Please Update Your Browser.

हिउँदे फलफुलका बिरुवा बितरण

biruew-358x300अछाम, ११ फागुन । जिल्ला कृषि विकास कार्यालय अछामले हिउँदे फलफुलका बिरुवा बितरण गरेको छ ।

उन्नत जातका फलफुल खेतीको विकास र विस्तार गर्ने उद्देश्यका साथ जिल्लाभरीका लागि बिभिन्न जातका ५ हजार ६ सय २० हिउँदे फलफुलका बिरुवा ढुवानी अनुदानमा बितरण गरिएको हो । कार्यालय मार्फत गत वर्षहरूझैं यो वर्ष पनि फलफुलका बिरुवा बितरण गरिएको कार्यालयका सूचना अधिकारी तथा बागवानि विकास अधिकृत डम्मर सिंह भाटले जानकारी दिए ।

उनका अनुसार यो वर्ष ओखरका ३ हजार बिरुवा, नासपतिका ७ सय ५०, हलुवाबेद ६०, किवी ६०, आरु ९ सय र खुर्पानीका ९ सय बिरुवा बितरण गरिएको हो । यी बिरुवाहरू मकवानपुर, रामेछाप र बैतडीको सतबाँझबाट ल्याएर जिल्ला कृषि विकास कार्यालय तथा अन्य सेवा केन्द्रहरू मार्फत बितरण गरिएको भाटले बताए ।

फलफुलका बिरुवा उत्पादन गर्नका लागि जिल्लामा नर्सरीको उचित ब्यवस्था कुनै किसानले गर्न नसकेकाले अन्यत्रबाटै ल्याउँनु परिरहेको उनले बताए ।
दर्नामा सुन्तला जातको नर्सरी बाहेक अन्य कुनैपनि ठाउँमा फलफुल नर्सरी स्थापना हुन नसकेको जनाईएको छ ।

यस्तै सोही कार्यालय मार्फत ५० प्रतिशत अनुदानमा कृषकहरूलाई दिनेगरी ५० क्वीन्टल बर्षे आलुको बिउ पनि बितरण कार्य सुरु गरेको छ ।
जिल्लाका अधिकाँश लेकाली भेगहरूमा वर्षे आलु उत्पादनको राम्रो सम्भावना भएकाले खुमल सेतो र डिजिरे जातको आलुको बिउ बितरण भैरहेको सुचना अधिकारी भाटले जानकारी दिए ।