पछुताउनुपर्ला कि भन्ने मात्रै थाहा छ । ताराले भनिन्,‘सबैले जन्मिँदै पढ्न पठाउँछन्, हामीले मात्रै नपठाएर के गर्नु ?’ उनलाई वालवालिकालाई कुन उमेरमा विद्यालय पठाउनु उपयुक्त हुन्छ भन्ने नै जानकारि छैन । तारा नेपाली समाजकी प्रतिनिधिपात्र मात्रै हुन । नेसनल इन्स्टिच्युट अफ साइकोलोजीकी प्रमुख, मनोविज्ञ डा गङ्गा पाठक त सुनिता र ताराजस्ता अभिभावक मात्र होइन स्वघोषित विद्वानहरूनै वालवालिकाको भविष्यप्रति उदासिन बन्दै गएको ठोकुवा गर्छिन ।

Gokul

गोकुल

युरोप र अमेरिकी देशहरूमा वालवालिकको उमेर छ वर्ष नपुगी अक्षर चिनाउन र लेखाउन नपाउने शैक्षिक व्यवस्थाको दृष्ठान्त दिँदै मनोविद् डा. पाठकले भनिन्,‘दुई तीन वर्षमै स्कुल मन्टेश्वरी पठाउनु त मनोवैज्ञानिक अपराध नै हो ।’ पाँच छ वर्ष नपुगी वालवालिकाको ‘साइको मोटर’ विकास भैनसकेको हुने हुँदा उनीहरूको आँखा र हातको सन्तुलन (आई हेण्ड कोअर्डिनेशन) हुँदैन । नेपालमा वालअधिकार र वालशिक्षाको अवस्था फितलो भएकै कारण जथाभावी शिक्षामा विशेषगरी सहरिया अभिभावक लागेको मनोविज्ञ पाठकको विश्लेषण छ । यसो गर्नुमा फेसन र सम्भ्रान्तताको पहिचान दिने मनोविज्ञानले प्रेरित गरेको उनको ठम्याई छ । अहिले अन्धाधुन्द खुलेका मन्टेश्वरी र चाइल्ड केयर सेन्टरहरू मापदण्ड विपरित मात्र होइन वैधानिकसम्म नभएकाले शिशु अवस्थाका वालवालिकाको भविश्य झन अन्धकार बन्दै गएकोमा मनोविज्ञ डा. पाठकको चिन्ता छ ।

सुनिता, तारा, भीमजस्ता अभिभावकले एकाविहानै दुई तीन वर्षे वालवालिकालाई भारी बोकेर स्कुल पु¥याउँदाको परिणाम भविश्यमा डरलाग्दो हुने उनको विश्लेषण छ । ‘सानैमा वालवालिकालाई स्कुल नपठाउनेले होइन, पठाउनेले भविश्यमा पछुताउनुपर्ने छ’ डा. पाठकले भनिन्,‘छ वर्ष नपुगि पढाउन हालिएका अधिकांस वालवालिका भविश्यमा समस्यामा पर्छन । उमेर नपुगेरै बोझ दिइयो भने पछि गएर पढाइलाई बोझ सम्झने, स्ट्रेस, डिप्रेसन, पढ्न मन नलाग्नेजस्ता समस्या देखिन्छन् ।’ उमेर भन्दा ठूलो जिम्मेवारीले वालवालिकाको उमेर बढ्दै जाँदा उनीहरूमा आत्मविश्वासको कमी, क्षमतामा ह्रास, हिम्मतिला नहुने, निरास बन्दै जाने समस्या देखिँदै गएको मनोविज्ञ पाठकले बताइन । त्यस्ता तमामौं विद्यार्थी आफूकहाँ मनोपरामर्शका लागि आउने गरेको पनि उनले जानकारी दिइन ।

Tara

सहरिया अभिभावकहरू एकल परिवारमा रमाउन खोज्नु, आधुनिकता प्रर्दशन गर्न खोज्नु र व्यस्तताका कारण वालवालिकाको भविश्यमा नकारात्मक असर पर्दै गएको शिक्षाविद डा. कोइरालाको मतसंग मनोविद डा.पाठकको मत कत्तिपनि बाँझिदैन । यसो हुनुमा शैक्षिक क्षेत्रप्रति सरकारी उदाशिनता र अभिभावको लापरवाही नै प्रमुख कारण भएको डा. पाठकको दावी छ । ‘आधुनिक अभिभावकहरू तोतेबोलीमै वच्चाले अंग्रेजी बोलिदिए दंग पर्छन’ मनोविज्ञ पाठकले भनिन्,‘तर, त्यो बोल्दा बच्चाको मनोविज्ञानमा कति स्ट्रेस परेको छ भन्ने हेक्का राख्दैनन् ।’ तुरुन्तैको नतिजा खोज्ने समाजमा दुरगामी असर डरलाग्दो हुने विश्लेषण मनोविज्ञ पाठकको छ । नेपाली समाजमा खुलेका चाइल्ड केयर सेन्टर, मन्टेश्वरी पनि सैधान्तिक मापदण्ड भन्दा उद्योगको उदेश्यले खुलेकाले वालवालिकाको मनोवैज्ञानिक भविश्य त्यहाँ पनि सुरक्षित नभएको दावी गर्दै डा. पाठकको सुझाव छ,‘जन्मदा जन्मँदै वालवालिकालाई विद्यालय भर्ना गर्ने अभिभावक सचेत हुनुपर्छ, राज्यले पनि कुन उमेरको वालवालिका विद्यालय पढाउने भन्ने मापदण्ड वनाउन जरुरी छ ।’