Please Update Your Browser.

‘सेज’ सञ्चालन गर्न कार्यविधि परिमार्जन

भैरहवा १४ फाल्गुन । उद्घाटन भएर पनि लामो समय ठप्प यहाँस्थित विशेष आर्थिक क्षेत्र ‘सेज’ शीघ्र सञ्चालनका लागि पुरानो कार्यविधि परिमार्जन तयारी गरिएको छ ।

करिब डेढ वर्ष अघिको पुरानो कार्यविधिमा सेज क्षेत्रमा उद्योग स्थापना गर्न चाहने व्यवसायीले भाडा अत्यन्त महँगो, उद्योग स्थापनाका लागि न्यूनतम चुक्ता पुँजी धेरै तोकिएको र स्थापना निश्चित गरिएका उद्योगको प्रकृतिका कारण उद्योग सञ्चालन गर्न उद्योगी आकर्षित नभएपछि कार्यविधि संशोधन आवश्यक देखिएको थियो ।

‘सेज’मा उद्योग सञ्चालन गर्नका लागि २ पटकसम्म आहवान गर्दा पनि न्यून संख्यामा उद्योगीको निवेदन परेको छ । उद्योगी किन आकर्षित भएनन् भन्नेबारे बुझ्न एउटा समिति गठन भएको थियो । ‘उक्त समितिले मौजुदा सेजको कार्यविधि परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्यायो,’ सेजका इन्जिनियर लक्ष्मण भट्टराईले भने, ‘संशोधन भएर नयाँ कार्यविधि अति चाँडै आउँदै छ ।’ संशोधित नयाँ कार्यविधि फागुन महिनाभित्र जारी हुने र त्यसमा उल्लेख गरिएका कुरालाई समेटेर नयाँ ऐन पनि चाँडै आउने तयारीमा रहेको उनले जनाए ।

sej

उनका अनुसार संशोधित नयाँ कार्यविधि आएपछि चालू आर्थिक वर्षभित्र सेजमा उद्योगीलाई आहवान गरेर उद्योग स्थापनाका लागि स्वीकृति दिने लक्ष्य छ । सेजमा उद्योग सञ्चालनका लागि तोकिएको जग्गाको भाडा अति न्यूनतम कायम गरेर संशोधन गरिँदै छ । भने उद्योग स्थापना गर्दा चाहिने चुक्ता पुँजी पनि घटाएर संशोधन गरिने छ ।

जसबाट साना उद्योगीमा पनि सेजमा उद्योग सञ्चालन गर्न आउने हिम्मत र आँट हुने छ । त्यहाँ सञ्चालन गर्न पाइने भनेर पहिला किटान गरिएका १७ प्रकृतिका उद्योगको सट्टामा अब सञ्चालन गर्न पाइने र नपाइने खालका उद्योगको प्रकृति छुट्याएर सञ्चालन गर्न पाइने उद्योगको हकमा १७ वटामा मात्र सीमित नगरी सबैलाई स्वीकृति दिने गरी कार्यविधि संशोधन हुँदै छ ।

भाडा दर घटाएर कार्यविधि आएमा उद्योगी आकर्षित हुने सिद्धार्थनगर उद्योग वाणिज्य संघ अध्यक्ष रामकुमार शर्माले बताए । ‘पहिला तोकिएको भाडा दर निकै महँगो भएकाले उद्योगी सेजमा जान चाहेका थिएनन्,’ शर्माले भने, ‘सेज सफल रूपमा सञ्चालनका लागि त्यहाँ आउने नियम र ऐन उद्योगीलाई अनुकूल हुने खालको बन्न जरुरी छ ।’ पहिला सेजमा उद्योग सञ्चालनका लागि छुट्याइएको जमिनको भाडा प्रतिवर्गमिटर १ सय ५० रुपैयाँ कायम गरिएको थियो ।

न्यूनतम १ हजार ७ सयदेखि ३ हजार ७ सय वर्ग मिटरका ६३ वटा जमिनका प्लट उद्योग स्थापनाका लागि छुट्याइएको छ ।

प्रतिमहिना २ लाख ५५ हजारदेखि ५ लाख ५५ हजार रुपैयाँका दरले तिनुपर्ने भाडा दरलाई उद्योगीले महँगो मान्दै बरु १ करोड रुपैयाँमा १ बिघा जमिन आफैंले खरिद गरेर उद्योग सञ्चालन गरेमा ३ वर्षमा जग्गाको स्वामित्व आफ्नै हुने भन्दै उद्योगीको आकर्षण सेजप्रति थिएन ।

स्रोतका अनुसार पहिलाको भाडा दर घटाएर प्रतिवर्गमिटर २५ देखि ३५ रुपैयाँको आसपासमा कायम रहने गरी भाडा दर तोकिएको छ । रोजगार धेरै दिन सक्ने र विदेशी पुँजी भित्र्याउन सक्ने निर्यातजन्य उद्योगलाई प्राथमिकता दिने गरी सरकारले भैरहवामा नमुना विशेष आर्थिक क्षेत्रका रूपमा काम अगाडि बढाएको हो ।

५५ बिघा क्षेत्रफलमा फैलिएको भैरहवाको सेजको भौतिक पूर्वाधारका कार्य ९५ प्रतिशतभन्दा धेरै सम्पन्न भइसकेको छ । १६ महिनाअघि तत्कालीन गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले यो सेजको उद्घाटनसमेत गरिसकेका हुन् ।