Please Update Your Browser.

भौतिक पूर्वाधारमा पाँचथर प्रहरीको प्रगति

लेखनाथ खतिवडा/कोसेली,
  पाँचथर, ७ साउन । स्थानीय प्रशासन तथा प्रहरीका उच्च अधिकृतहरूसँग जिल्लावासीको मूख्य माग प्रहरी चौकी स्थापना तथा जनशक्ति थप थप्ने रहँदै आएको छ ।

जिल्लाका केही गाविसमा प्रहरी चौकी स्थापना हुन नसकेको, प्रहरी चौकीहरू, अस्थायी प्रहरी चौकी र प्रहरी विटमा जनशक्ति कम भएको लगायतका गुनासा सुनिने गरेको पाँचथरमा प्रहरीका लागि भौतिक पूर्वाधारको भने व्यवस्था हुन सकेको छैन् ।

स्थानीयले जग्गा उपलब्ध गराउने तथा घर बनाइदिनेसम्मका प्रस्ताव राखेपनि प्रहरीले जनशक्तिकैकारण नयाँ चौकी स्थापना गर्न सकेको छैन् । तर, स्थापित प्रहरी कार्यालयलाई व्यवस्थित गर्ने काम भने गत आर्थिक बर्षबाट पाँचथरमा सुरु भएको छ । यस क्रममा गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरी चौकीहरू सम्म गरेर १४ स्थानमा निर्माण, विस्तार र मर्मतका काम भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

गत आ.ब.मा पाँचथर प्रहरीले ४ कोठे अधिकृत आवास गृह निर्माण गरेको छ । प्रहरी प्रधान कार्यालयको ५ लाख रुपैँया बजेटमा अन्य जिन्सी सामाग्रीको सहयोग संकलन गरी १८ लाख रुपैँयाको लागतमा उक्त भवन बनेको हो । जिल्ला प्रहरी कार्यालयको पक्की भवन समेत निर्माणाधिन छ ।

जनस्तरबाट संकलित रकम र गाविसबाट प्राप्त बजेटबाट साढे ५ लाख रुपैँयाको लागतमा चरीभञ्ज्याङ प्रहरी चौकीको ४ कोठे भवन गत आ.ब.मा निर्माण सम्पन्न गरिएको छ । यस्तै सीमा प्रहरी चौकी च्याङथापु समेत निर्माणाधिन छ । प्रहरी प्रधान कार्यालयको १० लाख रुपैँया सहयोग तथा गाविसको कार्यालय र स्थानीयको सहयोगमा ३३ लाख रुपैँयाको लागतमा ५ कोठे पक्की भवन निर्माण भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

स्थानीयको सहयोगमा २ लाख रुपैँयाको लागतमा इलाका प्रहरी चौकी खान्द्रुङ लिम्बाको भवन पुनर्निर्माण, ६० हजार रुपैँयाको लागतमा राँके प्रहरी चौकीको मर्मत, जिप्रकामा ८० हजार लागतमा अस्थायी व्यारेक निर्माण गरिएको पाँचथर प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।

यस्तै प्रहरी चौकी फाक्तेपमा २ लाख रुपैँयाको, इलाका प्रहरी कार्यालय यासोकमा २ लाख २५ हजार रुपैँयाको, अस्थायी प्रहरी चौकी तमाखे रानीटारमा २ लाख ५० हजार रुपैँयाको, अस्थायी प्रहरी चौकी नांगीनमा डेढ लाख रुपैँया बराबरको मर्मत तथा पुनर्निर्माणको काम सम्पन्न गरिएको छ । यसका अतिरिक्त अस्थायी प्रहरी चौकी गणेशचोक नागी र प्रहरी चौकी थर्पूमा भौतिक सामाग्री स्थानीयको सहयोगमा खरिद गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयले प्रहरी चौकीको आवश्यकता महसुस गर्नुका अतिरिक्त प्रहरीको सहज उपस्थितिका लागि भौतिक पूर्वाधारमा समेत ध्यान पु¥याउन थाल्नु महत्वपूर्ण रहेको प्रनाउ कोइरालाले बताए ।

जिल्लामा प्रहरीको आवश्यकता ठानेर प्रहरी चौकी स्थापनाको माग जिल्लाभरी नै रहेपनि जनशक्तिको अभावका कारण प्रहरी चौकी स्थापना हुन सकिरहेका छैनन् ।