Please Update Your Browser.

उपेन्द्र यादवले समानुपातिक समावेशीको सिद्धान्त नै छोडे

रिजवान अन्सारी

नेपाल एक बहुजातीय, बहुराष्ट्रिय, बहुभाषिक, बहुसांंस्कृतिक र बहुधार्मिक मुलुक हो । राज्यले आदिवासी–जनजाति, मधेशी, दलित (शिल्पी), थारु, महिला, मुस्लिम, पिछडावर्ग, खस समुदाय लगायत सवै जातजाति, भाषाभाषी, धर्म संस्कृकिो सम्मान गर्नुको सट्टा उनीहरुहरुमाथि राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक अन्याय र उत्पीडन गर्दै आइरहेको हो । अग्रगामी परिवर्तनका लागि नयाँ बैकल्पिक राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरी संघीय समाजवादी पार्टी नेपालको स्थापना भएको थियो । र, यही महान् उद्देश्यसाथ एकीकरण अभियानद्वारा ‘संघीय समाजवादी फोरम नेपाल’ को उदय भएको हो ।संघीय समाजवादी पार्टीको स्थापनाको पृष्ठभूमि नै उत्पीडन र बहिष्करणमा परेका जाति, समुदाय र राष्ट्रियताहरुको पहिचान र अधिकार स्थापित गराउनु रहेको थियो । यस महान् उद्देश्यका साथ संघीय समाजवादी पार्टीको नामले नयाँ खालको बैकल्पिक राष्ट्रिय शक्ति निर्माणमा जुटेका तत्कालीन समयका संघर्षशील नेताहरु दुईवटा कुरामा केन्द्रित थिए।

पहिलाे, सवै जातजाति, वर्ग, समुदाय र क्षेत्रका मुद्दाहरु समेटिने पार्टीको निर्माण र दाेस्राे, पार्टीको तलदेखि माथिल्लो निकायमा सवै जातजाति, वर्ग, समुदाय र क्षेत्रको समानुपातिक नेतृत्वको प्रत्याभूति । र, यही पृष्ठभूमिमा वर्षाैंदेखिको राजनीतिक लगानी त्यागेर नेताहरुले यो बैकल्पिक राजनीतिक शक्ति ‘संघीय समाजवादी पार्टी’ को निर्माण गरेका थिए ।

संघीय समाजवादी पार्टीले आफ्नो अभियान मुताबिक एकताको बाटोलाई खुला राख्यो । एकता अभियान मुताबिक नै संघीय समाजवादी पार्टी, मेधेशी जनअधिकार फोरम नेपाल र खस राष्ट्रिय समावेशी पार्टीबीच एकीकरण सम्भव भई उपेन्द्र यादवको नेतृत्वमा ‘संघीय समाजवादी फोरम नेपाल’ को नामले एकता हुन गयो ।

एकीकरणको नाममा बिचलनको शुरुआत भयो । समानुपातिक समावेशीताको आधारभूत मूल्य–मान्यता बोेकेको पार्टीले एकीकरण गर्ने समयमा समानुपातिक समावेशीको सिद्धान्त नै छोडिदियो । एकीकरण अभियानमा झन् समावेशीताको मलजल हुनुका सट्टा संगठन नै तहसनहस हुने गरी संरचना बन्यो । पार्टीमा केही नेताहरुको व्यक्तिवादी सोचले पार्टीलाई आफ्नो विचारबाट बिमुख गरायो । एकीकरणको नाममा संघीय समाजवादीको विधानमा रहेको समानुपातिक समावेशीको नीतिलाई अस्वीकृत गरिदियो । केही नेताहरुको स्वार्थी चरित्रले उत्पीडित जनताको समानुपातिक समावेशिताको हकलाई नै कुण्ठित पार्ने षडयन्त्रले हामी सच्चा जनताका सिपाहीहरुलाई मर्माहत तुल्याउनु स्वभाविक बन्यो ।

पूर्ण समानुपातिक चरित्रको एक मात्र पार्टीको संज्ञा पाउन थालेको पार्टीमा आएको यस बिचलनले जनताले अपेक्षा गरेको समानुपातिक चरित्र भएको नयाँ खालको राष्ट्रिय पार्टीको निर्माण हुन नसक्ने हाम्रो ठहर छ । यसरी कसरी नयाँ खालको बैकल्पिक राजनीतिक शक्तिको निर्माण हुने आशा गर्न सकिन्छ ? हामीले विरोध गर्यौं, फरक मत दर्ज गरायौं तर अन्तरपार्टी लोकतन्त्रको बैधानिक अधिकारलाई प्रयोग गर्न नदिई नेतृत्वले निरंकुश, स्वेच्छाचारी र गैरबैधानिक चरित्र प्रदर्शन गर्यो । यसले लोकतान्त्रिक मूल्य–मान्यतालाई समेत धज्जी उडाउँदै नेतृत्वले नै एउटा अग्रपंक्तिको क्रान्तिकारी शक्ति बन्ने सपना बोेकेको पार्टीलाई परम्परागत तथा यास्थितिवादी पार्टीको रुपमा परिणत गरिदिएको छ ।

आम नेपाली जनता जो हिजो उत्पीडन, दमन र शोषण सहँदै आएका थिए, आज सवै तह र निकायमा समानुपातिक समावेशीता र विशेषाधिकारको माग गरिरहेको बेला क्रान्तिकारी पूर्ण समानुपातिक समावेशी चरित्र भएको नयाँ खालको पार्टी निर्माणको बाटो छोडेर यथास्तिवादी पूरानै खालको एक थान पार्टी बनाउने नेतृत्वको नीयतिले हामीलाई सशंकित पारेको छ । हामी, अग्रगामी नयाँ खालको राजनीतिक शक्तिको निर्माणको पक्षका भएका असन्तुष्ट साथीहरुले पार्टीमा भइरहेको यस दुष्चक्रबारे सचेत गराई नेतृत्वलाई सच्याउने सुझाव दिन चाहन्छौं ।

यस पाराले पार्टीका केही नेताविशेषको स्वार्थीसिद्धि हुने भएपनि सिंगो पार्टी चाहिँ विसर्जनको स्थितिमा पुग्ने पक्कापक्की छ । यसरी उत्पीडनमा परेका नेपाली जनताको चाहनालाई सम्बोधन नगरेपछि जनता यस पार्टीबाट टाढिंदै जाने निश्चित प्रायः छ ।