वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलब र राम्रो रोजगारीको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–६ का ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका–२ का ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ का ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासोँ गाउँपालिका–६ का ५८ वर्षीय ङवाङ लामा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार नारायण जोशीले कतार पठाइदिने भन्दै १४ जनाबाट ४८ लाख रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी गोपाल बिक्रम रानाले इराक पठाइदिने प्रलोभनमा ३ जनाबाट २० लाख रुपैयाँ लिएको आरोप छ।

यस्तै, नवराज पौड्यालले अष्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट ३ लाख रुपैयाँ र ङवाङ लामाले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।