Please Update Your Browser.

‘छिटो निर्णय लिने नेतृत्वको खाँचो’

Uday_shamsher_Rana_257754652
उदय शमशेर राणा,  अध्यक्ष, नेपाल तरुण दल

एक सातापछि सुरु हुने कांग्रेसको तेह्रौँ महाधिवेशनले अहिले काठमाडौँलगायत दशभर सरगर्मी बढाएको छ। पार्टी नेतृत्वका लागि वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौलालगायतले अभियान थालेका छन्। कांग्रेस महाधिवेशन यसपटक पनि नीति तथा कार्यक्रमभन्दा नेता चयनमा केन्द्रित हुने देखिएको छ। यसै सन्दर्भमा युवा नेता एवं तरुण दलका सभापति उदयशमशेर राणासँग महाधिवेशनमा केन्द्रित रहेर गरेको वार्ताः

सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट कांग्रेस नेतृत्व सिफ्ट हुन लागेको हो ?
अहिलेको परिस्थितिमा कोइराला परिवारका तीनजना नेताहरू शशांक, शेखर र सुजाता तीनैजनाले सिरियस रूपमा पार्टी सभापतिमा दाबी गरेको देखिँदैन। शशांक र शेखर दाइले त हामी उठ्दैनौँ भनिसक्नुभएको छ।

अहिले चर्चामा आएको नाम शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिह र कृष्णप्रसाद सिटौलाको हो। यीमध्ये कुनै सभापति बन्छन् भन्ने हामीले अन्दाज गरिसकेका छौँ। त्यसमा पनि अहिले अलिकति अगाडि देउवा नै देखिनुभएको हामीले महसुस गरेका छौँ ।

बाह्रौँ महाधिवेशनमा सुशील कोइराला गिरिजाप्रसाद कोइरालाका स्वाभाविक उत्तराधिकारी थिए । त्यतिबेला सुशील दाप्रति एक किसिमको सहानुभूति पनि थियो। उहाँले कुनै लाभको पद लिनुभएको थिएन।

बीपीको समयदेखि पार्टीमा खटिरहनुभएको छ भन्ने उहाँमा सहानुभूति थियो। यसपटक त्यो सहानुभूति देउवातिर गएको छ। उहाँले पार्टी मिलाउँदा टिमको लागि बार्गेनिङ गर्नुभयो, तर आफ्नो निम्ति केही पनि लिनुभएन।

त्यतिबेला दुई पार्टी मिलिसकेपछि गिरिजाबाबुपछि शेरबहादुर देउवा नै नेतृत्वमा हुने भन्ने आम कार्यकर्ताको दिमागमा थियो, तर सुशील कोइराला निर्वार्चित हुनुभयो । यतिखेर एकपटक शेरबहादुरलाई जिताइदिऊँ भन्ने माहोल देखिएको छ।

अब कांग्रेस नेतृत्व कस्तो हुनुपर्छ ?
गिरिजाप्रसादको समयमा कांग्रेसले बोल्ड र स्पष्ट निर्णयहरू गथ्र्यो । तर बाह्रौँ महाधिवेशनयता कांग्रेस धेरै अल्मलियो । पार्टीभित्र पनि संगठनलाई जुन हिसाबले सञ्चालन गर्नुपर्ने हो, त्यो हामीले गर्न सकेनौँ।

सरकारमा पनि ठूलो पार्टी हुँदाहुँदै बाहिर बस्नुपरेको छ। प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति आदि पदहरू हाम्रो हातमा छैन । यतिखेर हामीलाई जोखिम लिएर निर्णय गर्न सक्ने नेतृत्वको खाँचो छ । त्यसका लागि शेरबहादुर उपयुक्त व्यक्ति हुनुहुन्छ ।

अर्को कुरा उहाँ सबैलाई मिलाउन र समन्वयकारी भूमिका निर्वाह गर्न सक्नु हुन्छ। उहाँ तीन÷तीनपटक प्रधानमन्त्री बन्नुभयो । अप्ठ्यारो परिस्थितिमा पनि सबैसँग मिलेर गठबन्धन सरकार चलाएको अनुभव छ ।

नयाँ संविधान कार्यान्वयन गर्न पनि अन्य दलहरूसँग समन्वय गर्न आवश्यक छ । त्यसका साथै अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्न सक्ने गुण पनि देउवामा छ। उहाँ सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्ष पनि हुनुहुन्छ । यी सबै दृष्टिले हेर्दा देशभित्र र बाहिर पनि उहाँ कांग्रेस नेतृत्वमा पुगे त्यो सजिलो हुनेछ भन्ने धारणा छ ।

कांग्रेसभित्रको संस्थापन र देउवा पक्षको गुट कहिले अन्त्य हुन्छ त ?
देउवाले प्रस्ट भनिसक्नुभएको छ, म सभापति बनेपछि सबैलाई मिलाएर अघि बढ्छु र पार्टीभित्रको गुट अन्त्य गर्छु। उहाँको स्वभाव सबैलाई मिलाएर सन्तुलित बनाएर लैजाने खालको देखिन्छ।

देउवालाई ४० प्रतिशतमा धकेलेको कारण त्यहाँ ६० र ४० को भागबन्डाको कुरा आएर हो । ४० कै बाट उहाँ सभापति बनेपछि त्यसको अन्त्य हुन्छ। अहिले कोइराला पक्षका नेता तथा कार्यकर्ताले संस्थापन भनिरहेका छन् ।

संस्थापन भन्नेबित्तिकै हामी भित्री अरू बाहिरी भनेको हो । त्यसले अहिले पार्टीमा देखिएको संस्थापन र देउवा पक्षको गुट होइन, यो त कोइराला र देउवा पक्षको गुट हो ।

संस्थापन भनेर के भनेको हो, मैले बुझ्न सकिनँ। म संस्थापन हो कि होइन रु म जन्मिँदा कांग्रेस, मेरो बुबा कांग्रेस, त्यसैले म कसरी संस्थापन भइनँ  ?२००७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि मेरो ठूलाबुबाले विनासर्त गोरखा परिषद्लाई नेपाली कांग्रेसमा विलय गराउनुभयो। म कसरी संस्थापनको भइनँ ?

यो के कारणले हो ?
नेतृत्वको कारणले हो। पार्टी नेतृत्व परिवर्तन भए यो मेटिन्छ। पार्टी सभापति देउवा भए यो मेटिएर कांग्रेस एक हुन्छ। देउवाले जिते ४० प्रतिशत त मेटिहाल्यो नि। त्यसपछि त्यो ६० त सय प्रतिशत भइहाल्छ। अनि गुटउपगुट पनि हट्छ।

संस्थापन र देउवाका गुट गाउँसम्म छ, कसरी मेटिन्छ नेतृत्व मात्रै फेरिएर ?
अघिल्लो तुलनामा अहिले गाउँ, क्षेत्र र जिल्ला अधिवेशनमा यो अवस्था निकै कम छ। दुई पक्षकाले एकअर्कालाई सहयोग गरेको जिल्ला(जिल्लामा देखिएको छ। कास्की, पाल्पा, प्युठानलगायतका जिल्लामा हेर्ने हो भने त्यो देखिन्छ। अब मिक्सअप भइसक्यो ।
कांग्रेस नेतृत्वका लागि शेरबहादुर उपयुक्त व्यक्ति हुनुहुन्छ । अर्को कुरा उहाँ सबैलाई मिलाउन र समन्वयकारी भूमिका निर्वाह गर्न सक्नु हुन्छ। उहाँ तीनरतीनपटक प्रधानमन्त्री बन्नुभयो । अप्ठ्यारो परिस्थितिमा पनि सबैसँग मिलेर गठबन्धन सरकार चलाएको अनुभव छ ।

अहिले संस्थापन र देउवा पक्षका चुनावी आँकडा के हुन् ?
अहिले हिसाब उल्टो छ। संस्थापन भनेकाहरू कति देउवातिर लागेका छन् । संस्थापनको यति भनेको हिसाब अहिल्यै मिल्दैन।

नेतृत्वमा देउवा र पौडेलबाहेक आधा दर्जनले दाबी गरेका छन्, त्यो स्वाभाविक हो ?
महामन्त्री भइसकेका प्रकाशमान सिह, कृष्णप्रसाद सिटौलाले दाबी गर्नु अप्राकृतिक होइन। फ्रन्ट रनर त देउवा र पौडेल नै देखिएका छन्।

सभापतिको दाबी गर्ने देउवा र पौडेलका गुणहरू केके हुन्  ?
देउवा बोल्ड र छिटो निर्णय गर्न सक्नुहुन्छ । पौडेल अलि खट्न सक्नुहुन्छ। तर रामचन्द्र दाइ सबैलाई समेटेर राख्न सक्नु हुन्न । देउवासँग धेरै नजिक भएर काम गरेकाले कुनै पनि विषयवस्तुलाई बुझ्न सक्ने र सबैका कुरा सुनेर निर्णय गर्ने क्षमता उहाँसँग रहेको पाउँछु।

महाधिवेशनमा नीति र कार्यक्रममा कहिल्यै बहस हुन सकेन, आखिर कसले बनाउने नीति र कार्यक्रम ?
कांग्रेसमा जहिले पनि व्यक्ति र परिवारकेन्द्रित बहस भइरहेका छन् । जस्तो देउवा राम्रो कि पौडेल राम्रो ? कोइराला परिवारको अब के ? औपचारिक नीति तथा कार्यक्रम हेर्ने हो भने पनि त्यसमा कुनै नेताको फरक दृष्टिकोण देखिँदैन। त्यसलै युवाहरू नेतृत्वमा आए भने बहस हुनेछ। अहिले नेपाल आर्थिक संकटमा फसेको छ। त्यसबाट माथि उठाउन देउवा र पौडेलका एजेन्डाहरू के छन् भन्ने सुन्न चाहन्छु ।

युवा रोजागारको कुरा गर्दा पछिल्लो ६ महिनामा चार लाख युवा बेरोजगार छन्, यो ठूलो समस्या हो । जबसम्म अर्थतन्त्रमा सुधार आउन सक्दैन, युवाहरूलाई जागिर दिलाउन सकिँदैन।

अर्थतन्त्र अघि बढाउन, जीडीपीको वृद्धिदर बढाउन के छन् त एजेन्डा भन्नेबारेमा पार्टीभित्र बहस हुनुपर्छ। अमेरिकामा राष्ट्रपतिका लागि प्राथमिक चुनाव भइरहेको छ । त्यहाँ सबैका आआफ्ना एजेन्डाहरू छन्।

अर्थमन्त्री बनेका एकदुईजना नेताले मात्रै कांग्रेसको अर्थतन्त्र नीति बनाउने परम्परा तोड्नुपर्छ। अब यसमा बहस हुन्छ भन्ने आशा छैन र हुँदैन पनि। तर आगामी महाधिवेशनमा यी एजेन्डामा बहस भएर नेतृत्व चयन हुनुपर्छ।

नेतृत्व र नेता चयन एउटै फोरममा हुने हुँदा नेतृत्व छान्नतिर मात्रै केन्द्रित भएको जस्तो देखियो, यसमा सुधार गर्न सकिँदैनर ?
त्यसका लागि पहिला क्रियाशील सदस्यतामा सुधार गर्नुपर्छ। आफैँले पैसा हालेर क्रियाशील सदस्य वितरण गरिन्छ, त्यो रोकिनुपर्छ। जिल्ला अधिवेशनहरू केन्द्रीय महाधिवेशनको एक वर्षपछि हुनुपर्छ।

यो हुन सक्यो भने नीति र कार्यक्रम महाधिवेशन केन्द्रित पनि हुन सक्छ। तर नेपालमा पार्टीहरूमा जुन किसिमको अधिवेशन हुन्छ, त्यो लोकतान्त्रिक छ । गाउँदेखि केन्द्रसम्म चुनाव हुन्छ र प्रतिनिधि चुनिएर आउँछन्।

यो भारत, पाकिस्तानलगायतका मुलुकमा हुँदैन। त्यसैले यो राम्रो र अलि व्यवस्थित हुनुपर्छ। अहिले महाधिवेशनमा नीतिमा भन्दा पनि मसल्स र मनीमा बढी चलखेल हुन थालेको पाइन्छ।

कांग्रेसलाई मासबेस पार्टी भनिन्छ तर त्यसको सदस्य बन्न धेरै ढोकाहरू पार गरेर आउनुपर्छ, यो अमिल्दो भएन ?
सदस्यता त अझै नियन्त्रित हुनुपर्छ । साधारण सदस्यता खुला छ, सबैजना ५ या १० रुपैयाँ तिरेर सदस्य बन्न सक्छन्। तर क्रियाशील सदस्यतामा केही नियन्त्रण त हुनुपर्छ। तर पनि कांग्रेस मासबेस पार्टी हो । तरुण दल क्याडरबेस हो । किनभने तरुण दलको सदस्यता फिल्टर हुन्छ। अन्नपूर्णबाट