Please Update Your Browser.

जनताको आदेशबाट नै क्रान्तिको बाटो रोजेका हौंः सचिवालय सदस्य, शिव सुन्दर शाही, कम्युनिष्ट न्यूक्लियस नेपाल

कम्युनिष्ट न्यूक्लियस नेपाल के हो ? पार्टी हो की सञ्जाल ?

कम्युनिष्ट न्यूक्लियस नेपाल नेपालका वामपन्थी, प्रगतीशिल, देशभक्त, श्रमजीवी, सर्वहारा जनताको पार्टी हो । यसले नेपाली जनताको आधारभूत मूल्य र मानयतालाई स्थापना गर्न चाहान्छ । र वर्गको अन्त्य गरेर वर्गविहीन राज्यको स्थापना गर्न चाहान्छ । वर्गविहीन राज्यको टार्गेटमा रहेको वैज्ञानिक समाजवाद हो । खासगरि अहिलेको सन्दर्भमा दलाल पूँजीवादी राज्यसत्ताको बिरुद्धमा समग्र जनयुद्धको नीति अख्तियारी गर्नुका साथै आदतको सत्ताका बिरुद्ध सर्वहारा सांस्कृतिक क्रान्तिलाई मुर्तता दिने यसको मुख्य उद्देश्य हो ।

New Image
शिव सुन्दर शाही ‘विमर्श’

आदतको सत्ता भन्नाले के बुझ्ने ?

आदत भनेको नेपाली बुझाईमा बानी, व्यहोरा र लत भन्ने बुझिन्छ । दार्शनिक रुपमा यसको अर्थ कल्चर अर्थात संस्कृति हो । यसलाई युद्धमार्फत परिवर्तन गर्नुपर्छ भन्ने मान्यता हो ।

चीनमा माओत्सेतुङ्ले १९६६ देखि ०७६ सम्म सांस्कृतिक क्रान्ति गर्नु भो । त्यसैको निरन्तरता नेपालमा पनि दिन खोजेका हौं । १९४९ मा क्रान्ति सम्पन्न गरिसकेपछि उहाँ सैद्धान्तिक विकासमा लागेकाकारण बीचमा अल्झिनु भो । सांस्कृतिक क्रान्ति अगाडी बढाउन सक्नु भएन । पछि क्रान्ति सम्पन्न भइसकेपछि पुरानो सत्ताका अवशेष बाँकी रहिरहने हुन्छन् । त्यसलाई अन्त्य नगर्दासम्म अर्थात राज्यको उपरिसंरचना क्रान्तिकारीहरूको हातमा नआउँदासम्म त्यहाँ सर्वहारा वर्गले बारम्बार धोका खाने अवस्था भएकाले पनि सर्वहारा सांस्कृतिक क्रान्ति गर्नु अनिवार्य हुन्छ । त्यसैले पनि उहाँले १० वर्षे सांस्कृतिक क्रान्ति गर्नु भएको थियो । नेपालकै सन्दर्भमा पनि मालेले हतियार उठायो । तर क्रान्ति सम्पन्न गर्नै सकेन । त्यसको कारण भनेको पुरानो सत्ताका अवशेषहरूलाई मार्न नसक्नु थियो । माओवादीले पनि हतियार उठायो । त्यसले पनि पुरानो सत्ताका अवशेषहरूलाई मार्न सकेन । त्यसकारण के कुरा बुझ्न जरुरी छ भने मान्छे बिरामी भएर पूर्ण रुपमा निको हुनका लागि त रोगका सबै किटाणु नष्ट गर्नुपर्ने हुन्छ । तबमात्रै मान्छे पूर्ण रुपमा स्वस्थ हुनसक्छ । त्यसैले क्रान्तिलाई अन्तिम विन्दुमा पुर्याउँन अर्थात सर्वहारा अधिनायत्व कायम राख्नका लागि आदतको सत्ता नष्ट गर्न सर्वहारा सांस्कृतिक क्रान्ति अनिवार्य हुन्छ ।

परिवर्तनको लागि भन्दै माओवादी सशस्त्र युद्धमा सामेल हुने त तपाई पनि हो । त्यसले परिवर्तन गर्न किन सकेनँ र फेरी नयाँ बाटो रोज्नु भो ? यो जनता झुक्याउने खेल भएन र ?

सबै क्रान्ति विजयमा पुग्न सक्छ भन्ने होइन । विश्वमा भएका सबै क्रान्तिका अभ्यासलाई हेर्ने हो भने विजय र पराजयको भोगाईबाट नेपाली क्रान्ति पनि अछुतो छैन । क्रान्तिकारी लिडरहरूमा हावी भएको संसोधनवादी चिन्तन, पलायनवादी चिन्तन र आत्मकेन्द्रित सुरक्षावाद नै त्यसका कारण हुन् ।

१९७५ मा विश्वको सानो गरिव देश भियतनामले अमेरिकालाई हरायो । १९७६ मा माओत्सेतुङ्को निधनपछि विश्वमा समाजवादको निकट पुगेका देशहरू पनि पराजयको अवस्थामा पुगे । यसको कारण भनेको नेताहरूको पलायनवादी अर्थात आत्मसुरक्षावादी चिन्तन र विश्वमा कम्युनिष्टहरूको आत्मगत, सैद्धान्तिक र व्यवहारिक कमजोरी नै हो । यसबारे वहसको उठान नेपालबाट हुनुपर्छ भन्ने सोचेर यो पार्टीको स्थापना गरेका हौं । र नेपालकै सन्दर्भमा पनि क्रान्ति र प्रतिक्रान्तिको खेल पार्टीभित्रैबाट सुरु भयो । क्रान्तिकारीहरू कित पूर्ण रुपमा सक्किने की विजय हुने वैज्ञानिक नियम हो । तर नेपालको सन्दर्भमा क्रान्तिकारी पार्टीको नेतृत्वबाटै प्रतिक्रान्ति भएकाले यसलाई निशेष गरि क्रान्तिकारी गति दिन हामी अग्रसर भएका हौं । यसमा जनता झुक्किने कुरै छैन ।

पार्टी स्थापना भएको कति भयो ? पार्टीको नेतृत्व कसले गरिरहनु भएको छ ?

नेपालमा कम्युनिष्ट पार्टी स्थापना वि.स. २००६ मा भएको भनिरहनु पर्दैन । कम्युनिष्ट पार्टी स्थापना भएसँगै हामी माक्र्सवाद, लेनिनवाद, माओवाद र नेपाली कम्युनिष्ट आन्दोलनप्रति प्रतिवद्ध हुने भएकैकारण हाम्रो इतिहास पुरानो हुने नै भो । र अब अहिले कम्युनिष्ट न्यूक्लियस नेपाल स्थापना गर्नुको उद्देश्य भनेको विश्व लगायत नेपालका छरिएका कम्युनिष्ट क्रान्तिकारीहरूलाई एकतावद्ध गर्दै मालेमावादको रक्षा र विकास गर्ने र सर्वहारा मजदुर वर्गको अधिनायकत्व स्थापना गर्न यो पार्टी घोषणा गरेका हौं । जसको नेतृत्व हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले गरिरहनु भएको छ ।

पार्टी निर्वाचन आयोगमै दर्ता गर्नु भा छ ?

नामाकरण सहित पार्टी घोषणा गरेको चाँही २०७३ चैत २० गते हो । मध्यपश्चिको दाङ् जिल्लामा सम्पन्न कम्युनिष्ट क्रान्तिकारीहरूको भेलाबाट १० बुँदे दाङ् घोषणा पत्र जारी गर्दै औपचारिक रुपमा पार्टी घोषणा गरेका हौं । त्यसपछि लेनिन् जयन्तीको अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्यौं भने लगातार देशभरका बुद्धिजीवी, वामपन्थी, देशभक्त, प्रगतिशिल, क्रान्तिकारीहरूसँग छलफल अन्तरक्रिया गर्दै अगाडी बढिरहेका छौं ।

सत्ता परिवर्तनको लागि समग्र जनयुद्ध गर्ने । समग्र जनयुद्ध भनेको वल प्रयोगको सिद्धान्तबाट अगाडी बढ्छ । बल प्रयोगको सिद्धान्तले राज्यसत्तालाई कब्जा गर्छ । राज्यसत्ता कब्जा गर्दा पार्टी दर्ता गर्नुपर्दैन । अनिवार्य पार्टी सत्तामा आउँछ । पुरानो सत्ताको लोप हुन्छ र नयाँ सत्ताको जन्म हुन्छ । जुन वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्छ ।

कम्युनिष्ट न्यूक्लियस नेपाल गठन गर्दा तपाईहरू आवद्ध माओवादी पार्टी छोडेर आउनु भा हो ?

कम्युनिष्ट न्यूक्लियस नेपालमा आवद्ध सबै सदस्यहरू माओवादी पार्टीकै सदस्य हुन् । तर हामीले माओवादी त छोड्यौं, जुन प्रचण्ड, बाबुरामले नेतृत्व गर्नुभएको थियो । तर मालेमावाद छोडेका छैनौं । नेपाली क्रान्ति छोडेका छैनौं र नेपाली सर्वहारा वर्गको अधिनायकत्व छोडेका छैनौं । हाम्रो लडाई यहिँनेर हो । उहाँहरूले नयाँ जनवादी क्रान्तिको कुरा त गर्नुहुन्छ तर नयाँ जनवादी क्रान्तिको लक्ष्यमा पुग्ने चाहाना राख्नुहुन्न । अनि वैज्ञानिक समाजवादको कुरा पटक्कै सुन्नुहुन्न । समाजवादको कुरा त गर्नुहुन्छ तर त्यो काल्पनिक समाजवाद मात्रै हो ।

किरण र विप्लवले पनि नयाँ समाजवादको कुरा उठाइराख्नु भा छ । त्यसमा पनि त अटाउन सक्नुहुन्थ्यो ?

किरण र विप्लवले उठाइरहनु भएको कुरा सैद्धान्तिक रुपमा नकार्न सकिन्न । तर उहाँहरूले सिद्धान्त, कार्यदिशा, कार्यनीतिको कुरा अख्तियारी गर्नुभाछ त्यसमा अलिकति तलमाथि त हुन्छ नै । किरणले जनयुद्धको जगमा जनविद्रोहको लाइन त ल्याउनु भा छ तर जनयुद्धको जगमा जनविद्रोह भनिसकेपछि त्यसलाई मूर्त गर्ने ठोस नीति नै भएन । उता विप्लवको एकिकृत जनक्रान्तिको कुरालाई सिद्धान्त भन्ने कि कार्यदिशा ? भन्नेमा अलि बेमेल छ । सरसर्ती हेर्दा सिद्धान्त पनि भन्न मिल्ने तर कार्यदिशाको रुपमा हेर्दा बेमेल जस्तो देखिन्छ । त्यसो हुँदा अहिलेको नेपालको वस्तुगत अवस्थासँग विकास गर्दै लैजाँदा त्यसले भोलीका दिनमा एउटा क्रान्तिकारी परिणाम त दिन्छ तर त्यसको लागि वस्तुवादी र क्रान्तिकारी छलफल र वहस चाहिन्छ । त्यसका नकारात्मक पक्ष्यलाई अन्त्य गरेर सकारात्मक पक्ष्यलाई विकास गरेर लैजानु पर्छ । त्यसमा उहाँहरू दुबै जना सहमत हुनुहुन्छ । त्यही भएर विप्लव र किरण पक्षसँग पनि हाम्रो भाइचाराको सम्बन्ध हो ।

New Image11
शिव सुन्दर शाही ‘विमर्श’

भनेपछि उहाँहरूसँग पनि मिल्न खोज्दै हुनुहुन्छ ?

उहाँहरूले विचारलाई मिलाउन खोजे हामी नमिल्ने कुरै छैन ।

त्यसो भए जनयुद्धको जगमा जनविद्रोह गर्छौ भन्ने किरण र एकिकृत क्रान्ति भन्ने विप्लसँगै मिलेर बन्दुक नै उठाउने रणनीति हो ?

हामी कोसँग मिल्ने भन्दा पनि श्रमजीवी, सर्वहारा, उत्पीडित, उपेक्षित जनतासँग मिल्ने हो । त्यो वर्गसँग किरण विप्लवहरूको सम्बन्ध र साक्षात्कार हुन्छ भने उनीहरूसँग सामिप्यता नहुने कुरो होइन । मैले माथि पनि भनिसके उहाँहरू र हाम्रो राजनीतिक लाइनको बीचमा महान छलफल र बहस हुन जरुरी छ । त्यसबाट हाम्रो बटम लाइन एउटै बन्न सक्छ । भाइचाराको रुपमा पनि हामीले किरण र विप्लवलाईनै लिएका भएर त्यो सम्भव छ ।

सबै पार्टीप्रति रुष्ट भइसकेको अवस्थामा जनताले साथ देलान् त ?

वाद, प्रतिवाद र संवाद सधैंभरि रहिरहने वैज्ञानिक सत्यता हो । राज्यको अस्तीत्व पनि सधैंभरि रहिरहन्छ । राज्य र जनता बीचको अन्तरद्वन्द्व पनि सधैंभरि रहिरहन्छ । यही बीचबाट क्रान्ति उठ्छ र यो अनिवार्य वैज्ञानिक नियम पनि हो । जनता त्यही विज्ञानको एउटा सदस्य भएकाकारण हरेक असत्य, अन्याय र असमानताको बिरुद्धमा कहिले सुषुप्त र कहिले खरो रुपमा आफ्ना उत्तेजना र आवेग देखाउँछन् । त्यसो हुँदा हाम्रो क्रान्तिमा जनताको सार्थ समर्थन हुन्छ ।

पार्टी सिद्धान्तप्रति जनता कहिले पनि रुष्ट हुँदैनन् । नेता र नेतृत्वप्रति रुष्ट हुन्छन् । हामीले नेता मात्रै होइन, नेतृत्व हुन सक्नुपर्छ । जनताले हामीलाई साथ दिन्छन् । हाम्रो समग्र जनयुद्धलाई जनताको पूर्ण सहयोग र समर्थन रहने भएकाले हामीले जनताकै अनुमोदनबाट हाम्रो कार्यदिशा, कार्यनीति र रणनीतिको अख्तियारी गरेका हौं । यो हाम्रो मनोगत भाव होइन । जनताको आदेश हो ।

हामी नेपाली जनताको आदेश लिएर अहिलेको दलाल पूँजीवादी राज्यसत्ताको बिरुद्धमा समग्र जनयुद्ध र आदतको सत्ताका बिरुद्धमा सर्वहारा सांस्कृतिक क्रान्तिको बाटो रोजेका छौं । जसले यो देशमा वैज्ञानिक समाजवादको स्थापना गर्नेछ । यो महान् अभियानमा सम्पूर्ण जनसमुदाय, बुद्धिजीवी, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायत उत्पीडित वर्ग समूहले साथ दिनुहुनेछ भन्ने अपेक्षासहित अनुरोध गर्न चाहान्छु । प्रस्तुतीः लोग्शरी कुँवर