काठमाडौं । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ। बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएका छन्।
बुधबार दिउँसो १२ बजेतिर कैदीबन्दीबीच एकआपसमा झैझगडा भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ। होहल्ला, गालीगलौज बढ्दै जाँदा झडपको स्थितिमा पुगेको प्रहरीको भनाइ छ।
झडपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा-११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका-८ का २६ वर्षीय राजु दमाई घाइेत भएका छन्। उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कारागारमा झडप हुने वितिक्कै जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली खटिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
