Please Update Your Browser.

बालकको हत्यापछि परिवार विस्थापित

२९ माघ नेपालगञ्ज ।

बाँकेको कोहलपुर नगरपालिका– ९ झन्डह्वाका सात वर्षीय बालक आकाश थारूको अपहरण गरी हत्या भएको २४ घन्टा नबित्दै उनको परिवार विस्थापित भएको छ ।
राजशंकर थारूका छोरा आकाश २४ माघबाट हराएको समाचार नयाँ पत्रिका दैनिकले छापेको । उनको शव बुधबार बिहान घरनजिकै फेला परेको थियो ।
राजशंकरको परिवार बिहीबार झन्डह्वाको घर छाडेर गुर्वागाउँ पुगेको छ । झन्डह्वामा थारू बस्ती नभएको र सबै आफन्त गुर्वागाउँमा नै भएकाले राजशंकरको परिवार घरमा ताला लगाएर बसाइँ सरेको स्थानीयले बताए । उनीहरूले घरका सामान भने लगेका छैनन् । तर, नफर्किने गरी गएको स्थानीयको भनाइ छ ।
प्रहरीले भने थारू परिवार असुरक्षाका कारण नभई छोराको अन्तिम संस्कार गर्न गुर्वागाउँ गएको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, ‘घरको सबै सामान छोडेर अन्तिम संस्कारका लागि मात्र उनीहरू गुर्वागाउँ गएको बुझिएको छ ।’
असुरक्षा महसुस भए प्रहरीले सुरक्षा प्रदान गर्ने उनले बताए ।
बालक आकाश थारूको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान फेला परेको थियो ।
घरनजिकैको परालको कुन्यौमा चामलको बोराले बेरेर राखेको अवस्थामा शव फेला परेको हो ।
हत्यामा संलग्न भएको आरोपमा आकाशका आफन्तले बुधबार इलाका प्रहरी कार्यालय कोहलपुरमा झन्डह्वाका घनश्याम चमार, रहिस अहमद नाउ, सहिद अली दर्जी, सत्तार अली साईं र सुभान अली साईंविरुद्ध किटानी जाहेरी दिएका छन् ।
जाहेरीमा परेकालाई प्रहरीले बुधबार नै पक्राउ गरिसकेको छ । छिमेकी नै योजनाकार स् प्रहरी सुभान र सत्तारले आकाशको हत्या गरेको घनश्यामले बयान दिएको प्रहरीले जनाएको छ ।
तर, सुभान र सत्तारले हत्यामा आफूहरूको संलग्नता नरहेको बताएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए । यसअघि राजशंकर थारू र घनश्याम चमार परिवारबीच पानीका विषयमा झगडा हुँदै आएको थियो ।
सुभान र राजशंकरबीच राम्रो सम्बन्ध सुभान र थारू परिवारबीचको सम्बन्ध राम्रो भएको प्रहरीले जनाएको छ । राजशंकर र सुभानले सँगै मजदुरी गर्ने गरेका थिए । त्यसकारण घनश्याम चमारले सुभानलाई फसाउने गरी बयान दिएको हुनसक्ने प्रहरीको आशंका छ ।
मानवअधिकारकर्मीको ध्यानाकर्षण कोहलपुरका सात वर्षीय बालक आकाशको अपहरणपछि हत्या गरिएको घटनाप्रति नेपालगन्जस्थित मानवअधिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न संगठनले अपहरणपछि हत्याको घटनाले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।