अमेरिकासँगको सम्झौताबारे इरानका सर्वोच्च नेता मोज्तबाले मुख खोले

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकासँग भएको सम्झौताबारे आफ्नो धारणा फरक रहे पनि अन्ततः त्यसलाई स्वीकृति दिएको बताएका छन् ।

इरानी सञ्चारमाध्यमहरूले बिहीबार साँझ सार्वजनिक गरेको लिखित सन्देशमा खामेनीले सम्झौतामा आफ्नो असहमति रहेको उल्लेख गरेका छन्।

तर, राष्ट्रपति मसुद पेजेश्कियानले इरानी जनताको हित तथा देशको पक्षमा उभिएका शक्तिहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आफूले सम्झौताका लागि अनुमति दिएको उनले बताएका छन् ।

खामेनीका अनुसार राष्ट्रपति पेजेश्कियानले अमेरिकी पक्षबाट अत्यधिक माग आए त्यसलाई स्वीकार नगर्ने आश्वासन पनि दिएका थिए।

सन्देशमा खामेनीले भनेका छन्, “यस सम्झौताप्रति मेरो धारणा फरक थियो । तर राष्ट्रपति पेजेश्कियानले इरानी जनता र देशको हितको रक्षा गर्ने विश्वास दिलाउनुभयो र त्यसको जिम्मेवारी पनि लिनुभयो। त्यसैले मैले स्वीकृति दिएको हुँ ।”

उनले अब सम्झौतामा उल्लेख गरिएका सर्तहरू पूर्ण रूपमा कार्यान्वयन हुने प्रतीक्षामा आफू र सम्पूर्ण इरान रहेको पनि बताएका छन्।

खामेनीको सन्देशमा इरानी र अमेरिकी अधिकारीहरूबीच वार्ता गर्न अनुमति दिइएको सङ्केतसमेत देखिएको छ।

मार्चमा सर्वोच्च नेताको जिम्मेवारी सम्हालेपछि खामेनीले यस सम्झौताबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका हुन्।

उनका पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनीको २८ फेब्रुअरीमा भएको अमेरिका(इजरायल आक्रमणमा मृत्यु भएको थियो। त्यसपछि मोज्तबा इरानको सर्वोच्च नेताको भूमिकामा आएका थिए।