अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम, पाकिस्तानको मध्यस्थता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानले होर्मुज जलडमरूमध्य तत्काल खोल्ने सर्तमा आक्रमण र बमबारी स्थगन गर्न सहमति भएको बताएका हुन्।

ट्रम्पका अनुसार शहबाज शरीफ र सेना प्रमुख असिम मुनीरको अनुरोधमा युद्धविरामको निर्णय गरिएको हो। उनले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको र अधिकांश विवादित विषयमा सहमति नजिक पुगेको उल्लेख गर्दै सम्झौतालाई अन्तिम रूप दिन थप दुई हप्ता लाग्ने बताएका छन्। इरानले पनि युद्धविरामको पुष्टि गरेको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबाद मा थप वार्ता हुने जनाएको छ। साथै, होर्मुज जलडमरूमध्य दुई हप्तासम्म खुला राखिने र यस अवधिमा राष्ट्रिय एकता कायम राख्न नागरिकलाई आग्रह गरिएको छ।

समाचार संस्था मेहर समाचार एजेन्सी का अनुसार यो सम्झौता पाकिस्तानको मध्यस्थतामा भएको हो। सम्झौतालाई इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनी ले अनुमोदन गरेका छन्। इरानले यसलाई आफ्नो कूटनीतिक विजयका रूपमा व्याख्या गरेको छ।

यसैबीच इजरायल ले पनि दुई हप्ताका लागि युद्धविराममा सहमति जनाएको छ। ह्वाइट हाउसका एक अधिकारीका अनुसार उक्त अवधिमा इजरायलले इरानमाथि आक्रमण नगर्नेछ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई हमला गरेपछि द्वन्द्व चर्किएको थियो। त्यसयता इरानका विभिन्न उच्च पदस्थ अधिकारीहरू मारिएका छन् भने इरानले पनि प्रतिकारस्वरूप इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गरेको थियो।

यस द्वन्द्वका कारण मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ। विभिन्न देशमा गरी हालसम्म ५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको जनाइएको छ।