Please Update Your Browser.

वरिष्ठ पत्रकार शर्मा र तुलाधर सम्मानित

काठमाडौं, १७ फागुन । नेपाल सरकारले हालै गठन गरेको सञ्चार सम्बन्धी उच्च स्तरीय समितिमा मनोनित भएका वरिष्ठ पत्रकार निर्मला शर्मा र शुभेच्छा विन्दु तुलाधरलाई सोमबार काठमाडौंमा सम्मान गरिएको छ ।

क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) का अध्यक्ष शुभेच्छा विन्दु तुलाधर र सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालाई डब्लूडब्लूजेका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार संगिता लामाले खादा ओढाएर सम्मान गरेकी हुन् ।

20160229_135948 (1)

सम्मान कार्यक्रममा बोल्दै पत्रकार संगिता लामाले सञ्चार सम्बन्धी गठन हुने उच्च स्तरीय सरकारी समितिहरुमा पत्रकार महिलाहरुलाई समावेश नगर्ने अहिलेसम्मको इतिहासलाई तोड्दै पत्रकारद्वयलाई नियुक्त गरेको भन्दै खुसी व्यक्त गरिन् ।

पत्रकार लामाले उच्च स्तरीय समितिहरुमा महिलालाई समावेश नगर्न र यदाकदा स्थान दिएपनि नाममात्रका महिलाहरु लैजाने अनि काम गर्न नदिई महिलाले पनि केही गर्न सकेनन् भन्दै बद्नाम गर्ने परिपाटी तोड्न पनि पत्रकार शर्मा र तुलाधारलाई आग्रह गरिन् ।

सम्मान कार्यक्रममा बोल्दै पत्रकार निर्मला शर्माले आफुहरु समग्र पत्रकार महिलाहरुको प्रतिनिधीत्व गर्दै समितिमा पुगेकोले सबैको सल्लाह सुझाव बमोजिक कामगर्ने बताइन् ।

wwj
सञ्चार सम्बन्धी उच्च स्तरीय समितिमा मनोनित भएका वरिष्ठ पत्रकार निर्मला शर्मा र शुभेच्छा विन्दु तुलाधरसंग सामुहिक फोटो खिचाउँदै पत्रकार महिलाहरु । 

कार्यक्रममा वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका प्रबन्ध निर्देशक निर्मला आचार्य, डब्लूडब्लूजेका उपाध्यक्ष अमिका राजथला लगायतले सम्मानितद्वयलाई बधाई तथा शुभकामना दिएका थिए ।

विभिन्न सञ्चार क्षेत्रमा आवद्ध पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।