Please Update Your Browser.

पहिलो क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको आज ६४ औं स्मृति दिवस

काठमाडौं, १७ साउन । “जसको जोत, उसको पोत” जस्ता नाराकासाथ आफ्नै घरबाट क्रान्ति गर्ने पहिलो क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको आज ६४ औं स्मृति दिवस ।

पन्तले गरीब, दलित, जनजाती, किसानहरुलाई संगठीत गरि २००७ सालमा सुदूरपश्चिमबाट क्रान्तिको सुरुवात गरेका थिए । उनको २०१० साल साउन १७ गते तत्कालिन नेपाली कांग्रेस सरकारले घाँटी रेटेर हत्या गरेको थियो ।

क्रान्तिको दौरानमा डोटी जिल्लाको बुडरस्थित गइलेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन लागेका बेला उनीलाई गोली हानियो । भीमदत्तले मलाई पक्राउ गर, गोली नहान् भन्दा मानिएन । गोली लागी छट्पटाईरहेका बेला भीम दियालले उनको टाउको काटि दिए । टाउको लगेर बडाहाकिम मोहन बहादुर सिंहलाई बुझाईयो । काटेको टाउको बाँसको टुप्पोमा झुण्ड्याई डडेलधुरा खलंगामा (अहिलेको जिल्ला प्रहरी भएको ठाउँमा) आन्दोलनकारी तर्साउन राजद्रोहीलाई यस्तै हुन्छ भन्दै प्रर्दशन गरियो ।

भिमदत्तको अगुवाईमा भएको क्रान्तिको पक्षमा किसान सेना र त्यसलाई दबाउन नेपाली सेनाका सेनापति किरण शमशेरको निर्देशनमा दक्षिणबाट भारतीय सेना र उत्तरबाट नेपाली सेनाले एकैपटक आक्रमण गरेको बताइन्छ ।

किसान आन्दोलनले छापामार आन्दोलनको रुप लिईसकेको अवस्थामा पन्त बुडर नजिक गैलेकमा आश्रय लिइरहेका बेला आर्थिक प्रलोभनमा पारी भीमदत्तका ‘मित’ लाल बहादुर थापा र भिम दियालमार्फत बडा हाकिम मोहनबहादुर थापाले उनको हत्याको प्रपञ्च रचेको बताइन्छ ।

“कि त जोत हलो, कि त छोड् थलो, होईन भने अब छैन भलो” भन्ने नारा दिएर गरिखाने वर्गको पक्षमा तत्कालिन राणाशासन र स्थानीय शोषक, सामन्तका बिरुद्ध आन्दोलन थालेका थिए ।

स्मृति दिवसमा वृत्त चित्र देखाइदै

गरिव, किसान, दलित र उत्पीडितको पक्षमा क्रान्ति गर्ने भीमदत्तको सम्झानामा आज राष्ट्रिय हलिया मुक्ति समाज महासंघ नेपालले सुदूरपश्चिमका ९ वटै जिल्ला लगायत मध्यपश्चिमका सुर्खेत, जाजरकोटर हुम्लामा विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

राष्ट्रिय हलिया मुक्ति समाज र भूमि अधिकार मञ्चले आज काठमाडौंमा भीमदत्तको जीवनी बारे तयार गरिएको वृत्त चित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको राष्ट्रिय हलिया मुक्ति समाज महासंघका अध्यक्ष राजुराम भुलले जानकारी दिए ।

किसान आन्दोलनको नेतृत्व गरि सबै दलका आदर्श बनेका भीम दत्त पन्तसहित किसान बिद्रोहका २२ नेताहरुलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२ फागुनमा सहित घोषणा गरेको छ ।

१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका भीम दत्त आमा सरस्वती र बुवा तारनाथ पन्तका छोरा हुन् ।