काठमाडौं । एमाले नेता सुरेन्द्र पाण्डेले पार्टी ‘बचाउन’का लागि भन्दै तीन वटा प्रस्ताव अघि सारेका छन्।
प्रतिनिधि सभाको निर्वाचनमा एमालेले नराम्रो हार ब्यहोरेपछि नेताहरूले अनेक टिकाटिप्पणी गरिरहेका छन्। पाण्डेले भने अझैँ एमालेलाई शक्तिशाली भएर ल्याउन सकिने बताएका छन्।
नेता पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै लेखेका छन्,”के अब एमाले पहिलेकै लयमा फर्किन्छ?” मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ। तर यसका लागि हामीले ‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिनुपर्छ। अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने ‘विज्ञता र प्रविधि’ सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ।
पहिलो, विज्ञतामा आधारित राजनीति: अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ।
दोस्रो, डिजिटल मेरिटोक्रेसी: व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस् ।
तेस्रो, संरचित पुस्तान्तरण: नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को-लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ ।

