Please Update Your Browser.

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २३ मध्ये १४ जनाको सनाखत

काठमाडौं, १४ फाल्गुन । म्याग्दीको दानास्थित सोलीघोप्टे भीरमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २३ मध्ये १४ जनाको सनाखत भएको छ । पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउतसहितको सनाखत भएको हो ।

सनाखत भएमध्ये नाबालिकासहित ३ जनाको शव घटनास्थलबाटै मुस्ताङ लगिएको छ । कृष्णलाल भट्टचन, मुस्ताङकै विनीता भट्टचन र उनकी २ महिने छोरीको शव मुस्ताङ पठाइएको प्रहरीले जनाएको छ । उनीहरूको मुस्ताङमै पोस्टमार्टम गरिनेछ । कृष्णलालको पोस्टमार्टम बिहीबारै सकिएको र अन्य २ को शुक्रबार भएर शव आफन्तको जिम्मा लगाइने वरिष्ठ प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले बताए ।

सनाखत भएका अन्यमा कुवेती नागरिक रालरसिद अहमद, मुस्ताङ प्रशासनका नासु रेवतीप्रसाद बराल, मुस्ताङका कमला थकाली र उनको ६ महिनाको छोरा, बागलुङ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङका सहलेखापाल बालकृष्ण निउरे, नेपाली सेनाका जवान राजकुमार तामाङ, डोल्मा छिरिङ शेर्पा र स्याङ्जा बिचारीचौताराका मोतीबहादुर केसीको शव पहिचान भएको हो ।

sok

पोखरेलका अनुसार पाइलट मानन्धर, को–पाइलट नेमकुल, एयर होस्टेज राउत र डोल्मा छिरिङलगायत ४ जनाको शव काठमाडौं पठाइएको छ । क्षेत्रीय अस्पतालमा ल्याएपछि पहिचान भएका शवको पोस्टमार्टम भइसकेको छ । निउरेको शव पनि आफन्तले बुझेर बागलुङ लगेका छन् । ‘पहिचान नभएका ९ शवको डीएनए परीक्षणका लागि शुक्रबार काठमाडौं पठाउने छौं,’ निमित्त डीआईजीसमेत रहेका पोखरेलले भने ।

दुर्घटनामा चालक दलका ३ सहित २३ ले ज्यान गुमाएका थिए । सनाखत हुन नसकेका शवहरू क्षतविक्षत छन् । सग्लो शरीर नभएको, डढेको र टुक्राहरू भएकाले सनाखत हुन नसकेको हो । कपडा, गहना र शरीरमा भएका खतलगायतले आफन्तले शवको पहिचान गरेका थिए ।

मानन्धर, विनीता, उनकी छोरी र कृष्णलालको शवमात्रै सजिलै चिन्न सकिने अवस्थामा थिए । अन्यको भने अधिकांश शरीर जलेर कालै बनेको थियो । ३ वटा शव भने टुक्रैटुक्रा थिए ।

दिउँसो शव ल्याउने बेला पोखरा विमानस्थल र पछि क्षेत्रीय अस्पतालमा आफन्त तथा सर्वसाधारणको घुइँचो लागेको थियो । दुवै ठाउँमा रुवाबासीसमेत चलेको थियो । शव पहिचान नहुनेमा चिनियाँ नागरिक माक सिउ यिङ, पोखराका मुक्तिनाथ बाँस्तोला, मुस्ताङकी दिलकुमारी गौचनलगायत ९ जना छन् ।

बुधबार घटनास्थल पुगेका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणले बिहीबार बिहान सबै शव संकलन गरेका थिए । शव एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा ल्याइएको हो ।

मुक्तिनाथ तीर्थ हिंडेका दम्पती पनि परे
उनी कुलपूजाका लागि विदेशबाट घर फिरेका थिए । यही मेसोमा श्रीमतीसँग घुम्ने योजना बन्यो । २४ वर्षीया श्रीमती पवित्रालाई लिएर स्याङ्जा बिचारीचौतारा ७ का ३२ वर्षीय मोतीबहादुर केसी मुक्तिनाथ दर्शनका लागि बुधबार बिहानै जहाज चढे ।

बुधबार दुर्घटनामा परेको तारा एयरको जहाज चढ्नुभन्दा २० मिनेट अघिमात्रै घरमा रहेका बाबुलाई फोन गरे । तर उठेन । आमालाई फोन गरी आफूहरू मुस्ताङ जान जहाज चढ्न लागेको जानकारी गराउँदै भने, ‘उताबाट फर्केर आएपछि भेटौंला ।’

तर आमा टुल्कादेवीका लागि जेठो छोरासँग त्यही नै अन्तिम संवाद बन्यो । छिटै फर्केर आउँछु भनेका छोराबुहारी कहिल्यै नफर्किने गरी उडेर गएका रहेछन् । घटना सुनेदेखि उनी मूच्र्छित छिन् ।

मोती वैदेशिक रोजगारका क्रममा १८ महिनादेखि आबुधाबीमा थिए । फागुन ३ गते घरमा कुलपूजा थियो । त्यसैका लागि उनी माघ २५ गते नेपाल आए । पोखराको बिरौटामा कोठामा बस्दै आएकी श्रीमती पवित्रालाई लिएर उनी २७ गते घर पुगे । १ साता बसे । पूजा सकिएपछि उनी फेरि पोखरै फर्के ।

मोती र पवित्राबीच ३ वर्ष अघिमात्रै बिहे भएको थियो । स्नातक उत्तीर्ण भएकाले पवित्राको पोखराकै एक बैंकमा जागिरका लागि कुराकानी भइरहेको थियो । ‘स्नातक तहका प्रमाणपत्र छिटै लिन भनेको थिएँ । काठमाडौं गएर ल्याउने कुरा पनि भएको थियो,’ मोतीका बाबु डिलबहादुरले भने, ‘तर दैवका अगाडि कसैको केही लाग्दो रहेनछ । एकैसाथ छोराबुहारी गुमाउनुपर्‍यो । यस्तो चोट कसैलाई नपरोस् ।’

जहाज दुर्घटनामा परेपछि स्याङ्जा क्षेत्र १ का कांग्रेस क्षेत्रीय सभापति तुलसीराम रेग्मीले डिलबहादुरलाई टेलिफोन गरी घटनाबारे जानकारी गराएका थिए । तत्कालै छोराको मोबाइलमा सम्पर्क गर्दा स्विच अफ थियो । डिलबहादुरका माइला छोरा कतारमा छन् भने कान्छा छोरा नेपाल प्रहरीमा कार्यरत छन् ।

अधिकृत हुने धोको पूरा हुन पाएन
बागलुङको पाला ८ का २७ वर्षीय बालकृष्ण निउरे पढाइमा अब्बल थिए । एमएससी उत्तीर्ण उनी कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङमा सहलेखापाल भए । उनी पोखरामा बसेर अधिकृत तहको परीक्षाको तयारी गर्दै थिए । बुधबार कार्यालय हिँडेका उनी जहाज दुर्घटनासँगै अस्ताए ।

‘छिटै अधिकृत हुने थिए,’ आफन्त हेमराज गौतमले भने, ‘अब त्यो अधुरै रह्यो ।’ बालकृष्ण ५ दिदीबहिनीका एक्ला भाइ थिए ।