ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दै

काठमाडौं । प्रथम ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेट (फस्ट वुमन्स टी२० वर्ल्ड कप क्रिकेट फर दी ब्लाइण्ड)को उपाधिका लागि नेपाली ब्लाइण्ड महिला क्रिकेट टिमले आज भारत ब्लाइण्ड महिला क्रिकेट टिमसँग खेल्दैछ ।

खेल श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो । त्यसअघि भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

पहिलो पटक भइरहेको ऐतिहासिक ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटमा नेपाल र भारतले फाइनल पुगेर इतिहास रचिसकेका छन् । अब अन्तिम खुड्किलो पार गर्दै च्याम्पियन बनेर इतिहास रच्ने दाउमा नेपाली टोली छ ।

‘पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटमा नेपाल ऐतिहासिक सफलता हात पार्दै फाइनल पुगेको नेपाल नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले बताए । नेपाली खेलकुदका लागि यो ठूलो सफलता भएको पनि घिमिरेले बताए । फरक क्षमता भएका खेलाडीहरुले पनि पनि राष्ट्रको झण्डा बोक्दै उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनले खुसी ब्यक्त गरे ।

नेपाली ब्लाइण्ड महिला क्रिकेट टोलीकी कप्तान गीता पौडेलले विश्वकपको फाइनल पुग्दा एकदमै खुशी लागेको बताइन् ।

पहिलो पटक भइरहेको यस विश्वकपमा नेपाल र भारतसहित पाकिस्तान, अष्ट्रेलिया, श्रीलंका र अमेरिका गरी ६ राष्ट्रले भाग लिएका थिए । सिंगल राउण्ड रोविनका आधारमा सबैले एक आपसमा खेलेपछि शीर्ष चारमा रहेका टोलीहरु सेमिफाइनल पुगेका थिए । ६ बाट ४ हुँदै अब २ टोली उपाधिको होडमा छन् । त्यसमा कसले बाजी मार्छ अझै हेर्न बाँकी छ ।

लिग चरणमा भारतले सबै ५ खेल जित्दै अपराजित रहेको थियो । भारत यस विश्वकपमा अपराजित एक्लो टोली हो । नेपालले भने लिग चरणमा ४ खेल जित्दा भारतसँग मात्र पराजित भएको थियो । विग चरणमा भारतसँग ८५ रनले पराजित भएको नेपाली टोली फाइनलमा भारत विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा छ ।

नेपालमा ब्लाइण्ड क्रिकेटको सुरुवात गर्ने र पुरुषका साथै महिला ब्लाइण्ड क्रिकेट टोली पनि बनाएर विश्वमै उदाहरणिय काम गरेका अध्यक्ष घिमिरेले अन्य खेलमा अन्तर्राष्ट्रिय सफलता हात पार्दा पुरस्कारको व्यवस्था भएपनि ब्लाइण्ड क्रिकेटमा राज्यबाट खासै लगानी र सहयोग नभएको बताए ।

क्रिकेट एसोसिएसन फर ब्लाइण्ड इन दी इन्डियाको आयोजना भइरहेको जारी विश्वकपको उद्घाटन सहित सुरुवाती चरणका खेलहरु भारतको नयाँ दिल्ली र बैंगलुरुमा भएको थियो भने सेमिफाइनल र फाइनल लगायतका खेल श्रीलंकामा खेलाइएको हो ।

नेपालको नतिजास्

लिग चरण

श्रीलंकाविरुद्ध ९ विकेट जित

भारत विरुद्ध ८५ रनले पराजित

अष्ट्रेलिया विरुद्ध ७ विकेटले विजयी

अमेरिका विरुद्ध १० विकेटले विजयी

पाकिस्तान विरुद्ध १० विकेटले विजयी

सेमिफाइनल

पाकिस्तान विरुद्ध ७ विकेटले विजयी