हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं, असोज २ । एक अर्ब ५७ करोड रुपैयाँ भन्दाबढी हुण्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हुन्डीसम्बन्धी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका-१५ रानी बस्ने ४६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३४ वर्षीय सुरज प्रसाद साहलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूको खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ लगायतका कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।