इरानद्वारा अमेरिका-बेलायतको संयुक्त सैन्य अड्डामा क्षेप्यास्त्र

काठमाडौं । इरानले हिन्द महासागरस्थित अमेरिका-बेलायतको संयुक्त सैन्य अड्डा डिएगो गार्सियामा ब्यालिस्टिक मिसाइल (क्षेप्यास्त्र) प्रहार गरेको छ।

सीएनएनले शनिबार प्रकाशन गरेको रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूले उक्त हमला स्थानीय समयबमोजिम शुक्रबार बिहान भएको पुष्टि गरेका छन् । उनीहरूका अनुसार इरानले दुई क्षेप्यास्त्र प्रहार गरेको हो। तर इरानी तटबाट ३ हजार ८१० किलोमिटर टाढा रहेको बेसमा क्षेप्यास्त्र लागेन ।

डिएगो गार्सिया अमेरिकाका लागि एक महत्त्वपूर्ण सैन्य अड्डा हो । यो अमेरिकी वमवर्षकले प्रयोग गर्छन् ।

ठुला ट्यांकर विमान जस्तै : केसी-१३५ र निगरानी विमान पनि यहाँबाट सञ्चालन गर्न सकिन्छ ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।

इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।

इरानले पनि जवाफ हमला गरिरहेको छ। यस क्रममा उसले खाडीका मुलुकहरूलाई पनि निसाना बनाइरहेको छ।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने विचार गरिरहेको भन्ने अस्पष्ट अभिव्यक्ति दिएका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी इरानको आतंकवादी शासनविरुद्ध मध्यपूर्वमा हाम्रा प्रमुख सैन्य कारबाही क्रमशः समाप्त गर्ने विचार गरिरहेका छौँ, किनकि हामी लक्ष्य प्राप्तिको धेरै नजिक छौँ।’

यद्यपि उनले इरान युद्ध अन्त्य गर्ने सन्दर्भमा अर्को कुरा पनि उल्लेख गरेका छन्। जुन होर्मुज स्ट्रेटको बारेमा छ।

उनले लेखेका छन्, ‘यसलाई प्रयोग गर्ने देशहरूले यसको निगरानी र सुरक्षाका लागि जिम्मेवार हुनुपर्छ।’

एउटा अनुमानअनुसार विश्वको लगभग २० प्रतिशत तेल सामान्यतया होर्मुज स्ट्रेटको बाटो हुँदै ढुवानी गरिन्छ।

ट्रम्पले अगाडि लेखेका छन्, ‘भन्नुहुन्छ भने हामी यी देशलाई होर्मुज स्ट्रेट सुरक्षित गर्ने प्रयासमा सहयोग गर्नेछौँ, तर इरानी खतरा समाप्त भएपछि यो आवश्यक हुनुहुँदैन। महत्त्वपूर्ण कुरा यो यी देशहरूका लागि सजिलो सैन्य अपरेसन हुनेछ।’

यस क्रममा उनले इरानको क्षेप्यास्त्र क्षमता पूर्ण रूपमा नष्ट भएको र सैन्य औद्योगिक आधार ध्वस्त पारिएको दाबी पनि गरेका छन् । उनले इरान कहिल्यै पनि आणविक हतियार विकास गर्ने नजिक नआओस् भन्ने कुरा सुनिश्चित गरिएको दाबी गरेका छन् ।

यसैबिच ट्रम्पले इरानमा सैन्य अभियान चाँडै समाप्त गर्ने दाबी गरे पनि बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएसको रिपोर्टअनुसार अमेरिकी सैन्य अधिकारीले इरानमा स्थल सेना तैनाथीका लागि व्यापक तयारी गरिरहेका छन् ।

रिपोर्टअनुसार, अमेरिकी रक्षा विभाग (पेन्टागन) का वरिष्ठ अधिकारीहरूले यस्तो कदम चाल्ने योजना बनाउन विशेष अनुरोध गरिरहेका छन् ।