उपप्रमुख निर्मला शेर्पा र वडाध्यक्ष नवीन प्रधान एमालेबाट निष्कासित

काठमाडौं, २ असोज । नेकपा एमालेले भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटी पदाधिकारीको असोज १ गते बसेको बैठकले शेर्पालाई कारबाही गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।

०७९ को निर्वाचनमा एमालेबाट उप प्रमुखमा निर्वाचित भएकी शेर्पाले निरन्तर पार्टी विरुद्ध अभिव्यक्ति दिएको, पार्टी हितविपरीत कार्य गरेको आरोप लगाइएको छ । नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट कारवाहीका लागि सिफारिस भएर आएकाले कारबाही गरिएको बताए ।

शेर्पा एमाले प्रदेश कमिटी सदस्यसमेत थिइन् । पार्टीले कारबाही गरेपछि उनको उपमेयर पदसमेत संकटमा परेको छ । उनलाई उपमेयरबाट पदमुक्त गर्न एमालेले प्रक्रिया सुरु गरिसकेको छ ।

एमाले भोजपुरले साउन ८ गते शेर्पालाई कारवाहीका लागि प्रदेश कमिटी समक्ष सिफारिस गरेको थियो ।

उपप्रमुख शेर्पासँगै भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नवीन प्रधानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

भोजपुर जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका प्रधानका विषयमा जिल्ला कमिटीले गरेको सिफारिस प्रदेशले अनुमोदन गरेको हो । राजनीतिक दल सम्बन्धी ऐन, २०७३को दफा ३२ (२) मा जनप्रतिनिधिलाई कारबाही सम्बन्धी व्यवस्था छ ।