‘मेरै गाला मेरै चड्कन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले आफूले चुनावताका गरेका प्रतिबद्धता सम्झँदा अहिलेको अवस्था देखेर ‘साँच्चिकै लाज लागेको’ बताएका हुन् ।

सम्बोधनको सुरुमै आत्मआलोचनात्मक शैली अपनाउँदै प्रसाईंले भने, ‘सभामुखज्यू, म कहिलेकाहीँ कन्फ्युज्ड हुन्छु, कसलाई के भनूँ, मेरै गाला मेरै चड्कन ।’

उनले चुनावी अभियानका क्रममा आफूले दिएको ‘सरकारी कार्यालयहरूमा त्यत्रो लाइन, रास्वपाको पालामा ओन्ली अनलाइन’ भन्ने अभिव्यक्ति सम्झाउँदै अहिले खाना पकाउने ग्यासका लागि सर्वसाधारण दिनभरि, रातभरि र मध्यरातसम्म लाइन बस्न बाध्य भएको दृश्यले आफूलाई लज्जित बनाएको बताए ।

‘त्यसबेला गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि, मध्यरातसम्म लाइन बसेका दृश्यले मलाई त साँच्चिकै लाज लागेको छ,’ उनले भने ।

प्रसाईंले सरकारसमक्ष दुई वटा सीधा प्रश्न पनि तेर्स्याए । पहिलो, प्रधानमन्त्री र मन्त्रीहरूको सरकारी निवासमा पनि ग्यासको अभाव छ कि छैन ? दोस्रो, यदि सरकारले दाबी गरेझैँ कृत्रिम अभाव र कालोबजारीकै कारण समस्या उत्पन्न भएको हो भने, कालोबजारी गर्नेहरूलाई कानुनी कठघरामा उभ्याएर कडा कारबाही गर्न दुई तिहाइको सरकारलाई केले रोकेको छ ?

भाषणको अन्त्यमा उनले जनताले नयाँ सरकारसँग आकर्षक अनुहार होइन, फरक कार्यशैली र नयाँ राजनीतिक चरित्र खोजेको उल्लेख गरे।

‘जनताले नयाँ सरकार चाहेका भनेको चिल्ला र ह्यान्डसम अनुहार होइन, नयाँ चरित्र खोजेका हुन्,’ उनले भने।