Please Update Your Browser.

हामी छोरी बेच्ने देशका नागरिकः बासुदेव भट्टराई

सन्दर्भः मानव बेचबिखन विरुद्धको दिवस

हामी एक्काइशौं शताब्दीका मान्छे भनेर गर्व गर्छौ । तर दुखको कुरा विज्ञान र प्रविधीको युग भनेर चिनिने अहिलेको समयमा पनि हामी नेपालीहरू विश्वमा छोरी बेच्ने देशको रुपमा परिचित छौं । मानव सभ्यताकै कलंकको रुपमा रहेको मानब बेचबिखनका घटना झन् झन् बढिरहेका छन् । दलालले बिशेषगरी नेपाली महिलाहरूलाई नयाँ नयाँ तरिकाले नयाँ नयाँ गन्तब्यमा पुर्याईरहेका छन् । सुरु सुरुमा भारतका केहि शहरमा मात्रै हुने मानिएको बेचबिखन अहिले उत्तरी छिमेकी मुलुक चिन मात्र होईन सात समुन्द्र पारीका मुलुकसम्म पुगिसकेको छ । हुँदा हुँदा कतिपय अफ्रिकाका देशहरूमा मानब बेचबिखन र ओसार पसार हुने गरेका खबर आउने गरेका छन् । यसै बिषयमा मानब बेचबिखन तथा ओसार पसार विरुद्ध राष्ट्रिय दिवसको अवसरमा नेपालमा मानव बेचबिखनको अवस्था र चुनौतिका बिषयमा शान्ति पुनस्र्थापना गृह (PRC) का कार्यक्रम संयोजक बासुदेब भट्टराईसंग कोसेली न्यूजका लागि सम्पादक लोग्शरी कुँवरले गर्नुभएको कुराकानीको सम्पादित अंशः

तपाई लामो समयदेखि मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध क्रियाशील हुनुहुन्छ । नेपालमा पछिल्लो समयमा के छ मानब बेचबिखनको अबस्था ?

समाजमा एउटा जघन्य अपराधको रुपमा फस्टाईरहेको मानब बेचबिखन बिश्वब्यापिकरण भईरहेको छ । मानब बेचबिखनको समस्या नेपालमा मात्र सिमित छैन । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने दिन प्रतिदिन नयाँ नयाँ तरिकाबाट मानब बेचबिखन बढिरहेको छ । मानब बेचबिखनको स्वरुपमा आएको परिबर्तनसंगै चुनौति पनि थपिएको छ । नेपालबाट वर्षेनी हजारौ नेपाली चेलीहरू छिमेकी मुलुक तथा खाडी राष्ट्रहरूमा बेचिएको कहाली लाग्दो तथ्यांक हाम्रो सामु छ ।

भुकम्प पश्चात मानब बेचबिखनमा तिब्रता आएको भन्ने सुनिन्छ । के त्यो सत्य हो ?

पहिला पनि मानब बेचबिखन हुन्थ्यो । त्यहि भएर नै त हाम्रो जस्तो संस्थाको उदय भयो । पहिला बेचबिखन हुन्थ्यो तर संचार माध्यममा त्यसले खासै प्राथमिकता पाउँदैनथ्यो । गत बर्षको भुकम्प पश्चात पत्रपत्रिकाहरूमा पनि समाचारहरू धेरै आए । तर भुकम्पपछि बेचबिखन पनि बढेको कुरा केहि तथ्यांकहरूले पनि पुष्टि गरिसकेका छन् । घरबारबिहीन, आफन्तबिहीन महिला तथा किशोरीहरूलाई दलालहरूले सजिलैसंग आफ्नो पञ्जामा पार्ने र लगेर बेच्ने गरेको पाईएको छ । त्यसका लागि पछिल्लो समय पश्चिमी नाकाहरू बढी प्रयोग गरेको पाईएको छ ।

तपाइको अनुभवमा मान्छे बेचबिखन हुनुका मुख्य कारणहरू चाँही के रहेछन् ?

म यो क्षेत्रमा आठ बर्षदेखि क्रियाशील छु । मेरो अनुभवमा मान्छे बेचिनुका मुख्य कारणहरू भनेको गरीबि, अशिक्षा, बेरोजगारी हो । तर कारण यति मात्रै होइनन् । पछिल्लो समय घरेलु हिंसाका कारणले पनि मानब बेचबिखन बढिरहेको छ । बिशेषगरि घरेलु हिंसाबाट प्रताडित महिलाहरूलाई दलालहरूले बिभिन्न प्रकारका लोभ लालच देखाएर बेचबिखन गर्ने गरेको पनि पाईएको छ । त्यतिमात्र नभई आन्तरिक बेचबिखन पनि बढीरहेको छ । ग्रामिण स्तरका किशोरीहरूलाई ललाई फकाई ल्याउने र शहरका बिभिन्न क्षेत्रहरूरुमा यौन शोषणमा बाध्य बनाई लगाउने गरिएको पनि पाईएको छ ।

खासगरि कस्तो कस्तो कामको लागि कस्ता कस्ता देशमा नेपालबाट मानब बेचबिखन हुने गरेको पाउनु भयो ?

नेपालबाट महिला तथा बालबालिकालाई फरक फरक प्रयोजनका लागि लैजाने गरिएको पाईएको छ । किशोरीहरूलाई यौन धन्दामा लगाउनका लागि, बालबालिकाहरूलाई जोखिमपुर्ण काममा लगाउनको लागि लैजाने गरिएको पाईएको छ । पहिला पहिला भारतका केहि शहरहरूमा मात्र मानब बेचबिखन हुन्थ्यो भने अहिले बैदेशिक रोजगारीको लागि भनेर खाडि मुलुक तथा युद्ध ग्रस्त मुलुकहरूमा पुर्याईने गरेको पाईएको छ । केहि समय अगाडी हामीले दिल्लीबाट ११ जना महिलाहरूलाई उद्धार गरेका थियौ । उनीहरूलाई प्राय बैदेशिक रोजगारका लागि भन्दै युद्ध ग्रस्त मुलुकहरूमा पठाउने तयारी भईरहेको थियो । हामीले उनीहरूको उद्धार गर्न सफल भयौ । इतिहासको कुनै कालखण्डमा भारतमा नोकरी, दासत्व र यौन ब्यबसायका लागि सुरु भएको नेपाली चेलिबेटिहरूको बेचबिखन तथा ओसारपसार आन्तरीक शहर बजारदेखि छिमेकी मुलुकहरू हुँदै समुन्द्र पारीका मुलुकहरूसम्म फैलन पुगेको देखिन्छ ।

बासुदेब भट्टराइ, कार्यक्रम संयोजक, पीआरसी

बेचबिखनको जोखिममा बढिजसो महिला छन् की पुरुष ?

नेपालबाट महिला र पुरुष दुबै बेचबिखनमा पर्ने गरेका भएपनि संख्यात्मक रुपमा पुरुष भन्दा बढी महिलाहरु बेचिने गरेका छन् । पुरुषभित्र पनि अँझ बालक (पुरुष) हरु बेचबिखनको जोखिममा बढी पर्ने गरेका छन् । तर बालक पुरुष भन्दा पनि बालिकाहरु बढी जोखिममा छन् । समग्रमा पुरुष भन्दा धेरै महिलाहरु बेचबिखनको जोखिममा छन् ।

पछिल्लो समय चिनतिर पनि नेपाली महिलाहरूलाई बेच्न लैजान्छन् भन्ने सुनिन्छ, के हो ? त्यस्तै श्रम स्वकृति नभएका देशहरूमा नि पठाउने गरिन्छ भन्ने कुराहरू आईरहेको छ नि !

बिदेशी श्रमबजार बिस्तार हुँदै जाँदा खास गरि घरेलु कामदारको रुपमा गैर कानुनि तवरले भारत तथा खाडीमुलुकमा पुर्याइने चेलिबेटिको संख्या पनि दिनदिनै बढ्दै गईरहेको छ । यौन शोषणकाकारण विक्षिप्त अबस्थामा केहि स्वदेश फर्किएका पनि उदाहरण छन् । पछिल्लो समय चिनमा पनि बेचबिखन बढेको भन्ने पाईएको छ । भुकम्प भन्दा अगाडी हामीले पनि चिनको सिमावर्ती क्षेत्र तातोपानीमा सीमा निगरानी कार्यक्रम संचालन गरेका थियौ । चिनमा महिला मात्र होईन पुरुषलाई पनि बेचबिखनको लागि लैजाने गरेको पाईएको छ । खाडिका बिभिन्न देशहरूमा लैजाँदा नो अब्जेक्सन लेटर चाहिने हुनाले पछिल्लो समय दलालहरूले श्रीलंकालाई ट्रान्जिट बनाउने गरेका छन् । यसमा कडाई गर्न जरुरी छ ।

तपाईहरू जस्ता धेरै संघ संस्थाहरू मानव बेचबिखन बिरुद्ध काम गरिरहेका छन् । सरकारले पनि थुप्रै गतिबिधिहरू गरिरहेको भन्छ । तैपनि किन मानव बेचबिखनमा न्युनिकरण आएको छैन ? अफ्ठ्यारो कहाँ नेर छ ?

मानब बेचबिखनको तरिका फेरिएको छ । तर हाम्रा काम गर्ने शैली पुरानै ढर्राबाट चलिरहेका छन् । दलालहरू हामी भन्दा धेरै अगाडी छन् । हामीले मानब बेचबिखनको प्रकृतिमा परिबर्तन आएसंगै हाम्रा कार्यक्रमहरूलाई पनि परिमार्जन गर्दे लैजानु पर्छ त्यसमा हाम्रा केहि कमजोरी छन् । हामी दातामुखि भयौ । नेपालको परिप्रेक्ष्यलाई हेरेर कार्यक्रमहरू अगाडी बढाउनु पर्ने देखिन्छ । पछिल्लो समय सरकारी तथा गैर सरकारी संस्थाहरूबिच राम्रो समन्वय भईरहेको छ । पक्कै पनि यो राम्रो पाटो हो ।

तपाईहरूले सीमा निगरानी बाहेक ग्रामिण स्तरसम्म सचेतनाका कार्यक्रमहरू लैजान नसकेको भन्ने आरोप छ नि ?

त्यस्ता आरोपको म खण्डन गर्छु । हामीले ग्रामिण स्तरसम्म पनि कार्यक्रमहरू संचालन गरेका छौ । मानब बेचबिखन हुनुको कारणहरू पहिचान गरी त्यसलाई न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम, आयमुलक कार्यक्रमहरू पनि संचालन गरिरहेका छौ । ग्रामिण क्षेत्रहरूमा समुहहरू निर्माण गरि त्यसलाई वाच डगको रुपमा परिचालन गरिरहेका छौ । सीमा निगरानी कार्यक्रम त मानब बेचबिखन रोक्ने एउटा उपाय मात्र हो । मुख्य कुरा जनचेतना र आयआर्जन नै हुन्छ ।

बेचिएका महिलाहरूको उद्धारका लागि कुन कुन देशसम्म पुग्नु भो ? र बेचिएका महिलाहरूको अवस्था कस्तो पाउनु भो ?

म भारतका थुपै शहरहरूमा पुगि नेपाली महिलाहरूलाई उद्धार गरि ल्याएको छु । गत आर्थिक बर्षमा मात्र हामीले १५ जना नेपाली महिला तथा किशोरीहरूलाई उद्धार गरि ल्याएका थियौ । दिल्लीस्थित जिबि रोड भन्ने ठाउँमा पनि पुगेका थियौ । जो बेचिएका छन् उनीहरूको अवस्था दर्दनाक छ । बेश्यालयमै बेचिएकाहरू मालिकको इसारामा यौन शोषण गर्न बाध्य छन् । उनीहरु काल कोठरीमा फसेका छन् । उम्किन चाहान्छन् । तर सहज छैन । त्यो अवस्था देख्दा कहिले काँही म नेपाली हुनुमा धिर्काछु आफुलाई । आफ्नै देशका चेलीहरू अर्काको भूमिमा शरिर लुटाउँन बाध्य छन् । तर हाम्रो सरकार रमिते भएर हेरिरहेको छ । उनीहरुको उद्धार गर्नका लागि त्यीं देशहरुसँग रणनीति बनाएर काम गर्न सक्दैन । हामी छोरी बेच्नेहरूको देशका नागरिक बन्न बाध्य छौं ।

उद्धार गरेर ल्याई सकेपछि समाजमा पुनस्र्थापित गराउन कत्तिको सहज छ ?

उद्धारै गरेर ल्याएका महिलाहरूलाई पुनस्र्थापना गर्न त्यति सहज छैन । उनीहरूमा पहिलेको जस्तै सम्मानित जीवन बाँच्न चाहिरहेका हुन्छन् । तर हाम्रो ढोंगी समाज तिमी असल भए त के बेचिन्थ्यौ र भन्दै उल्टै महिलालाइ नै प्रश्न गर्छ । उसको आत्म सम्मानमा ठेस पुग्ने काम गर्छ ।

हामीले उद्धार गरेर ल्याइसकेपछि सबैभन्दा पहिला त स्वास्थोपचार गर्छौ । आबश्यक कानुनी परामर्श पश्चात दिदीबहिनीहरूको अबस्था हेरी हामी निर्णय गर्छौ । पढ्न चाहनेलाई पढाउँछौ । सिप सिक्न चाहनेहरूलाई सिप सिकाई आत्म निर्भर भएपछि समाजमा पठाउँछौ । कति महिला तथा दिदिबहिनीहरूलाई समाजमै गएर आयमुलक कार्यक्रम दिने गरेका छौ । बेचिसकेपछि उद्धार गर्नु भन्दा बेचबिखन हुनै नदिनका लागि के गर्न सकिन्छ भन्ने सोच राखेर कार्यक्रमहरू संचालन गरिरहेका छौ ।

म भारतका थुपै शहरहरूमा पुगि नेपाली महिलाहरूलाई उद्धार गरि ल्याएको छु । गत आर्थिक बर्षमा मात्र हामीले १५ जना नेपाली महिला तथा किशोरीहरूलाई उद्धार गरि ल्याएका थियौ । दिल्लीस्थित जिबि रोड भन्ने ठाउँमा पनि पुगेका थियौ । जो बेचिएका छन् उनीहरूको अवस्था दर्दनाक छ । बेश्यालयमै बेचिएकाहरू मालिकको इसारामा यौन शोषण गर्न बाध्य छन् । उनीहरु काल कोठरीमा फसेका छन् । उम्किन चाहान्छन् । तर सहज छैन । त्यो अवस्था देख्दा कहिले काँही म नेपाली हुनुमा धिर्काछु आफुलाई । आफ्नै देशका चेलीहरू अर्काको भूमिमा शरिर लुटाउँन बाध्य छन् । तर हाम्रो सरकार रमिते भएर हेरिरहेको छ । उनीहरुको उद्धार गर्नका लागि त्यीं देशहरुसँग रणनीति बनाएर काम गर्न सक्दैन । हामी छोरी बेच्नेहरूको देशका नागरिक बन्न बाध्य छौं ।

मानव बेचबिखन रोक्न सरकारको भुमिका कस्तो भईदिए राम्रो हुन्थ्यो ?

पछिल्लो समय सरकारबाट मानब बेचबिखन बिरुद्ध राम्रै कामहरू भईरहेको छ । राष्ट्रिय कार्ययोजना अनुसार संस्थाहरूका कार्यक्रमहरूलाई लैजाने हो भने झनै राम्रो हुन्थ्यो । मानब बेचबिखन जस्तो जघन्य अपराधलाई न्युनिकरण गर्न कुनै एक संस्थाले मात्र गरेर सम्भब हुदैन । सरकारी तथा गैर सरकारी संघसंस्थाबिच समन्वय गरेर कार्य गरेमा पक्कै पनि सफलता हाँसिल गर्न सकिन्छ । एकिकृत ढंगबाट कार्यक्रम संचालन गरेमा झन् प्रभाबकारी हुने देखिन्छ । नेपाल सरकारको मातहतका निकायहरूदेखि लिएर क्रियाशील अन्य सामाजिक संघसंस्थाबिच बेचबिखनका बिरुद्धमा एक साझा रणनीतिको निर्माण गरि सहकार्य गर्न सकेमा नेपालमा मानब बेचबिखनको क्षेत्रमा एउटा उल्लेखनिय परिबर्तन ल्याउन असम्भब छैन ।

14256628_1161861480519013_1339387878_nअन्तमा केहि भन्नु छ ?

मानब बेचबिखन अत्यन्तै नित्कृष्ट, गम्भीर एबम् जघन्ज अपराध हो । अशिक्षा, गरिबि तथा बिबिध परिस्थीतिले मानब बेचबिखनलाई मौलाउन सहयोग पुर्याईरहेको पाईन्छ । मानब बेचबिखन जस्तो जघन्य अपराधलाई रोकथाम गरी यसमा संलग्न ब्यक्तिहरूलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्बाहि गर्नु हामी सबैको जिम्मेवारी हो । मान्छे बेच्न सक्रिय गिरोहको पहिचान गरि यसका बिरुद्ध काम गरिरहेका संस्थाहरूबिच कार्यगत एकता हुन आवश्यक छ ।