‘एमाले संकटको सामना गर्ने पार्टी हो’

नेपालगञ्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले संकटबाट नभागी त्यसको सामना गर्ने पार्टी भएको बताएका छन् ।

पार्टीले आयोजना गरेको प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै वर्तमान देशको संकटको निकास एमालेको अगुवाईमा मात्र सम्भाव रहेको बताए ।

भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाल राज्यलाई कमजोर पार्नका लागि रचिएको षडयन्त्र भएको उनको भनाइ छ । सिंहदरबार, सर्वोच्च अदालत जस्ता निकायमा आगो लगाएर राज्यमाथि गम्भिर अपराध गरिएको उनको भनाइ छ ।

यो विध्वंसमा काठमाडौं महानगरका प्रमुख बालेन शाहको संलग्नताप्रति लक्षित गर्दै पोखरेलले भने, ‘देशैभरीका धेरै स्थानीय तह र वडा कार्यालयहरु जलाइए । तोडफोड गरिए । तर काठमाडौं महानगरमा केही गरिएन । वडाहरुमा केही गरिएन । शितलनिवास जलाइयो छेउमै रहेको निर्मल निवासमा एउटा ढुंगा पनि लागेन । यसबाट यो आगजनी र तोडफोडमा को संलग्न छ भनेर सहजै बुझ्न सकिन्छ ।’

एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट बिचलित हुनु नहुने बताए ।

उनले थपे, ‘एमालेका नेता कार्यकर्ता लोकतन्त्र प्राप्तीका लागि लामो समय जेल बस्यौं । लामो समय भुमिगत बस्यौं । त्यसैले हामीलाई संकटसँग जुध्ने अनुभव छ। षडयन्त्रकारीलाई लागेको थियो पार्टी कार्यलय जलाएपछि एमाले सकिन्छ । घर जलाइपछि नेता कार्यकर्ता सकिन्छन् । तर अहिले मैदानमा हेर्नुभयो भने एमाले भन्दा अरु कुनै शक्ति देख्नु भएको छ ?’

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य शान्ता चौधरी लगायतले बोलेका थिए ।