काठमाडौं । तिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न मतदानमा उनले बहुमत प्राप्त गर्दै उपसभामुखमा चयन भएकी हुन्।
मत परिणामअनुसार ठाकुरको पक्षमा २२९ मत परेको थियो भने विपक्षमा ५ मत मात्र खसेको थियो। त्यसैगरी २२ सांसदले मतदान नगर्ने (तटस्थ) निर्णय गरेका थिए। कुल मत परिणामअनुसार उनी स्पष्ट बहुमतसहित निर्वाचित भएकी हुन्।
आजको बैठकमा २५६ सांसद उपस्थित रहेको संसद सचिवालयले जनाएको छ।
उपसभामुख पदका लागि राप्रपाकी सांसद सरस्वती लामाले पनि उम्मेदवारी दिएकी थिइन्। तर उनको पक्षमा केवल ५ मत मात्र परेको थियो। लामाको विपक्षमा २१५ मत खसेको थियो भने ३७ सांसद तटस्थ बसेका थिए।
संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठकबाटै ठाकुरलाई समर्थन गर्ने निर्णय गरेपछि उनको जित सुनिश्चित जस्तै बनेको थियो। सत्तापक्ष र प्रतिपक्षका केही दलहरूको समर्थनसमेत प्राप्त भएपछि ठाकुर सहज रूपमा विजयी भएकी हुन्।
उता, नेकपा एमालेले यस निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको थियो।
