नेपालगञ्जमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा

नेपालगञ्ज । नेपालगञ्जमा करिब १५ करोडको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ।

युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ । दुईतारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन्।

विलासी अनुभव खोज्ने पाहुनाका लागि दुई वटा विशेष स्वीट रुमको व्यवस्था गरिएको सञ्चालक कँडेलले जानकारी दिए।

होटलका सबै कोठामा वातानुकूलित र २४ सै घण्टा तातोपानीको सुविधा रहेको छ। पाहुनाको सहजताका लागि आठ जना क्षमताको अत्याधुनिक लिफ्ट र सवारी साधनको सुरक्षाका लागि भूमिगत पार्किङको व्यवस्था गरिएको छ।

परिवर्तित समयसँगै होटलले आफ्नो बुकिङ प्रणालीलाई पनि आधुनिक बनाएको छ । पाहुनाले ई–सेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्मबाट सजिलै कोठा बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसले गर्दा टाढाबाट आउने पर्यटकलाई झन्झटमुक्त यात्राको सुनिश्चितता प्रदान गर्नेछ ।

धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीय स्तरमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको छ ।

धम्बोझीमा कान्तिपुर इलेक्ट्रोनिक्स (मोबाइल पसल) र सेतु विक चोकमा कान्तिपुुर इलेक्ट्रोनिक्स प्लाजा (मोबाइल र इलेक्ट्रोनिक्स सामान) सञ्चालन गरिरहेका कँडेल दाजुभाइले बुबाको बिँडो धान्दै २० वर्षपछि पुनः होटल व्यवसाय सुरु गरेका हुन् ।

सञ्चालक ऋषिराम कँडेलका अनुसार होटलमा २७ वटा सुविधा सम्पन्न कोठा छन् । जहाँ २ वटा विशेष स्वीट रुम पनि बनाइएको छ । होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे रहेको छ । होटलको प्रवेशद्वारको सटरमा एप्पल स्टोर पनि रहेको छ ।