पुल्चोक क्याम्पसका विद्यार्थीद्वारा भीटीभीएल रकेटको सफल परीक्षण

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले ‘भर्टिकल्ली टेकअफ एन्ड भर्टिकल्ली ल्यान्डिङ’ (भीटीभीएल) रकेटको पहिलो चरणको सफल परीक्षण गरेका छन् । ‘प्रोजेक्ट लक्ष्य’ नाम दिइएको यस परियोजनाअन्तर्गत क्याम्पसमा एरोस्पेस इन्जिनियरिङ अध्ययनरत सोलिड रकेट बुस्टर (एसआरबी) टोलीले रकेटलाई सफलतापूर्वक उडाएर सुरक्षित अवतरण गराएको हो ।

नेपाल र अमेरिकामा आधारित स्टार्टअप कम्पनी ‘अङ्क’ (एक्सिलेरेटेड कम्प्युटिङ) को मुख्य वित्तीय सहयोगमा यो परीक्षण सम्पन्न भएको हो । डेढ महिना अघि गरिएको यस परीक्षणमा रकेटले १८३ मिटरको उचाइ प्राप्त गरेको थियो ।

सफलता

यस चरणमा रकेटको ‘पिच कन्ट्रोल’लाई मुख्य प्राथमिकता दिइएको थियो । उडानका क्रममा रकेटको पिच एङ्गललाई १४ डिग्रीबाट नियन्त्रण गर्दै ८ डिग्रीमा झारिएको थियो, जसलाई प्राविधिक दृष्टिकोणले ठुलो उपलब्धि मानिन्छ । रकेट उडेको ७.२ सेकेन्डमा प्यारासुट खुलेको थियो भने २६।२ सेकेन्डमा रकेट सुरक्षित रूपमा जमिनमा ओर्लिएको थियो ।

रकेटलाई निश्चित दिशामा डोर्‍याउन र सन्तुलन कायम राख्न ‘पिच कन्ट्रोल’ अनिवार्य मानिन्छ । यसले भविष्यमा रकेटलाई पुनः प्रयोग गर्न र तोकिएको स्थानमा अवतरण गराउने आधार तयार गर्दछ ।

रकेटको माथिल्लो भागमा सेन्सर र कम्प्युटर जडान गरिएको थियो भने इन्धनमा सोलिड फ्युल र सोलिड फ्युल अक्सिडाइजरको प्रयोग गरिएको थियो ।

के हो भर्टिकल ल्यान्डिङ ?

सामान्यतया रकेटहरू उडेपछि प्यारासुटको सहायताले खस्ने गर्छन् । तर ‘भीटीभीएल’ प्रविधिमा रकेट उडेकै जस्तो अवस्थामा अर्थात् सिधा ९ठाडो० भएर जमिनमा ओर्लिन्छ ।

यस प्रविधिको मुख्य फाइदा रकेटलाई पटक-पटक प्रयोग गर्न सकिने सुविधा हो । यसले रकेट प्रक्षेपणहरूलाई कम खर्चिलो बनाउन समेत मद्दत गर्छ ।

पुल्चोक क्याम्पसको मेकानिकल तथा एरोस्पेस इन्जिनियरिङ विभाग ९डीएमएई०, इन्क्युबेसन सेन्टर (आईआईईसी) र गोडेलब्लकको प्राविधिक सहयोगमा यो परियोजना अघि बढेको हो । सन् २०२० मा स्थापना भएको एसआरबी टोलीमा हाल एरोस्पेस इन्जिनियरिङ अध्ययनरत १७ जना विद्यार्थीहरू सक्रिय छन् । जसमा विशेषगरि एरोस्पेस इन्जिनियरिङको स्नातक तहमा विभिन्न वर्षमा अध्ययनरत विद्यार्थीहरू सहभागी छन् ।

अङ्कका संस्थापक अमित रेग्मीले नेपालमा रकेट विज्ञानको क्षेत्रमा केही नयाँ काम गर्ने सोचका साथ एसआरबी टोलीसँग मिलेर तीन महिना अघिदेखि ‘प्रोजेक्ट लक्ष्य’ सुरु गरिएको बताए । एसआरबी टिमसँग मिलेर यो प्रोजेक्टलाई अङ्ककै एक पाटोका रूपमा विकास गर्ने योजना बनाएको उनले बताए । यसका लागि रकेटलाई वायुमण्डलको माथिल्लो भागसम्म पुर्‍याउन सक्नुपर्ने उनको भनाई छ ।

भर्टिकल ल्यान्डिङको पहिलो चरणको सफलतापछि अबको दोस्रो चरणमा ‘ब्यालिस्टिक ट्र्याजेक्टोरी’ (रकेटको उडान र अवतरणको हावामा बन्ने मार्ग) निर्धारण गर्ने र रकेटमा लिक्विड फ्युल (तरल इन्धन) को प्रयोगबारे थप अनुसन्धान गर्ने बताइएको छ । यी चरणहरू पूरा गरेपछि रकेटलाई लामो दुरिसम्म सफलतापूर्वक प्रक्षेपण गर्न सकिनेछ ।

‘प्रोजेक्ट लक्ष्य’ सफलतापूर्वक सम्पन्न भएमा भौगोलिक रूपमा जटिल नेपालका विभिन्न क्षेत्रमा सफलतापूर्वक प्रयोग गर्न सकिने छ । नेपालले आफ्नै क्युबस्याट वा नानो स्याटलाइटहरू कम खर्चमा प्रक्षेपण गर्न सक्छ । वायुमण्डलको संरचना र मौसमको अध्ययन गर्न, बनजङ्गलको आगलागी नियन्त्रण लगायतका विपद् व्यवस्थापन, दुर्गम हिमाली र पहाडी क्षेत्रमा आपत्कालीन औषधि, सञ्चार उपकरणहरू तत्कालै पुर्‍याउन र कृत्रिम वर्षा गराउनका लागि पनि यो उपयोगी हुन सक्छ ।

हालसम्म गरिएको प्रक्षेपण विभिन्न इन्जिनियरिङ कलेज तथा विश्वविद्यालयमा ‘एजुकेसनल रकेटरी किट्स’ का रूपमा विद्यार्थीहरूलाई शैक्षिक सामग्रीका रूपमा समेत उपलब्ध गराउन सकिने उनले बताए ।

‘प्रोजेक्ट लक्ष्य’ अघि पुल्चोक क्याम्पसको एसआरबी टोलीले वर्ल्डलिङ्कको ‘गो बियोन्ड’ कार्यक्रम अन्तर्गत रकेट प्रक्षेपण गरेको थियो । १० हजार फिटको उचाइमा पुर्‍याउने लक्ष्यसहित गरिएको प्रक्षेपणमा रकेट ८ हजार ६०० फिटभन्दा माथिसम्म‌ पुगेको थियो ।

यसअघि उचाइमा सफलता हात पारिसकेको एसआरबी टोलीले प्रोजेक्ट लक्ष्य अन्तर्गत भर्टिकल ल्यान्डिङको ‘पिच कन्ट्रोल’मा थप सुधार गर्ने योजनाका साथ काम अघि बढाएको छ । भर्टिकल ल्यान्डिङ पूर्ण रूपमा सफल भएसँगै उचाइमा पनि थप सफलता हात पार्न सकिने विद्यार्थीहरूको अपेक्षा रहेको छ ।